•  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान थप सशक्त रुपमा अघि बढ्ने स्पष्ट पार्नुभएको छ । 
        
        प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवम् उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै प्रधानमन्त्री दाहालले उच्चपदस्थ व्यक्तिहरु कानुनको दायराभन्दा माथि छन् भन्ने आम मानिसमा विकासित हुँदै गएको धारणा चिर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

        प्रधानमन्त्री दाहालले आफ्नो पछिल्लो छ महिनाको कार्यकालले जनतामा लोकतान्त्रिक व्यवस्थाप्रति भरोसा जगाएको बताएकाले यसलाई उपलब्धी मानेको बताउनुभयो । “मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति निराशा, असन्तोष र आवेग थियो । अहिले त्यसमा सुधार भएको छ । र, जनतामा सरकारप्रति भरोसा जागेको छ”, उहाँले भन्नुभयो ।

        नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धान र कारबाहीपछि जनतामा सरकारप्रति विश्वास जागेको उहाँको भनाइ छ । उक्त प्रकरणमाथिको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चता स्थापित गर्न सफल भएको पनि उहाँको दाबी छ ।     लोकतन्त्रभित्र देखापरेका समस्या पनि लोकतान्त्रिक प्रक्रियाबाटै समाधान गर्न सकिन्छ भन्ने मानक स्थापित गर्नेगरी सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

        “यस प्रकरणको सफल अनुसन्धानसँगै अब लोकतान्त्रिक विधिको स्थापना र भ्रष्टाचारविरुद्धको शुद्धीकरण पनि सुरु भएको छ, यो शुद्धीकरण यत्तिमै रोकिनेछैन, निरन्तर अगाडि बढ्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अघि बढ्नेछ ।”

        मङ्गलबारदेखि ललिता निवास जग्गा प्रकरणमा संलग्नलाई पक्राउ पर्न सुरु गरेको तथा सहकारी र लघुवित्तमा ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ । सरकार सुशासनको पक्षमा लडिरहेको र यो लडाइँमा सरकारलाई नागरिक र संसद्को साथ आवश्यक रहेको उहाँको भनाइ छ ।

        आफू सरकारको नेतृत्वमा आउने समयमा मुलुकले गम्भीर आर्थिक सङ्कटमा परेको र मुलुकको अवस्था श्रीलङ्का जस्तै हुन्छ भन्ने भाष्य स्थापित भइरहेको सन्दर्भ जोड्दै उहाँले त्यसमा सुधार भएको बताउनुभयो । उहाँले अहिले सबैजसो आर्थिक सूचकहरु सकारात्मक रहेको भनाइ राख्नुभयो । अहिले कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भएर नेपालले नौ दशमलव सात महिनाको वस्तु तथा सेवा धान्नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

        त्यस्तै, कूल वस्तु व्यापार घाटा १५ दशमलव दुई प्रतिशतले घटेको, विप्रेषण उल्लेखनीय रुपमा बढेको, गत वर्षको तुलनामा पर्यटक आगमन सङ्ख्या दोब्बरले बढेको, बैंकदर र ब्याजदर घट्दै गएको, वित्तीय स्थायित्व र लगानीको वातावरणमा सुधार आएको, राजस्व चुहावट नियन्त्रणमा उल्लेख्य सुधार भएको, दुई सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरण नाफामा गएको र नेपाल वायुसेवा निगमको आर्थिक अवस्था सुधारोन्मुख रहेको प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराउनुभयो ।

        पछिल्लो छ महिनामा रु ३५ अर्ब वैदेशिक सहायता परिचालनका लागि सम्झौता भएको तथा उद्योग क्षेत्रमा करिब रु ३५ अर्ब लगानी र १५ हजार रोजगारी सिर्जना गर्नेगरी वैदेशिक लगानी आएको उहाँको भनाइ छ । यसअवधिमा उत्तरी नाकातर्फ रसुवा, हिल्सा र कोदारीका भन्सार कार्यालय सञ्चालनमा आएको प्रधानमन्त्रीले बताउनुभयो ।

        अर्थतन्त्रलाई फराकिलो, दिगो र समावेशी बनाउँदै आर्थिक वृद्धि, गुणस्तरीय सामाजिक विकास, सामाजिक सुरक्षा र न्यायको प्रत्याभूति, समष्टिगत आर्थिक स्थायित्व, सङ्घीयताको सबलीकरण र सुशासनको उद्देश्यसहित अहिलेको बजेट आएको उहाँको भनाइ छ ।

        आगामी आर्थिक वर्ष आर्थिक र सामाजिक पूर्वाधार निर्माण भई उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने आधार तयार भएको पनि प्रधानमन्त्री दाहालको दाबी छ । 

        “राष्ट्रिय प्रणालीमा चार सय आठ मेगावाट बिजुली थपिएर विद्युत्मा पहुँच बढ्दै गएको छ । १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेगरी भारतसँग प्रारम्भिक सम्झौता भएको छ भने नेपाल–भारत र बङ्गलादेशबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता हुनेक्रममा रहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।  उहाँले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको सेवा प्रवाहमा गुणात्मक सुधार गर्न आन्तरिक सुधार सुझाव कार्यदलहरू गठन भई अध्ययन चलिरहेको बताउनुभयो । 

        प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणमा विद्युत् उत्पादन कम्पनी लिमिटेड र नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसनबीच चार सय ४० मेगावाट उत्पादन क्षमताको फुकोट कर्णाली आयोजना विकास गर्न समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…