मुगु, २२ वैशाख
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मुगुका उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार भोट माग्न मतदाताकाे घरघरमा पुगेका हुन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारीसाधन प्रयोग गरी भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन ।
जिल्लामा चार स्थानीय तह र ४५ वडामा आफ्ना उम्मेदवारलाई विजयी गराउन यहाँका दलहरू तामझामसहित चुनावी प्रचारमा लागेका छन् । एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ । अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेस गर्न सकेका छैनन् ।
एक नगरपालिकासहित तीन गाउँपालिका रहेको मुगुका प्रमुख दलहरू आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् । कांगेस , एमाले , माओवादी केन्द्र र एकीकृत समाजवादी पाटीले गाउँपालिका नगरपालिकाका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवारलाई निर्वाचित गराउन घरदैलो कार्यक्रममा मतदातासँग आफ्नाे उम्मेदवारलाई भाेट दिन आग्रह गरेका छन् ।