•  सुर्खेत, ६ असार : “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो पोख्नुहुन्छ । विक र कुमालको दैनिकी खानेपानीको लाइनमै बित्छ । 

        बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एक गाग्री पानी भर्न दिउँसो ३ बजे पालो आउँछ । सोलिघोप्टे गैराबाट पाइपबाट ल्याएको सानो पानीमा एक गाग्री पानी भरिन आधा घण्टा लाग्छ । वीरेन्द्रनगर नगरपालिकाको झुप्रा खोलाबाट वितरण हुने खानेपानीको धारामा १० दिनसम्म पानी आउँदैन । प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ । 

        पानीका मुहानहरू खडेरीले सुक्दै जानु, अव्यवस्थित विकास र अन्य प्राकृतिक प्रकोपहरूका कारण पनि खानेपानीको समस्या सिर्जना भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनिषा थापा स्थानीय सरस्वती माविमा कक्षा ५ मा पढ्नुहुन्छ । विद्यालय समयमै पुग्न उहाँलाई सधैँ कठिन हुन्छ । कारण, खानेपानी समस्या । बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उहाँलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दा नै १० बज्छ । 

        पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ । धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन् । पालो पाउनै सधैँ सबैलाई मुस्किल पर्छ । मनिषा भन्छिन्, “कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु । हातमुख नधोएरै स्कुल गएको छु ।” गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको उहाँको भनाइ छ । प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ । 

        वीरेन्द्रनगरका वडा नं १ देखि १२ सम्म खानेपानीको समस्या छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका सूचना अधिकारी डोरप्रसाद उपाध्यायले वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान भेरीको पानी पम्पिङ गरेर नल्याएसम्म समाधान गर्न सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वीरेन्द्रनगरका साथै जिल्लाका अन्य पालिकामा पनि खानेपानीको समस्या छ । समस्या समाधानका लागि स्थानीय पालिकासँग समन्वय गरेर कामहरू भइरहेका छन् ।”
    भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ । सङ्घीय सरकारले अघिल्लो वर्ष रु दुई करोड र गत आर्थिक वर्ष रु छ करोड छुट्याएको थियो । गत वर्ष प्रदेश सरकारले छुट्याएको रु ५० करोड कामै नभई फिर्ता गएको थियो । गर्मी समय सुरु भएसँगै कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका नागरिकहरु अहिले खानेपानीको चरम अभावमा छन् । बजारवासीहरूले गाडीमा पिउने पानी ओसार्ने गरेका छन् ।

        वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार मात्रामा पानी आपूर्ति गर्न सकिरहेको छैन । वीरेन्द्रनगर–९ मा धारामा १५–१६ दिनमा एक घण्टामात्र पानी आउने गरेको छ । कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको स्थानीयवासी विनोद गुरुङले बताउनुभयो । 

        गाउँमा रहेको एउटा कुवाले एक–दुई टोललाई जेनतेन धानेको छ । वडाले खानेपानीको समस्या समाधान गर्न दुईवटा डिप बोरिङ खनेको थियो । ती बोरिङसमेत सञ्चालनमा आउन सकेका छैनन् । वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवालाई मर्मत गर्ने, स–साना खानेपानीका मुहानको मर्मत गर्न थालिएको वडाध्यक्ष कृृषि गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ प्रयोगमा छैनन् । एउटा नयाँ बोरिङ सञ्चालनमा ल्याउँदैछौँ ।” वीरेन्द्रनगरमा एक सय २० घण्टामा एक पटक पानी वितरण गर्ने सुर्खेत उपत्यका खानेपानी संस्थाको तालिका छ । उपभोक्ता भने तालिकाअनुसार पानी नआएको बताउँछन् । 

        जनसङ्ख्याले वृद्धिले थप समस्या

        प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसङ्ख्या बढ्दो क्रममा छ । अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ । मागअनुसार खानेपानी पु¥याउन नसकिएको उहाँले बताउनुभयो । मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण भइरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको सङ्ख्या बढेको छ । प्रदेशको राजधानी बनेपछि झन् जनसङ्ख्या बढेको छ ।” 

        वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट एक सय ५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइएको संस्थाका प्रमुख गौतमले जानकारी दिएका छन् । यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको छ ।

        सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि दुई लाख जनसङ्ख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । उक्त जनसङ्ख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब दुई सय ७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्दथ्यो । संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट एक सय २८ लिटर प्रतिसेकेन्ड पानीमात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो । हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएकामा यस वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ । अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…