•  बेलबारी, ९ पुुस 
     दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो ।
      
    असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । 

    यसै वर्ष पनि करिब ७० प्रजातिका चरा कोसीटप्पु आइसकेका छन् तर विगतका वर्षहरुमा यतिखेरसम्ममा सयभन्दा बढी प्रजातिका चरा आइसक्ने गरेको चराविज्ञ अनिश तिम्सिना बताउनुहुन्छ । “अझै चरा आउने समय बाँकी रहे तापनि विगत वर्षको तुलनामा कमी आएको छ”, तिम्सिना बताउनुहुन्छ । ठूलो सिलसिले हाँसजस्तै अन्य थुप्रै चरा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउन छाडिसकेका छन् । प्रजातिका हिसाबले प्रतिनिधिमूलक उपस्थिति रहे तापनि सङ्ख्यात्मक हिसाबले बाह््य पर्यटक चराको उपस्थिति घट्नुले चिन्तित बनाएको तिम्सिना बताउनुहुन्छ । राज्यका स्थानीय तहले जैविक विविधता महत्वपूर्ण पाटो हो भन्ने बुझेर काम गरिदिन जरुरी रहेको तिम्सिना बताउनुहुन्छ । 

    “मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरुपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ”, कोसीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष राजकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार सिमसारमा ढपक्कै ढाकिएको जलकुम्भी, ‘म्याइकेनिया’जस्ता वनस्पतिले हाँस प्रजातिका चरालाई असर गरेको र सिमसार आसपासका क्षेत्रमा विषादीको प्रयोगले जोखिम रहेको छ । बगेको पानीभन्दा जमेको पानीमा बस्न रुचाउने हाँस प्रजातिका चरा माछा मार्न आउने मान्छेसँग डराएर भाग्ने गरेका छन् । आरक्ष क्षेत्रमा लाइसेन्स लिएर माछा मार्न अनुमति दिने गरिएको छ जसको जोखिम चरालाई परेको छ । चरालाई उचित वासस्थान र पर्याप्त आहराको कमी अर्को समस्या रहेको छ । 
     
    उत्तरी धु्रवमा हिमपातको सुरुआतसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउँछन् । बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदिशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् । यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्दछन् ।

         दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । 

    उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् । 

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…