झापा, २९ चैत
कक्षा १२ उत्तीर्ण न्यून दृष्टियुक्त जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उहाँले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । न्यून दृष्टियुक्त रोजिना खातुन पनि उसैगरी सडकमा गीत सुनाएर सहयोग सङ्कलन गरिरहनु भएको छ । चार वर्षको छोरोलाई साथमै लिएर गीत गाउन हिँड्ने रोजिनाले कक्षा ८ सम्मको औपचारिक शिक्षा लिनुभएको छ । आँखाको ज्योति नभए पनि दर्शकलाई मन्त्रमुग्ध पार्न सक्ने उहाँसँग सुरिलो स्वर छ ।
झापाको विर्तामोड, दमक, धुलाबारी, भद्रपुर, चन्द्रगढी, सुरुङ्गा जस्ता सहरका चोक र गल्लीहरुमा गीत गाएर मागिरहेका न्यून दृष्टियुक्त व्यक्तिको भिन्नाभिन्नै थुप्रै समूह देख्न पाइन्छ । उनीहरु सबैसँग एउटा सहयोगी हुन्छ । एउटा साउन्ड सिस्टम हुन्छ । एउटा नगद बोक्ने झोला र गीत गाउन चाहिने स्पिकर हुन्छ । न्यून दृष्टियुक्त व्यक्ति गायन प्रतिभा देखाउने रहरले सडकमा कार्यक्रम लिएर गएका होइनन् । पेट पाल्ने अर्को विकल्प नभएपछि उनीहरु जीविकाकै लागि तातो घाम र बर्खे झरी नभनी सडकमा दिनभर गाउन बाध्य छन् ।
कचनकबल घर भएका जेठा मुर्मु अहिले ३५ वर्ष पुग्नुभयो । कनकाई माविबाट कक्षा १२ उत्तीर्ण उहाँले सङ्गीतको डिप्लोमा कोर्स पूरा गर्नुभएको छ । गाउने सुरिलो स्वर भएका उहाँ सङ्गीत प्रशिक्षकको रुपमा पनि चिनिनुहुन्छ । तर, नियतिले उहाँलाई हातमुख जोड्ने सङ्घर्षको क्रममा सडकमै पुर¥यायो । “पढेको पनि हो, सङ्गीत पनि जानेको हो, तर जागिर कतै पाइएन,” मेचीनगरको धुलाबारी चोकमा गीत गाएर माग्दै गर्दा भेटिनु भएको उहाँ भन्नुहुन्छ–“श्रीमती र बालबच्चा यही गीत गाएर पालिरहेको छु ।”
मुर्मु चार वर्षदेखि पत्नी र नौ वर्षको छोरासँग विर्तामोड–४ मा डेरा बस्दै आउनु भएको छ । पत्नी पनि न्यून दृष्टियुक्त नै हुनुहुन्छ । छोरा हाल विर्तामोडको एक आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेका छन् । कोरोना महामारी सुरु हुनुभन्दा अघिसम्म मुर्मु सडकमा गीत गाएर माग्न जानुभएको थिएन । काँकरभिट्टाको महिला विकास सहकारी संस्थाको कार्यालयमा सञ्चालित सङ्गीत कक्षामा उहाँ प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो ।
उहाँसँग सङ्गीत सिकेका थुप्रै बालबालिका अहिले राम्रा कलाकार बनिसकेका छन् । “बन्दबन्दी सुरु भएपछि जिन्दगीको बेहाल भयो, त्यसअघि नै सङ्गीत कक्षा पनि बन्द भइसकेको थियो,” मुर्मुले सकसका दिनहरु सम्झिदै भन्नुभयो–“परिवारको पेट पाल्न मुस्किलका दिन आएपछि मैले सडकमा गएर गाउने निधो गरेँ । अहिलेसम्म परिवारको भरणपोषण यसैबाट भइरहेको छ ।”हरेक बिहान डेरामै खाना खाएर उहाँ बाहिर निस्कनुहुन्छ । उहाँलाई सहरका चोक र गल्लीमा पु¥याउने जिम्मा एकजना सहयोगीले लिएका छन् ।