• जुम्ला,  ३० भदौ

    जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोग लागेका पाँच जना भने धरौटीमा छुटेका छन् ।

    जिल्ला अदालत जुम्लाले सोमबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । घटनाको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले महतलाई २० वर्षको कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । 

    दायर मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले महतलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । आदेशमा घटनाको मिलापत्र गराउने कार्यमा संलग्न रहेकालाई भने धरौटी माग गरिएको छ ।  

    त्यस्तै मुलुकी अपराधसंहितामा १० देखि १४ वर्षकी नवबालिकामाथि जबरजस्ती करणी गरे १८ देखि २० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । सोही माग दाबीसहित परेको मुद्दामा महतलाई कारागार चलाउने आदेश भएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए । 

    उनका अनुसार जबरजस्ती करणीको घटना मिलाएको अभियोगमा पक्राउ परेका पाँच अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । उक्त कार्यमा संलग्न चन्दननाथ नगरपालिका–५ कालीबहादुर भण्डारी र चन्दननाथ–४ की उर्मिला महत जनही दुई लाख पचास हजार धरौटीमा छुटेका छन् । 
    चन्दननाथ–४ का नवराज भारती र तातोपानी गाउँपालिका–८ शर्मिला महत जनही २ लाख धरौटी तिरेर छुटेका छन् भने तातोपानी गाउँपालिका–८ की ईश्वरी आरसी एक लाख धरौटीमा छुटेकी छन् । 

    धरौटीमा छुटेका कालीबहादुर भण्डारी चन्दनाथ नगरपालिका–५ का वडा सदस्य हुन् । उर्मिलाकुमारी महत शिक्षिका हुन् । उनी स्थानीय एक विद्यालयको आधारभूत तहका विद्यार्थीलाई पढाउने गर्छिन् । 

    मिलापत्र गराउने कार्यमा संलग्न तीन जना अझै फरार रहेको र उनीहरूको नाममा पक्राउ पुर्जी जारी गरिएको रेग्मीले बताए । मिलापत्र गराउने कार्यमा संलग्न अधिवक्ता दिलबहादुर महत, महेन्द्र महत र जीवन महत फरार रहेको छन् । नवबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जुम्ला प्रहरीले २९ साउनमा महतलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको बयानका आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो ।

    त्यस्तै जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १० साढे वर्षकी  नवबालिकामाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटक पटक जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ । नाबालिगकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएर आफ्नो घरमा राखेका थिए । 

    जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा घटना मिलापत्रको प्रयास भएको थियो । अधिवक्ता दिलबहादुरसहित आठ जनाको रोहवरमा ७ लाखमा रुपैयाँमा घटना मिलापत्र गराइएको थियो । 

    मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकी छन् । 

    मुलुकी अपराधसंहिता, मुलुकी अपराध कार्यविधिअनुसार बलात्कारको घटना मिलाउनु कानुन विपरीत हो । बलात्कारका घटनामा मिलापत्र गराउनेलाई समेत ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने उल्लेख छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…