ढोरपाटन, १५ फागुन : साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन । विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन सकेको छैन ।
निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम नगर्दा यहाँका स्थानीय मर्कामा परेका छन् । यस खण्डअन्तर्गत पर्ने २५ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर मात्रै कालोपत्र भएको छ । वर्षौँदेखि सडक कालोपत्र नहुँदा सडक वरपरका स्थानीय र यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्दै आएका छन् । सडकको काठेखोला गाउँपालिका–५ र ६ का दर्जनौँ स्थानीय विस्थापितसमेत भएका छन् ।
विसं २०७३ मा सम्झौता गरेर कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको लोकमार्ग कार्यालयले जनाएको छ । कार्यालयका अनुसार माथिल्लो बिहुँ खण्डमा कालोपत्र गर्न एपिएस सिएफ इसिसी जेवी र तल्लो खण्डको भरत सिद्धिशाही जेभीले जिम्मा लिएको थियो ।
माथिल्लो खण्डमा काम गर्ने म्याद असार ५ गते र तल्लो अक्षते खण्डको असार २० गतेसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनी बेला–बेला सम्पर्कविहीन हुँदा काम हुनसकेको छैन । सडकमा काम गर्ने मजदुर र उपकरण निकै न्यून हुँदा असार अन्तिमसम्म काम सक्ने सम्भावना नरहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इञ्जिनीयर पवन सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार तल्लो खण्ड अन्तर्गत बागलुङ बजारदेखि अक्षतेसम्म कालोपत्र गर्ने र सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने काम भएको छ । “घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक भने एक दशक पहिलेनै कालोपत्रे भएको थियो । बाढीपहिरोका कारण उक्त खण्डमा अहिले मर्मत सम्भार हुँदैछ । मर्मतको काम तीव्र रुपमा भइरहेको छ”, उहाँले भन्नुभयो ।
इञ्जिनीयर सुवेदीले काम गर्नका लागि निर्माण व्यवसायीलाई ताकेदा गरे पनि अटेरी गरिरहेको बताउनुभयो । निर्माण व्यवसायीले काम नगर्दा यात्रुले दुःख पाउनुका साथै आफूहरुलाई पनि समय–समयमा दबाव आइराख्ने उहाँको भनाइ थियो ।
हालसम्म निर्माण कम्पनीले पाँच पटक म्याद थपेको इञ्जिनीयर सुवेदीले बताउनुभयो । गत पुसमा निर्माण कम्पनी सम्पर्कविहीन भएको र कार्यालयले ठेक्का किन नछोड्ने भनि सूचना प्रकाशन गरेपछि सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । त्यस बेला काम सुरु गर्ने भने पनि अहिलेसम्म कामलाई निरन्तरता दिन नसकेको भन्दै असार २० गतेसम्म काम सम्पन्न नभए ठेक्का सम्झौता रोक्ने र विकल्प खोजिने सुवेदीले बताउनुभयो ।
“निर्माण कम्पनीका कारण सबैलाई समस्या भएको छ, यतिका समय भयो ठेक्का सम्झौता भएको, तर काम हुँदैन, कार्यालयबाट हुने जति सबै सहयोग गरेका छौँ, काम गरे जतिको भुक्तानी पनि भएको छ, तर काम हुँदैन,” उहाँले भन्नुभयो । इञ्जिनीयर सुवेदीका अनुसार हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । तल्लो खण्ड आठ किलोमिटर र माथिल्लो छ किलोमिटर सडकमा काम भएको इञ्जिनीयर सुवेदीले बताउनुभयो । “म्याद हुँदाहुँदै ठेक्का तोड्न लागियो भने निर्माण कम्पनीले अदातलमा मुद्दा हाल्ने सम्भावना भएकाले म्याद सम्म पर्खनु पर्नेछ । म्याद सकियो भने बोलपत्रबाट नयाँ प्रक्रिया अगाडि बढ्छ, असारको २० गतेसम्म काम सक्ने सम्भावना कम छ”, उहाँले जानकारी दिनुभयो ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        