•  बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् । 

    यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । असारको पहिलो सातादेखिनै ताराखोलाका किसानले आलु भित्र्यउन थालेको गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी किसान दिलकुमारी पुनले बताउनुभयो । 

    यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । “अर्मपर्म गरेर आलु खन्ने काम भइरहेको छ, एक दिनमा एउटा मात्रै बारीको पाटो खनेर सकिन्छ,” उहाँले भन्नुभयो, “यस वर्ष आलु राम्रो फलेको छ ।” आलुको फसल लिँदै गरेका किसान खुसी छन् । यहाँ उत्पादन भएको आलु देशका अधिकांश सहरमा पुगे पनि किसानको हातमा भने मूल्य कम आउने गरेको पुनको गुनासो छ । 

    ताराखोलाको आलुको अहिले गण्डकी प्रदेश मात्रै होइन्, देशको ठूलो सहर काठमाडौँमासमेत चर्चित छ  । किसानको मुख्य आम्दानीको रूपमा रहेको आलुको माग बढेसँगै आलुखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । 

    यस गाउँपालिकामा गत वर्ष मात्र रु सात लाख १२ हजार पाँच सय ६८ किलो आलु उत्पादन भएको कृषि शाखाको तथ्याङ्क छ । यो वर्ष उत्पादन अझै बढ्ने अपेक्षा छ । आलुका लागि बजार सजिलै पाइने भएकोले किसानले हरेक वर्ष आलु उत्पादन बढाउने प्रयास गरेको ताराखोला–५ वडाध्यक्ष मनबहादुर रोकाले बताउनुभयो ।

    यहाँका किसानले घरमा आएका पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउनेसमेत गर्छन् । पछिल्लो समय किसानले आलुको बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । 

    खाद्यान्नबाली कम फल्ने भएकाले यहाँका किसानले आलुको बिक्रीबाट आएको पैसाले खाद्यान्न खरिद गरेर गर्जो टार्नाका साथै बँचेको पैसाले घरखर्च पनि चलाउँछन् । 
    आलुबाट चिप्स बनाउने उद्योग पनि ताराखोलामा केही वर्ष अघिदेखि सञ्चालनमा छ । उक्त उद्योगलाई व्यवस्थित गरेर लैजान र किसानलाई व्यावसायिक बनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताउनुभयो । 

    ढोरपाटन नगरपालिकाको ढोर, काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनीको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रिवन पनि आलुका लागि प्रख्यात ठाउँ हुन् । ताराखोलाको आलु प्रतिकिलो रु ४०  र एक पाथीको रु दुई सयमा बिक्री हुँदै आएको स्थानीय किसान शर्मिला रोका मगरले बताउनुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…