गण्डकी, २३ चैत
माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ । उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जीप । उक्त घलेल गाउँ भने सुनसान जस्तै छ । माछापुच्छ्रे गाउँपालिका-८ र ९ मा पर्ने घलेल गाउँ पोखरा-बागलुङ राजमार्गको हेम्जाबाट करिब १७ किलोमिटर दूरीमा रहेको छ । पोखराको टुँडिखेलस्थित हरिचोकबाट हेम्जाहुँदै मर्दिपुल, खानेपानी, भेडाबारी, खोरामुख, लुम्ब्रे हुँदै करिब डेढ घन्टामा घलेल गाउँ पुग्न सकिन्छ । लुम्ब्रेसम्म बाटो कालोपत्र भइसकेको छ ।
गाउँमा चार सय घर भएकाले पहिला यो गाउँलाई ‘चार सय घलेल’ भन्ने गरिन्थ्योे । पछिल्लो समय शिक्षा, रोजगारी तथा सुविधाको खोजीमा सहर पस्नेको सङ्ख्या बढ्न थालेपछि अहिले गाउँमा २० देखि २५ प्रतिशत मानिस मात्रै बस्ने गरेका छन् ।
मर्दी हिमाल जाने पदमार्ग यही गाउँ भएर जाने भएकाले पर्यटकीय सम्भावना देखेर यहाँका बासिन्दाले विसं २०६७ देखि घलेल सामुदायिक होमस्टे (घरवास) सञ्चालन गर्दै आएका हुन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरवास सञ्चालनमा ल्याए पनि पर्यटकको अभावले गर्दा गाउँ पछि परेको होमस्टे (२ नं घर) की सञ्चालिका उजेली गुरुङले बताउनुभयो ।
उजेली दिदीका नामले परिचित उहाँको घर गाउँको सिरानमा छ । उहाँले दुई कोठासहित चार खाट पर्यटककै लागि छुट्याउनुभएको छ । खाटमा ओछ्याइएका सिरक, डसना तथा सोफा छन् । घरको मझेरीदेखि पिँढी, आगन सफा र चिटिक्क पारिएकोे छ । होमस्टेमा फाट्टफुट आउने पाहुनालाई सञ्चालक समितिको व्यवस्थाअनुसार घरघरमा बाँडेर राख्ने गरिएको उजेलीले बताउनुभयो । गाउँका नौ घरमा घरवास सञ्चालन गरिएको छ ।
उहाँले छिमेकी ल्वाङ गाउँ र घलेलमा सँगै घरवास सञ्चालनमा आएको बताउनुभयो । “सँगै घरवास सुरु भएको ल्वाङमा पर्यटकको आवागमन बढी छ । त्यहाँ त्यस्तो चहलपहल हुँदा यहाँ भने सुनसान छ”, उजेलीले गुनासो गर्नुभयो । गाउँमा अधिकांश दसवर्ष मुनिका र ४५ वर्ष माथिका नागरिक बढी छन् । युवा जनशक्तिको अभावका कारण पनि पर्यटकको आगमन बढाउन नसकिएको उहाँको भनाइ थियो ।
गाउँमा आउने पर्यटकले यामअनुसार लेकतिर हुने टुसादेखि निउरो, कोदो, मकै, फापरको ढिँडो रोटी आदिको स्वाद चाख्न पाउँछन् । एकै दिनमा ५० देखि ६० जनासम्म पर्यटकलाई राख्न सकिने यहाँका घरवासमा प्याकेजमा एक रातका लागि रू एक हजारमा खाजा, खाना र बासको व्यवस्था मिलाइएको छ ।
घरवासमा भित्रिएका पाहुनालाई बाजागाजाका साथ टीका र माला लगाएर स्वागत गर्दै बास बस्न घरघर पठाइन्छ । बेलुकाको बास र खाना छुट्याइएका घरमा व्यवस्था भए पनि स्थानीयवासीले पर्यटकको मागअनुसार बेलुका समाज घरमा सामूहिक विभिन्न साँस्कृतिक कार्यक्रम पनि देखाउने गर्दछन् । बिहान उठेपछि पाहुनालाई मकै, अण्डा, चियासहितको खाजा खुवाउने गरिन्छ । बिहान पर्यटक गाउँबाट झण्डै एक घण्टा ठाडो उकालो सिँढी उक्लेर महागुरु गुफा र बीचको तारे बराहसम्म हाइकिङमा जाने गर्दछन् ।
महागुरु गुफा र तारे बराह यहाँको धार्मिक तीर्थस्थल रहेको स्थानीय हितकाजी गुरुङले बताउनुभयो । घलेल गाउँलाई धार्मिक पर्यटनसँग पनि जोड्ने उद्देश्यका साथ गुफा तथा बराह मन्दिरलाई थप व्यवस्थित गर्न गाउँपालिका र प्रदेश सरकारले चासो दिएको उहाँको भनाइ थियो । “गुफालाई व्यवस्थित गर्न पालिकाले रू नौ लाख विनियोजन गरेको छ भने तारे बराह मन्दिरका लागि गण्डकी प्रदेश सरकारले रू १० लाख विनियोजन गरेको छ”, गुरुङले भन्नुभयो । गुफा र मन्दिर निर्माण भइरहेको छ ।
मनले चिताएको पुग्ने तीर्थस्थलका रूपमा उक्त मन्दिरलाई लिइने उहाँले बताउनुभयो । प्रत्येक वर्ष वैशाख पूर्णिमा र दशैँमा बलिपूजासहित यहाँ पूजा गरिन्छ । बराहले गाउँ र स्थानीयवासीलाई संरक्षण गरेको जनविश्वास छ । विगतमा पानी, बत्ती, सडकलगायत आधारभूत पूर्वाधारको समस्या रहे पनि अहिले भने सबै सुविधा गाउँघरमा पुगेका छन् ।
सूचना प्रविधिको बढ्दो विकाससँगै गाउँका घरमा इन्टरनेटको पहुँच पुगेको सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङले बताउनुभयो । बसाइँसराइका कारण पनि गाउँमा युवावर्ग नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती देखिएको उहाँको भनाइ थियोे । “सँगै स्थापना भइ सञ्चालनमा आए पनि ल्वाङवासीलाई पर्यटक भित्राउन भ्याइनभ्याइ छ । यहाँको बाटोमा बस तथा जीप हेरेर टोलाउनु परेको छ”, उहाँको गुनासो थियो । गाउँ छोडेर बसाइँ सर्ने क्रम कम भएमा गाउँमा प्रचारप्रसार गर्न सकिने तथा पर्यटक पनि बढदै जाने उहाँले बताउनुभयो ।