काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । केही समय पहिले प्रेमिकाबाट सन्तानको बाबु बनेका उनले मंसिर २६ गते काठमाडौं महानगरपालिका(३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका हुन् ।
यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । विवाहलाई मिडिया खुलासा गरेपनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका थिएनन् । उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले राजेशपायल राईले विवाह दर्ता गरेको पुष्टि गरे । विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम देखिन्छन ।
विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो । सङबुङले बच्चा जन्माएको जानकारी त्यतिबेला टिकटकबाट दिएपछि समाचार बाहिर आएको थियो ।