•  जनकपुरधाम, २ जेठ  : चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका ट्रयाक्टरलगायत साधन एवं मजदूर भने प्रशस्तै भेटिन्छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रहेको चारखोला (चारनाथ खोला) पनि अहिले त्यस्तै काकाकूल छ ।  

        जब वर्षायाम सुरु हुन्छ, तब अरु खहरेजस्तै यो खोला पनि चुपचाप रहन्न् । त्यसपछि यहाँ पानीसँगै आँसु पनि बग्छन् । हरेक वर्षातमा आसपासका बस्तीको उठिबास, जनधनको क्षति, सयौँ बिघा जमिन कटान र डुबानलगायतका घटनाहरु सुनिन्छन् । 

        “अहिले सुनसान रहेको यो खोला यस्तै रहन्न, बर्सातमा यसले राक्षसी रुप देखाउँछ र बस्ती उठिबास लाउँछ”, गाउँपालिका–३ भरतपुरका राजेन्द्र दासले भन्नुभयो, “बाढीले हरेक वर्ष विपद् निम्त्याउँछ, धनजनको क्षति, खेतीयोग्य जमिन कटान र डुबान हुन्छ । पानी मात्रै होइन हरेक बर्सातमा हाम्रा आँसु बग्छन् ।”

        चारखोलाको वरिपरि श्रीरामपुर, भरतपुर र जुडी गरी तीन बस्ती छन् । यी तीनै बस्तीमा करिब एक हजार तीन सय परिवारको बसोबास छ । आजभन्दा १५÷२० वर्षपहिले खोला पूर्वी भागतिर बगिरहेको थियो । अहिले धार परिवर्तन गरी यिनै गाउँ अर्थात् पश्चिमतर्फ फर्किएको छ भने खोला सोझिएको भँगालोको मुखैमा श्रीरामपुर र भरतपुर छ । 

        “दश÷पन्ध्र वर्षमा ५० बिघाभन्दा बढी नम्बरी जग्गा बगर बनेको छ । पहिले त खेती मात्रै बगायो, अहिले त बस्तीसमेत डुबानमा परिरहेको छ । तत्काल केही नगर्ने हो भने यी बस्तीहरु नै सखाप हुनेछन्”, उहाँले गुनासो गर्नुभयो । 

        अहिले चुरेबाट आएको गेग्र्यानले चारखोला खेती र वस्ती रहेको जमिनभन्दा पनि उचोँ छ । दुई फिटभन्दा बढी पानी आएमा दायरा नाघ्ने अवस्था छ । स्थानीय मोतिलाल दासले खोलाको स्वरुप हेर्दा वर्षायाम नलाग्दै निन्द्रा लाग्न छोडिसकेको बताउनुभयो । 

        “तीन बस्तीको पाँच सय बिघा जमिन र गाउँतिर पानी जाने अवस्था छ छ । यो देखेर वर्षात सुरु नहुँदै निन्द्रा लाग्न छोडिसक्यो । हरेक वर्ष बालबच्चाहरुको बिचल्ली हुन्छ, झन् यो वर्ष त भयावह हुने देखिएको छ”, उहाँले भन्नुभयो । 

        उहाँले स्थानीय जनताले श्रमदान गरी अस्थायी तटबन्ध लगाउँदा र स्थानीय सरकार तथा अरू निकायले हरेक वर्ष केही न केही गर्दा पनि खहरे रोक्न नसकिएको दुखेसो पोख्नुभयो । 

        नागेश्वर दासले दशकौँदेखि स्थानीयको आग्रहअनुसार १०÷२० लाखको काम भइरहे पनि त्यसले बर्षातको पहिलो धक्का पनि थेग्न नसकेको बताउनुभयो । “खोलामा रहेको पुलको केही माथि राजदेवी मन्दिर रहेको स्थानमा पानीको उकासा हुन्छ । त्यहाँबाट तीव्र गतिमा आएको पानी तीन बस्ती हुँदै सबैलासम्म पुग्छ”, उहाँले भन्नुभयो, “यो समस्या प्रत्येक चुनावमा नेताका अजेन्डा बन्छन् तर काम भने हुँदैन ।”

        नगरपालिकाले चालु आर्थिक वर्षमा रु एक करोडभन्दा बढी खर्चेर तारजाली ढुङ्गा लगाएको छ तर यसले पनि धेरै राहत दिन सकेको छैन । “उत्तम विकल्प भनेको नदीलाई डो¥याएर बीच भागमा लिनु नै हो तर यसमा कसैको ध्यान गएको छैन”, नागेश्वरले गुनासो गर्नुभयो । 

        भरतपुरतर्फ सोझिँदै गरेको खोलाको मुखैमा सानो जग्गा देखाउँदै स्थानीय भरत साहले दुई वर्षअघि परिवारको २७ कट्ठा जमिन खोलाले खाएको पीडा सुनाउनुभयो । “चारनाथको कटानले एकै रातमा एक÷डेढ बिघा सखाप गर्छ । दुई वर्षअघि मात्रै मेरो दाइको २२ कट्ठा र मेरो पाँच कट्ठा जमिन कटान ग¥यो । यो बगरमा भरतपुर, उम्राटोल, लवपुरीमा बस्नेतहरुको पनि जग्गा छ”, साहले भन्नुभयो । 

        वडा नं ३ का अध्यक्ष उद्गार यादवले ठूलो क्षति सन्निकट रहेकाले खेत र बस्तीभन्दा अग्लो रहेको नदी बीचको भाग हटाएर चारपाँच मिटर गहिरो बनाउनुपर्ने बताउनुभयो । नगर उपप्रमुख तुलसाकुमारी पाण्डेले स्थानीयको मागअनुसार अग्लो भएको खोलालाई गहिरो बनाएर बीचबाट डो¥याउन सकेमा मात्रै समस्याको दीर्घकालीन समाधान हुने भएकाले आफूहरु त्यसका लागि छलफलमा रहेको बताउनुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…