•  रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ ।

    विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो ।     उमेरले ३० वर्ष पुगेका बरुवाल पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गर्नुभयो । त्यहाँ उहाँको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन । 
        
    यता घरमा परम्परागत खेती किसानी गर्दै आउनुभएका उहाँका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहानुहुन्थ्यो । उहाँको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो । नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाअन्तर्गत उहाँको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाखा्रपालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् ।

    आयोजनासँगको सम्झौताअनुसार उहाँले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भुइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापलनका लागि पूर्वाधार तयार गर्ने काम गरिसक्नुभएको छ ।

    लक्षित कामका लागि निर्धारित कुल रु ३८ लाख ७२ हजार तीन सय तीन लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानवापत रु १९ लाख २८ हजार छ सय ५२, प्रभु बैंकको ऋण लगानी रु ११ लाख ७० हजार र स्वलगानी रु सात लाख ७३ हजार  छ सय ५२ रहेको धनबहादुर बरुवालले जानकारी दिनुभयो ।
        
    सम्झौताअनुसार अनुदानवापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उहाँले बताउनुभयो । आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरासमेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआइपीको अनुदान थप प्रेरक बनेको उहाँको भनाइ छ ।

    “भौगोलिक अवस्थितिलगायतका कारण खोर निर्माण आदिमा सम्झौताभन्दा पनि बढी व्यक्तिरूपमा खर्च भइसकेको त छ नै तर यो लगानीका लागि एनएलएसआइपी नै मुख्य प्रेरणाको स्रोत हो”, उहाँले भन्नुभयो । खोरमा मात्रै रु २९ लाख खर्च भइसकेको र करिब रु १८÷१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उहाँले जानकारी दिनुभयो । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आउनुभएको छ भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

    बरुवालका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जङ्गल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ । 

    सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…