• अर्जुनधारा, २१ वैशाख 
    काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन । वास्तबमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्नसके काम र दाम दुवै यहीँ छ । यसको उदाहरण हो बिर्तामोडका विभिन्न सडक पेटीमा ठेला–व्यापार गर्नेहरु । 

        भारत घर भएका राजकुमार साह बिर्तामोडको भद्रपुररोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेचेर मासिक रु ७५ हजार कमाउनुहुन्छ । छोरीको स्कुल खर्च, कोठा भाडा, औषधि उपचार खर्च गरेर पनि राम्रै बचत गर्न सकेको साहले बताउनुहुन्छ । साँझपख अफिस सकेर धैरै कर्मचारी नास्ता खान आउने गरेको उहाँको भनाइ छ ।

        भद्रपुररोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आउनुभएका कृष्ण साहले पनि दैनिक दुई÷तीन हजारको व्यापार गर्ने गरेको बताउनुहुन्छ । ठेला व्यापारबाटै उहाँको पनि तीन जनाको परिवार राम्रैसँग चल्दै आएको छ । दाजुले वर्षाैंदेखि गर्दै आएको ठेला व्यापार विगत पाँच वर्षबाट कृष्णले सम्हाल्नुभएको हो । 

        ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने भएकाले सानो लगानी गर्नेका लागि यो रोजाइको व्यवसाय बनेको छ । 

        झापाको बिर्तामोड पछिल्लो समय तीव्रगतिमा सहरीकरण भइरहेको कोशी प्रदेशको व्यापारिक केन्द्र हो । विर्तामोडको चोकचोक, गल्लीगल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँमा राखिएका ठेला व्यापारले धेरैको जीविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सीता साह बताउनुहुन्छ । उहाँ दैनिक एक सय ५० भन्दा बढीलाई पानीपुरी चटपटे खुवाउनुहन्छ । 

        घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्ररूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो हुने भएकाले पनि ठेला व्यापारतर्फ धेरैको आकर्षण देखिन्छ । बिएण्डसी हस्पिटल अगाडि ठेलामा जुुुस बेच्दै आएका प्रभु साह कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुने बताउनुहुन्छ । भारतको विहारका उहाँ गर्मी सुरु भएपछि ठेलामा जुस बेच्ने गर्नुहुन्छ । हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन् । 

        ठेलामा व्यापार गर्नेले वर्षैभरि एकै किसिमको व्यापार नगरी मौसमअनुसार व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । धनकुटा स्थायी घर भई तीन वर्षयता विर्तामोडमा ठेलाको व्यापार गर्दै आउनुभएका सनमान तामाङले मौसमअनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएका कारण मौसमी व्यापारमा लागेको बताउनुहुन्छ । उहाँले गत वर्षदेखि कहिले फलफूल, कहिले उखुको जुस तथा कहिले सागसब्जी बिक्री गर्दै आउनुभएको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…