• चितवन, १६ जेठ : कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्थ सिटी’ का रुपमा विकास भएको छ । 

        पहाडी क्षेत्रबाट बाध्यताले झर्ने चितवन अहिले उपचारका लागि आउने थलो रुपमा विकास हुँदै गएको छ । विसं २०१४ मा डिस्पेन्सरीका रुपमा हालको भरतपुर अस्पताल भएको ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सुरु भएपछि पछिल्लो १५ वर्षमा आमूल परिवर्तन भएको छ । 

        यहाँ क्यान्सर, आँखा, अङ्ग प्रत्यारोपण सहितका अति विशिष्टीकृत सेवासहित ६ हजार हाराहारी क्षमता शय्याका अस्पताल सञ्चालनमा छन् । छ सय शय्याको सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल, आँखा अस्पताल र २३ वटा निजी अस्पतालले सेवा दिइरहेका छन् । 
     
        देशैभर र भारतीय सीमा क्षेत्रबाट समेत यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । पछिल्लो समय थपिएका सेवा सुविधाका कारण नेपालमा हुने सबै खालका उपचार यहाँ हुने गरेका छन् । छिमेकी मुलुक भारतका दिल्ली, मुम्बई जस्ता सहरमा जाने बिरामीसमेत पछिल्ला वर्षहरुमा यही उपचार गर्न थालेको चिकित्सकहरु बताउँछन् ।
     
        निजी र सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । जिल्लाको भरतपुर क्षेत्रमा अधिकांश स्वास्थ्य संस्था छन् । यहाँ रहेको सरकारी भरतपुर अस्पतालमा सधैँ बिरामी भरिभराउ हुन्छन् भने वरिपरि रहेका दुई मेडिकल कलेज र निजी अस्पतालहरुमा पनि बिरामीको चाप उत्तिकै छ ।
     
        विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा छिमेकी देश भारत र बङ्गालादेशबाट समेत बिरामी आउने गरेका छन् । त्यहाँको चापलाई निजी स्तरमा रहेको चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युटले कम गर्ने गरेको छ ।
     
        आँखा उपचारमा पनि भरतपुर आँखा अस्पताल नेपालकै अब्बल बनेको छ । देशका विभिन्न क्षेत्रसँगै भारतीय भूभागबाट समेत यहाँ आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । बढ्दो बिरामीको चापसँगै निजी क्षेत्रले समेत अत्याधुनिक उपकरणहरु भित्र्याएका छन् । कतिपय उपकरण विश्वका धनी मुलुकमा प्रयोग हुनेभन्दा कम छैनन् । विशिष्टीकृत अध्ययन हासिल गरेका धेरै चिकित्सक अहिले जिल्लामा कार्यरत छन् ।
     
        चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने विगतको तुलनामा पछिल्ला वर्षहरुमा स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको बताउनुहुन्छ । आम नागरिक शिक्षितसँगै संसारका बारेमा बुझ्न थालेपछि स्वास्थ्य क्षेत्रमा पनि उनीहरुको चासो बढ्दै गएको भन्दै उहाँले आवश्यकताले पनि स्वास्थ्य क्षेत्रमा थप सुधार ल्याउन प्रेरित गरेको बताउनुभयो । बिरामीहरु बुझ्ने भएसँगै उपचार गर्ने चिकित्सक स्वास्थ्यकर्मीहरुले अध्ययन गर्न थालेको र उपचार राम्रो बन्दै गएको उहाँले बताउनुभयो ।
     
        पछिल्ला वर्षहरुमा सिटिस्क्यान, एमआरआई जस्ता उपकरणहरु भित्रिएसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको उपचार यहाँ हुन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा हुने सबै खालका उपचार चितवनमा सम्भव छ ।”
     
        नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्के गएको १५ वर्षमा आँखा उपचारका क्षेत्रमा ठूलो फड्को मारेको बताउनुहुन्छ । चितवन र छिमेकी जिल्लासँगै भारतका समेत बिरामी आँखा उपचारका लागि भरतपुर आँखा अस्पताल आउने गरेको उहाँको भनाइ छ । नेपालमा हुने सबै खालका आँखा उपचार गर्न सक्ने गरी आवश्यक जनशक्ति र उपकरण यही समयमा यहाँ भित्रिएको मास्केको भनाइ छ । उहाँले भन्नुभयो, “देशभित्र हुने सबै खालका उपचार गर्न हामी सक्षम छौँ ।”
     
        भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल गणतन्त्रपछि जिल्लामा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको बताउनुहुन्छ । भरतपुरमा रहेको भरतपुर अस्पताललाई सङ्घीय अस्पताल बनाइएको, शिक्षक अस्पताल भरतपुरमै बन्ने तयारीमा रहेको, एक सय शय्याको आयुर्वेदिक अस्पताल यही बन्न लागेको, महानगरपालिका एक वडा एक स्वास्थ्य केन्द्र नीति अघि बढाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “राजधानीपछिको स्वास्थ्य उपचारको केन्द्र भरतपुर बनेको छ ।”
     
        सरकार र निजी क्षेत्रले सँगसँगै यहाँको स्वास्थ्य क्षेत्रको विकासमा अघि बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “देशभित्र हुने उपचारका लागि भरतपुर छोडेर अन्यत्र जानु पर्दैन ।” चितवनसहित छिमेकका धेरै जिल्ला र भारतीय क्षेत्रबाट समेत उपचारका लागि बिरामी आउने गरेको दाहालले बताउनुभयो । यहाँको सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन महानगर लागिपरेको उहाँले जानकारी दिनुभयो । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …