•  २०७४ फागुन २० आइतवार

    काठमाडौँ ; आईसीसी विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले आइतवार दिउँसो सवा १ बजेदेखि एकदिवसीय खेलिसकेको जिम्बाब्वेविरुद्ध उसैको घरेलु मैदानमा उत्रिँदैछ ।

    आयोजक जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको छ ।

    पहिलोपटक ५० ओभर क्रिकेटको विश्वकप खेल्ने र आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता जित्ने सपना बुनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यसको पहिलो परीक्षास्वरूप आयोजक जिम्बाब्वेविरुद्ध खेल्दैछ ।

    यी दुवै उद्देश्य प्राप्तिका लागि नेपाली टोलीलाई पहिलो परीक्षामै खरो उत्रनुपर्ने बाध्यता छ ।

    नेपाली टोली जिम्बाब्वेको भूमिमा मात्रै हैन, जिम्बाब्वेको सिनियर राष्ट्रिय टोलीविरुद्ध पनि पहिलोपटक खेल्दैछ ।

    घरेलु अनि बलियो प्रतिद्वन्द्वीविरुद्ध नयाँ पिचमा खेल्दा जितका लागि नेपाली टोलीसामु उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन ।

    जिम्बाब्वे नेपालका लागि निकै बलियो र अनुभवी प्रतिद्वन्द्वी हो ।

    सन् १९८३ मा इङ्ल्यान्ड र वेल्सले आयोजना गरेको विश्वकपमा पहिलोपटक सहभागी भएको जिम्बाब्वे त्यसपछि आयोजना भएका पछिल्ला नौ विश्वकपमा छुटेको छैन ।

    सन् १९९२ मा टेस्ट टोलीको मान्यता प्राप्त गरेको जिम्बाब्वेसँग लामो समयदेखि उच्चस्तरको प्रतियोगिता खेलेको अनुभव पनि छ ।

    त्यसको तुलनामा एसोसिएट टोली नेपालले ५० ओभर क्रिकेटमा अहिलेसम्म प्रतिस्पर्धा गरेको आईसीसीको सबैभन्दा ठूलो प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप हो, जसमा नेपाल रेलिगेसनमा परेको थियो ।

    यद्यपि पछिल्लो प्रतियोगितामा अविश्वसनीय प्रदर्शन गरेको नेपाली टोलीले जिम्बाब्वेविरुद्ध पनि सुखद नतिजा निकाल्ने अपेक्षा गरिएको छ ।

    गत महिना नामिबियामा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल  आईसीसी  विश्व क्रिकेट लिग डिभिजन दुईको फाइनलसम्मको यात्रा तय गर्दा सबैलाई चकित तुल्याउने प्रदर्शन गरेको नेपालले विश्वकप छनोट प्रतियोगितामा पनि त्यो प्रदर्शनलाई निरन्तरता दिने विश्वास गरिएको छ ।

    नेपाली राष्ट्रिय टोलीले पछिल्लो लामो समयदेखि एकदिवसीय विश्वकप र एकदिवसीय टोलीको मान्यता आफ्नो मुख्य उद्देश्य बनाएकाले पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ ।

    आईसीसीको निर्णयअनुसार छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुनेछन् ।

    साथै एसोसिएट टोलीमध्ये शीर्ष तीन (नेदरल्यान्ड्सबाहेक)मा रहने टोलीले आगामी चार वर्ष सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पनि प्राप्त गर्नेछ ।

    नेपाली टोलीले प्रतियोगिताका लागि जिम्बाब्वेतर्फ प्रस्थान गर्नुअघि अहिलेको मुख्य उद्देश्य सुपर सिक्सका लागि छनोट हुनु भएको जनाएको थियो ।

    त्यसकै लागि पनि नेपाललाई आफ्नो पहिलो खेलमा सुखद नतिजाको खाँचो छ ।

    प्रतियोगिताको सुपर सिक्समा पुग्दै विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताको आशा जीवितै राख्न नेपाललाई जिम्बाब्वेसँगै अफगानिस्तान, स्कटल्यान्ड र हङकङजस्ता बलिया टोलीसँग उच्चस्तरको प्रदर्शन गर्न आवश्यक छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…