• समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा ।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला ।
     
    यो वर्ष चैतको अन्तिम साताको आइतबार  बेलढुङ्गा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका फूल र हरिया पातमात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकले । लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत–वैशाख हो लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने यहाँका वन जङ्लमा यतिबेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ ।  चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन् । 

    त्यस्तै काफल, ऐँसेलु, तिजु, वनमान्द्रोलगायत जङ्गली फलफूल र कन्दमूल पनि बेमौसममै फलेकाले फल लाग्नुपर्ने समयमा निख्रिसकेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र फुल्नुपर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो सङ्केत नभएको म्याग्दीस्थित धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

    विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको उहाँको भनाइ थियो । आइतबार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुङ्गामा पुग्नुभएका अध्यक्ष बानियाँसहित आन्तरिक पर्यटक लालीगुराँसकै जङ्गलमा पुगेर पनि गुराँस फुलेको देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए ।

    सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फूल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै फुलेकाले चैतमै निख्रिसकेको स्थानीयवासीले बताए । विगतमा लालीगुराँस फुलेपछि चैत–वैशाखमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दथ्यो ।

    लालीगुराँस चैत–वैशाख महिनामा फूल्ने गर्दथ्यो तर केहीवर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेकाले फुल्नुपर्ने समयमा निख्रन पुगेको स्थानीयवासी डिलबहादुर सापकोटाले बताउनुुभयो । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको, जङ्गली फलफूल, कन्दमूल र अन्नबालीमा समेत यसको असर देखिएको भकिम्ली निवासी क्या.जसबहादुर पुनको भनाइ थियो ।

    “यस वर्ष पुस अन्तिम सातादेखि नै गुराँस फुल्न र काफल पाक्न सुरु ग¥यो” वन तथा वातावरणका अध्येता बैकुण्ठ रेग्मीले भन्नुभयो “चैत–वैशाखमा फुल्नुपर्ने गुराँस पुस माघमै फुल्नु र चैत सकिनै लाग्दासमेत उच्च हिमाली र लेकाली क्षेत्रहरुमा हिउँ नपर्नु, कन्दमूल तथा जङ्गली फलफूल नासिँदै जानु, बाली पाक्ने समयमा परिवर्तन देखिनु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।” उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन् । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…