• काठमाडौँ, ५ जेठ  : भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि यी युवाको गायक बन्ने चाहनाले छोडेन । 

    आफ्नो चाहनालाई सपनाकै रुपमा लिए र निरन्तर अघि बढे । सायद त्यही मेहनतको प्रतिफल यतिबेला ‘मेरो भ्वाइस युनिभर्स’मा प्रतियोगीका रूपमा उनीहरु प्रतिस्पर्धामा छन् । पूर्वी नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुगेर पनि नेपाली कला र संस्कृति नछोडेका उनीहरु यतिखेर काठमाडौँमा जारी सो प्रतियोगिताका सहभागी छन् । नेपाली गीतसङ्गीत र नृत्यलाई आफ्नो सपना बनाएका उनीहरु अहिले खुसी छन् । 

    नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा अडिसनदेखि पछिल्लो समयसम्मको यात्रा तय गर्दा सपना झैँ लागेको छ, राजेश सुब्बालाई । उहाँ गायनसँगै गितार बजाउन खप्पिस हुनुहुन्छ । “पहिलो पटक साथीहरूसँग मिलेर मजदुरी गरेर गितार किनेको थिएँ । शिविरमा हुँदासमेत समय निकालेर नै साधना गर्ने गरेको थिएँ । आर्थिक अभावले धेरै सपना बाहिर निस्किन पाएका थिएनन्”, सुब्बाले भन्नुभयो । उहाँ अमेरिकामा भएको अडिसनमार्फत छानिएर नेपाल आउनुभएको हो । 

    यो यात्राको त उहाँले कल्पनासमेत गर्नुभएको थिएन । शिविरमा छँदा गायनमा धेरै रहर भए पनि परिचय अभावले उहाँलाई अगाडि बढ्न दिएको थिएन । “मसँग राष्ट्रियता थिएन । त्यसैले गर्दा शिविर बाहिर हुने गतिविधिमा सहजै सहभागी हुने अवसर मिल्दैनथ्यो । तर पनि आफ्नो सपनालाई निरन्तरता दिएँ”, उहाँले भन्नुभयो । अमेरिकामा आफ्नै व्यावसाय गरिरहनुभएका सुब्बाले दैनिक केही घण्टा सङ्गीत साधनालाई छुट्याउनुभएको छ । जतिसुकै काम गरेर फर्किए पनि उहाँको त्यो दैनिकी नै बनिसकेको छ । 

    शिविरमा रहँदा सुब्बाभन्दा केही सहज थियो तारा तिवारीलाई । “आर्थिक अभाव नभएको होइन । तर रहर त्याग्नुपर्ने अवस्था पनि थिएन । मैले जिल्लासम्म पुगेर साङ्गीतिक कार्यक्रममा सहभागिता जनाएको छु”, तिवारीले भन्नुभयो । उहाँ पनि सुब्बा झैँ गायनमा सुखदुःखको यात्रा गर्दै अहिले ‘रियालिटी शो’सम्म आइपुग्नुभएको छ ।  

    उहाँहरूभन्दा उमेरमा पाको हुनुहुन्छ जीवन गुरुङ । बाल्यकालदेखि क्यासेट सुनेर गुनगुनाउन थाल्नुभएका गुरुङ त्यही क्रममा गायनसँग नजिकिनुभयो । रेडियो र क्यासेटमा गीत सुनेर आफ्नो गुनगुनाउने कलालाई गायनमा बदल्नुभयो । गुरुङ अहिले पनि प्रतिस्पर्धामा हुनुहुन्छ । “गायनसँग रहरमै भए पनि धेरै वर्षसम्म सम्बन्ध जोडिएको छ । त्यही सम्बन्धले अमेरिकाबाट नेपाल ल्यायो”, गुरुङले भन्नुभयो ।

    गुरुङ झैँ बाल्यकालमा पनि गीत सङ्गीतमै हुर्किने वातावरण पाउनुभयो टेक दूतराजले पनि । शिविरमा रहँदा आर्थिक अभावका कारण गीत सुन्नसमेत सङ्घर्ष गर्नुपथ्र्याे । नयाँ ठाउँ भएकाले सहजै शिविर बाहिर जाने अवस्था थिएन । “एउटा क्यासेट पाएपछि त्यहीँ गीत सुनेर बारम्बार गाउने गर्थेँ । अरू साथी पनि यस्तै गर्थे । पछिपछि सेवासुविधा थपिए । गायनको कक्षासमेत हुन्थ्यो तर आर्थिक अभावका कारण काममा जानु पथ्र्याे”, दूतराजले भन्नुभयो ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…