• बारा, २२ वैशाख

    बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरू विवरण नलिई काठमाडौं फर्किने तयारी गरेपछि निजगढका पीडित किसान चिन्तित बनेका छन् ।

    केरा बिमा गरेका किसानको क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं र सिमरा शाखाबाट खटिएका कर्मचारीहरूले केही किसानहरूलाई मात्र भेटेर अन्य किसानलाई चार पाँच घण्टाभित्र विवरण पेस गर्न खबर गरेपछि क्षतिको विवरण टिपाउन नपाएर किसानहरू चिन्तित बनेका हुन् । 

    हुरीले क्षति गरेको केराको विवरण संकलन गर्न बिमा कम्पनीका कर्मचारीहरू बुधबार निजगढ आएका हुन् । ‘किसानलाई जानकारी नै नदिई कर्मचारीहरू आएका रहेछन्,’ किसान गोविन्द खरेलले भने, धेरैको विवरण टिपोट गर्न छुटेको छ ।’ 

    उनका अनुसार कर्मचारीले बिमा गरेका निजढका करिब २४२ किसानमध्ये ४०/५० जनाको मात्रै विवरण लिएका छन् । बाँकी किसानको हकमा भने बुधबार साँझभित्र क्षतिको विवरण पेस गर्नु पर्ने भनेर खबर छोडेर कर्मचारीहरू फर्किएको उनले बताए । गत १६ बैशाखमा पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको उनले बताए । 

    स्थानीय किसानका निजगढमा करिब १२ सय बिगा केरा खेती गरिएकोमा करिव १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा चार देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए । 

    निजगढमा केरा खेती गर्ने करिब सात सय किसानमध्ये थोरैले मात्र बिमा गरेको र बिमाबापतको रकम लिन उनीहरूले समस्या व्यहोर्नु परेको किसानहरूको गुनासो छ । गत वर्ष हावाहुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन् । 

सम्वन्धित समाचार

 नवलपुर, १४ मङ्सिर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी प…

तनहुँ, १२ असार  तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले…

 कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तल…

 रामपुर (पाल्पा), १३ पुस  ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार …