• बारा, २३ भदाै

    बाराको सिम्रौनगढ नगरपालिकामा हालै संचालनमा आएको मालपोत कार्यालयबाट सेवा लिन अपायक भएको भन्दै महागढीमाई नगरपालिका बासिन्दाले सुरु गरेको सदरमुकाम कलैया केन्द्रित आन्दोलन बिहीबार चौथो दिन पनि जारी रहेको छ । 

    यसअघि महागढीमाई नगरपालिका वडा नम्बर– ९ पिप्राबिर्ताका बासिन्दाले जिल्ला सदरमुकाम कलैयामा सुरु गरेको प्रदर्शनमा बिहीबार सुवर्ण र देवताल गाउँपालिकाका सेवाग्राही पनि सहभागी बनेका हुन । उनीहरुले पनि कलैयाबाट सिम्रौनगढ सेवा क्षेत्रमा राखिएको विरोध जनाएका छन् । देवताल गाउँपालिकका अध्यक्ष उदय यादवले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर स्थानीयलाई कलैयाबाट नै यथावत सेवा दिने व्यवस्था मिलाउन सोमवार माग गरेका थिए ।  

    सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, महागढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिलीप शुक्ला र देवताल गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष अरुण सिंहको नेतृत्वमा निस्किएको जुलुसले बुधबार मालपोत र नापी कार्यालयमा पुगेर कार्यालयको सेवा अवरुद्ध बनाएको थियो । नारा जुलुसहित सेवाग्राहीको जुलुस पुगेपछि कार्यलयको काम दिउसो १२ बजेबाट ठप्प बनेको थियो । जुलुसका सहभागीहरूले 'कलैयाबाट यथावत् सेवा दिने व्यवस्था गर, सिम्रौनगढको सेवा चाहिँदैन, जनतालाई अपायक सेवा दिन पाइँदैन' जस्ता नारा लगाएका थिए । 

    सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रमा राखिएपछि यस क्षेत्रका बासिन्दा ३ दिनदेखि आन्दोलनमा छन । उनीहरुले यसअघि जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयमा बुझाएको ज्ञापनपत्रमा उल्लेख भए अनुसारको माग पुरा नभएपछि आन्दोलनको घोषणा गरेका हुन् । 

    प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आन्दोलनकारीका प्रतिनिधिहरूलाई कार्यालयमा बोलाएर बिहीबार सर्वदलीय बैठक बस्ने र सिम्रौनगढमा अपायक परेको भनिएको क्षेत्रका सेवाग्राहीहरूको बारेमा निर्णय लिने बताएको पिप्राबिर्ताका शिक्षक पन्नालाल दासले जानकारी दिए ।

    उनले बिहीबारको बस्ने भनिएको सर्वदलीय बैठकको निर्णय अनुसार आन्दोलनको थप कार्यक्रम घोषणा हुने जानकारी पनि दिए । साविकको पिप्राविर्ता गाविसबाट १० मिनेटमा नै पुग्न सकिने कलैयाबाट हटाएर १ घण्टाभन्दा बढी समय लाग्ने सिम्रौनगढमा राखिएकोमा उनीहरुले असहमति जनाउदै आएका छन् ।

    त्यसैगरी सुवर्ण र देवतालका बासिन्दाहरुले पनि सिम्रौनगढको तुलनामा आफूहरुलाई सेवा लिन कलैया नै पायक पर्ने बताउँदै आएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले एक साताअघि सिम्रौनगढ मालपोत कार्यालयको उद्‌घाटन गरेका थिए ।  

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…