• सुर्खेत, ५ कात्तिक 

     जाजरकोट बारेकोट गाउँपालिका–९ सक्लाको लेकमा टेलिफोनको टावर जडान भएको ६ वर्षभन्दा बढी भयो । अब यो टावर सञ्चालनमा भए साविकको सक्ला गाविसका सबै सर्बसाधारण सञ्चार सेवासँग जोडिने छन् । टावर सञ्चालनका लागि पटक , पटक आग्रह गरेपछि नेपाल टेलिकमले कात्तिकभित्र नेटवर्क छाड्ने भन्दै अन्तिम भाका लगाएको छ ।

    अघिल्लो पटकको निर्वाचनमा एमालेबाट प्रदेशसभामा विजयी भएका डम्बर सिंहले यही टावर सन्चालनमा ल्याएर पुर्वी जाजरकोटलाई सूचना प्रविधिसँग जोड्ने प्रतिबद्धता जनाएका थिए ।  अहिले पुनः यही विषय उनको मुख्य एजेण्डा छ । उनको स्थायी घर बारेकोट गाउँपालिका हो । बारेकोट गाउँपालिका–१, २, ३, ४, ५ मा मात्र नेपाल टेलिकमको रतनकोटको टावरले काम गर्छ । वडा नम्वर ८ र ९ मा टावरले आंशिक काम गर्दछ । अन्य वडाहरुका स्थानीयवासीहरु  फोन गर्न अग्लो डाडामै जानु पर्ने बाध्यता रहेको बारेकोट–७ का कालीबहादुर चलाउने बताए । 

    पहिला पनि उम्मेदवार भएका र अहिले पनि गठबन्धनबाट कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका बेदराज सिंहको घर समेत बारेकोटमै पर्दछ । पटक पटक उम्मेदवार हुँदा एउटै चुनावी एजेण्डा बनाउने उम्मेदवारले पालिका भित्र भएका समस्याका विषयमा अन्य समयमा किन बोलेनन् भनि चलाउनेको प्रश्न रहेको छ । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पुर्वमन्त्री शक्तिबहादुर बस्नेतले अघिल्लो वर्ष नै रतनकोटमा टावर सञ्चालनमा आउने भन्दै लिम्सामा भाषण गरेका थिए । उनको भाषण जस्तै गरी अघिल्लो वर्ष रतनकोटमा टावर निर्माण भई पाँच वटा वडामा सञ्चार सेवा पुगेको छ ।

    अन्य ठाउँमा टावर निर्माणका लागि ठेक्काको काम भइरहेको छ भन्दै हप्ता दिन अघि बारेकोट पुगेका बस्नेतले सर्बसाधारणलाई भरोसा दिलाउने प्रयास गरे । बस्नेतको यो भनाइप्रति सर्बसाधारणले ठेक्काको काम भन्दा काम छिटो गर्नुपर्ने भन्दै ताकेता गरे । त्यस्तै नलगाड नगरपालिकाको –११, १२ र १३ मा टेलिफोनले काम गर्दैन । यहाँका सर्बसाधारणले टेलिफोन सेवाको माग गरेको पनि धेरै समय बित्यो भन्दै स्थानीय मोहन बस्नेतले आक्रोष पोख्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै आएका छन् । 
    यस क्षेत्रमा समेत नयाँ टावर निर्माणका लागि ठेक्का भएको पुर्वमन्त्री बस्नेतको भनाइ छ । अर्का नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार निरज आचार्यको पनि सञ्चार सेवालाई प्रभावकारी बनाउने एजेण्डा रहेको छ । उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । अधिकांश समय काठमडौँमै समय बिताउने र कहिले काँही राजनीतिक कार्यक्रममा मात्र जाजरकोट पहिला टेक्ने आचार्य जाजरकोटको समस्यबाट टाढै बसेको आरोप लाग्दै आएको छ । गठबन्धनका साझा उम्मेदवार शक्ति बस्नेतले जिल्ला भएका कामहरु आफूले गरेको भन्दै प्रचारलाई तिब्रता दिदा एमालेका उम्मेदवार निरज आचार्य आफूले गरेका काम नभएपछि नयाँ एजेण्डा बनाएर काम गर्ने भन्दै प्रचार गरिरहेका छन् । 

    कर्णालीबाट राष्ट्रिय राजनीतिमा बलियो प्रभाव पार्न सक्ने नेता हुन् सुर्खेतका पूर्णबहादुर खड्का । २०३२ सालमा नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका खड्का पार्टीमा केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति हुँदै  संघीय सरकारका आधा दर्जन बढी मन्त्रालय समालेको अनुभव रहेको छ । सात वर्ष पहिले अब मन्त्री नबन्ने घोषणा गरेका खड्का प्रधानमन्त्री बन्ने महत्वाकांक्षा राखेका छन् । ‘अहिलेसम्म मैले समन्वयकारी भूमिका खेलें, अबको भूमिका हस्ताक्षेपकारी हुनेछ,’ सोमबार वीरेन्द्रनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खड्काले भने, ‘मन्त्री बन्दिनँ, प्रधानमन्त्री भाग्य र भगवान भरोसा छ ।’

