•  काठमाडौँ, ३१ जेठ: स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔँ’ भन्ने नारा तय गरेको छ । हरेक वर्ष कुनै न कुनै देशको प्रमुख आयोजनामा मनाइने यो दिवस यसपटक अल्जेरियामा भव्यरूपमा मनाइँदैछ । दक्षिण अफ्रिकी राष्ट्र जोहन्सबर्गमा पहिलोपटक आयोजना गरिएको यो दिवसले बीसौँ वसन्त पार गर्दैछ ।

    डा कार्ल ल्याण्डस्टिनरको जन्मदिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ । कारण हाम्रो शरीरको नाशा–नशामा निरन्तर निर्विकल्प प्रवाह भइरहने रगतको समूह पत्ता लगाउने वैज्ञानिकको सम्मानस्वरूप विश्व रक्तदाता दिवस भनी मनाउन थालिएको हो । उनले हाम्रो शरीरमा मुख्यतः चार किसिमका रक्त समूह हुन्छ भनी पत्ता लगाएका थिए । यसमा धनात्मक समूहमा ए पोजिटिभ, बी पोजिटिभ,  एबी र ओ पोजिटिभ तथा ऋणात्मक समूहमा ए नेगेटिभ, बी नेगेटिभ, एबी नेगेटिभ र ओ नेगेटिभ रहेको छ । अहिले संसारभर पाँच सयभन्दा बढी रक्त समूह छन् भनी वर्गीकरण गरिएको पनि छ ।

    सुरुमा नेपालमा रक्त सञ्चार सेवा क्षेत्रमा एक सय ५७ जनाले रक्तदान गर्नुभएको थियो । तत्कालीन अवस्थामा स्वयंसेवी रक्तदाताको सङ्ख्या नगण्य मात्रामा थियो । आज यो सङ्ख्या तीन लाखभन्दा माथि पुगिसकेको छ । आव २०३८÷३९ सम्म पेशेवर रगत दिने व्यक्तिहरूको बिगबिगीलाई सोही समयदेखि नै हामी स्वयंसेवी रक्तदाताहरूको विशेष पहलमा आफ्नो शरीरको रगत बेच्ने त्यस्ता पेशेवरहरूलाई पूर्णतः विस्थापित गरेर अहिले स्वयंसेवी रक्तदाताहरूबाट मात्र रक्तदान गर्न, गराउन सफल भएका छौँ । तर विडम्बना नेपाल सरकारले जारी गरेको राष्ट्रिय रक्त सञ्चार सेवाको नीतिले निजी क्षेत्रलाई सहभागी बनाउने सन्दर्भमा स्वयंसेवी रक्तदाताहरूको रगतलाई खुल्लम्खुला बिल बिजक काटी व्यापार गर्न दिइरहेको छ । यसले गर्दा स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगतमा पनि व्यापार गर र कमाउ भन्ने सन्देश दिएको छ । यसले गर्दा अहिले अनेक विकृति देखिएको छ ।

    प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ भन्ने यो आह्वानसहित अवधारणापत्र तयार गरिएको छ । यस अभियानलाई 'Start 18 Stars TeamÚ'   नामकरण गरिएको छ । यसमा ‘म रक्तदान गर्नेछु, मैले रक्तदान गर्न सुरू गरेँ, नियमित रक्तदान सामाजिक दायित्व हो’ भन्ने भावना राखिएको छ । उच्च माध्यमिक विद्यालय पढ्दै गरेका वा सो सरह उमेरका स्वस्थ युवायुवतीलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो १८औँ वर्षको जन्मोत्सव रक्तदान गरी मनाउन प्रोत्साहित गर्नु यो अवधारणाको प्रमुख उद्देश्य हो । यसरी आफ्नो १८औँ वर्षको जन्मदिन रक्तदान गरी मनाउँदै प्रत्येक तीन-तीन महिनाको अन्तरालमा नियमित रक्तदान गर्दै रगत र रक्त–तत्वको आपूर्तिमा सहज बनाउन योगदान पुर्याउनु यस अभियानको मुख्य लक्ष्य रहेको छ ।

    स्थानीयस्तरमा उच्च माध्यमिक बिद्यालय र सो सरह उमेर पुगेका युवायुवतीहरूलाई सङ्गठित गर्दै रक्तदान कार्यलाई प्रभाकारी ढङ्गबाट समाजमा सञ्चालन गर्नु यो अभियानको प्रमुख उद्देश्य रहेको छ । यसले नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको सङ्ख्यामा वृद्धि हुने क्रम बढ्ने विश्वास लिएको छ । यदि कोही पनि १७ वर्ष पूरा गरी १८ वर्ष पुगेर आफ्नो जन्मदिन रक्तदान गरी मनाउन चाहेमा घरमै गएर परिवारजन आफन्त र साथीभाइहरूबीच रक्तदान गराउने व्यवस्था मिलाइएको छ ।

    हामी स्वयंसेवी रक्तदाताहरू नै स्वयंसेवी तबरले देशैभर नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको सङ्ख्यामा वृद्धि गर्न जुटिरहेका छौँ । फलस्वरूप रक्त व्यवस्थापनमा सहजता मिलिरहेको छ । यो नै दीर्घकालीन समाधान पनि होइन । सरकारी पक्षले रक्त व्यवस्थापनमा गुरुयोजना नै बनाएर कार्यान्वयन गर्न आवश्यक छ । स्वयंसेवी रक्तदाताहरूको प्रत्यक्ष संलग्नतामा यस क्षेत्रको योजना तर्जुमा गर्न सकेमा भविष्यमा प्रभावकारी सेवा प्रवाह गर्न सक्नेमा दुईमत नहोला ।

    यो वर्षको रगत र प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने काममा ऐक्यबद्ध होऔँ भन्ने नारा  नाराबाट सहजै बुझ्न सकिन्छ कि विज्ञानले उपचारका क्रममा केवल रगतमात्र होइन, रगतबाट तयार पारिएका रक्त–तत्वहरूको याथोचित प्रयोग हुन आवश्यक छ भन्ने पुष्टि गर्दछ । विगतमा महामारीका रूपमा संसारभर फैलिएको कोभिड–१९ को समयमा कोरोना भाइरस, कोभिड–१९ बाट सङ्क्रमित भएका बिरामीलाई उपचारका क्रममा प्लाज्मा थेरापीद्वारा गरिने उपचारमा अत्यधिक प्लाज्माको माग भएको थियो । यसअन्तर्गत पहिलेझैँ साधारण रक्तदाताबाट दान गरिएको रगतबाट तयार पारिने प्लाज्मा होइन, कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्यलाभ गरिसकेका व्यक्तिहरूबाट रगत दान गराई सङ्कलन गरिएको रगतबाट तयार पारिएको प्लाज्मा मात्र चढाउनुपर्ने हुन्थ्यो । यसरी समयसापेक्ष आवश्यकतानुसार चिकित्सकहरूको मागलाई हामी स्वयंसेवी रक्तदाताहरूबाटै व्यवस्थापन गर्दै आइरहेका छौँ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…