• खोटाङ, १९ मंसिर 

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा निर्माण गरिएको आँखा पोखरी सुकेको छ । २०७५ साउन २६ गते उद्घाटन गरिएको आँखा पोखरी पानी व्यवस्थापन नहुँदा सुकेको हो । ऐतिहासिक महुरेगढी नजिक किराती राजा भ्रमराजले विक्रम संबत १८३० मा निर्माण गरेको पोखरीलाई कंक्रिट गरेर आँखा आकारको पोखरीको रुप दिइएको थियो । 

    मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थलकारुपमा रहेको महुरेमा ५१ लाखको लागतमा निर्माण गरिएको ३२ मिटर लम्बाई भएको आँखा पोखरी अहिले सुक्खा पोखरीमा परिणत भएको छ । नगरपालिकाको ४३ लाख र स्थानीयवासीको आठ लाख बराबरको जनश्रमदानमा बनाइएको पोखरीकोबीच भागमा ब्रिज डाईनिङ र आसपासमा रेलिङ बार राखिएको छ । पोखरी निर्माणमा पर्यटन मन्त्रालयको बजेट समेत खर्च भएको छ । तर, मुहान व्यवस्थापन नहुँदा पोखरीमा पानी भर्न समस्या भएको छ । समुन्द्री सहतदेखि करिब दुई हजार दुई सय मिटरको उचाईमा रहेको महुरेगढीको पर्यटन प्रवर्द्भनका लागि भन्दै बनाइएको पोखरीमा नियमित पानी व्यवस्थापन नहुँदा बजेट खर्च मात्र गर्ने प्रवृत्ति झल्किएको स्थानीय बताउँछन् । 

    आँखा पोखरीका लागि पानीको छुट्टै श्रोत व्यवस्थापन गरिएको छैन । खानेपानीको पाईप चुँडाएर पोखरीमा पानी हाल्ने गरिएको थियो । तर, पिउने पानीकै अभाव हुन थालेपछि पोखरीमा पानीको अभाव भएको नुनथलाका पुर्ववडाध्यक्ष भीम राई बताउँछन् ।

    'पोखरीका लागि मुहानको व्यवस्था छैन । हलेसीतिर लगेको खानेपानीको पानी निकालेर हाल्ने गरिएको थियो,' राईले भने, 'अहिले खानेपानी छैन । कहाँबाट पोखरीमा पानी हाल्नु ! सुक्खा पोखरी भइसक्यो ।'

    पुष्पलाल मध्यपहाडी लोकमार्गको क्षेत्र सेन्टरबाट दायाँ–बायाँ ६२ मिटर कायम गरिएको छ । त्यो बेला मापदण्ड मिचेर मध्यपहाडी लोकमार्ग क्षेत्रभित्र पोखरी निर्माण गरिएको भन्दै  विरोध भएको थियो । पोखरी निर्माणका क्रममा नगरपालिकाले वडा कार्यालय नुनथलासँग समन्वय पनि गरेको थिएन । अहिले सगरमाथा राजमार्ग कालोपत्रे गर्नेक्रममा सडक फराकिलो बनाउँदा पोखरीको बारलाई मिचेर माटो थुपारिएको छ । मध्यपहाडी र सगरमाथा राजमार्ग थप फराकिलो बनाउनेक्रममा भविष्यमा पोखरीलाई थप क्षति पुग्ने देखिएको छ । 

      

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…