     प्रधानमन्त्रीतिर आँखा लगाएका खड्काले सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट यसअघि पाँच वटा चुनाव जितेका खड्काको सातौं पटक प्रतिस्पर्धा हो । २०४८ सालदेखि चुनावमा भाग लिदै आएका खड्का कर्णालीका बलिया खम्वा हुन् । उनी माथी पनि सुर्खेतको विकास निर्माण , विमानस्थल र समग्र सुर्खेतको विकासका लागि के के गरे भन्दै यहाँका स्थानीयवासीले प्रश्न गरिरहेका छन् ।  सुर्खेत १ मा सिम्ता र चिङ्गड गाउँपालिका, भेरीगंगा, लेकवेशी, गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नम्बर वडाहरुको अवस्था के फेरियो भन्दै प्रश्न उठन थालेको छ । सिम्ता गाउँपालिकाको आधा भन्दा बढी भागमा अहिले पनि फोनले काम गर्दैन । यहाँको खानेपानी, सिँचाइ लगाएका विषयमा जनताले महसुस गर्ने गरी के के काम भए भन्दै सिम्ता राकमका केवल केसीले प्रश्न गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार धुर्वकुमार शाही खड्कासँग चुनाव भिडेका छन् । उनले पनि खड्कालाई केही नगरेको भन्दै आरोप लगाउदै आएका छन् । स्थानीयवासीले भने शाहीले समेत खास देखिने काम केही नगरेको भन्दै उनी माथी पनि औला उठाएका छन् । एक दर्शक अघि जुन एजेण्डा लिएर चुनावमा होमिएका थिए उम्मेदवारहरु अहिले पनि त्यही भएको यहाँका मतदाताको भनाइ रहेको छ । 

    त्यस्तै, कालिकोटमा आफ्नै पार्टीको बागी उम्मेदवारबाट हैरानी खेपेका कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पनि अधिकांश एजेण्डा पुराना नै रहेका छन् । बाँकी काम पुरा गर्ने भन्दै प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । उनको अधिकांश चुनावी क्षेत्रमा सञ्चार सेवा भरपर्दो नभएको आरोप लाग्दै आएको छ । नेकपा एमालेका कालिकोट पार्टी इन्चार्ज नगिन्द्र शाही प्रतिनिधिसभामा भिडिरहेका छन् । उनको एजेण्डा पनि सञ्चार , खानेपानी , विद्युत र सञ्चार नै रहेको छ । यो नारा पनि पुरानो भइसकेको कालिकोटका स्थानीयवासीको भनाइ छ । नारा मात्र लगाउने कि काम गरेर पनि देखाउने भन्दै यहाँका स्थानीयवासी प्रश्न गरिरहेका छन् । कालिकोटको ३० प्रतिशत भागमा अझैँ सञ्चार उपलब्ध नभएको नागरिकको गुनासो रहेको छ । विद्युत सेवा त झन ५० प्रतिशत नागरिकको पहुँचमा नपुगेको नेपाल विद्युत प्राधिकरणकै रिर्पोटमा उल्लेख छ । 

    हालका मुख्यमन्त्री जीवनबहादुर शाही चुनाव भिडिरहेको हुम्लामा समेत उस्तै समस्या रहेका छन् । यहाँ चुनावमा लड्ने उम्मेदवारहरु कार्चेन लामा बाहेक सबै पुराना रहेका छन् । लामा हुम्लाबाट गठबन्धनका लागि प्रतिनिधिसभाका उम्मेदवार हुन् । पुराना एजेण्डा लिएर चुनाव भाग लिइ यो पटक सबै पूरा गर्छौ भन्दै भोट मागिरहेको नाम्खाका बुद्दि लामाले बताए  । उम्मेदवारका प्रतिबद्धतापत्र समेत देख्न नपाएर भोट हाल्नुपर्ने बाध्यता रहेको बिकट क्षेत्रका हुम्लीहरु बताउँछन् । दुर्गम भएकाले उम्मेदवारहरु सबै ठाउँमा पुग्दैनन् , अनुहार र प्रतिबद्धतापत्र नै नदेखि भोट हाल्नुपर्ने अवस्था छ लिमीका रमेश लामाले बताए । यी त प्रतिनिधि मुलक मात्र कुरा भए , कर्णालीका सबै ठाउँमा चुनावमा भाग लिएका उम्मेदवारका मुद्दा समान रहेका छन् । पुराना एजेण्डालाई यो पटक पुरा गर्ने बाचासहित उम्मेदवारहरु प्रतिबद्धतामा वषौँदेखि उल्लेख गर्दै चुनावमा भाग लिइरहेका छन् । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…