•  भरतपुर, २० असार  
     जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबास (होमस्टे)मा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन् ।

    माडी नगरपालिका–१ वनकट्टा बोटे टोलमा आउने पर्यटकलाई यहाँका बोटे समुदायले आफ्नो संस्कृतिअनुसार ‘बिन्ती बाटी’ (मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर पाहुनालाई स्वागत गर्दछन् । घरबास सञ्चालन गरेपछि उनीहरुलाई बिन्ती बाटीसँगै बोटे होमस्टेमा आउने पाहुनाको स्वागत गर्न भ्याइनभ्याई छ ।

    माडी नगरपालिका–१ की रीताले बोटे हिजोआज कामका लागि खोलानाला र वनजङ्गल जानु नपरेको बताउनुभयो । घरबासमा आउने पाहुनाको स्वागत, सत्कार र मीठा परिकार बनाउने काममा दैनिकी बित्ने गरेको भन्दै उहाँले अब दुःखका दिन क्रमशः हट्दै गएको बताउनुभयो । “गुजारा चलाउनका लागि माछा मार्न जाने, जङ्गलमा घाँस–दाउरा खोज्ने र निहुरो टिप्ने काम गर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण परिवारसहितको जीवन चलाउन धौ–धौ थियो, घरबास सञ्चालनमा आएपछि अहिले जीविकोपार्जनमा सहज भएको छ ।”

    रीताको मात्र होइन गाउँका अन्य महिलाको पनि अहिले घरबासको व्यवस्थापन र पाहुनाको स्वागतसत्कारमा दैनिकी बित्ने गरेको छ । बोटे टोलका फुलमाया बोटेले घरबास सञ्चालनबाट आएको रकमले जीवनमा परिवर्तन ल्याएको बताउनुभयो । “यहाँबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउनेलगायत काममा खर्च गर्न धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।
     
    बोटे सामुदायिक होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले विसं २०७५ मा निर्माण सुरु गरेर विसं २०७७ देखि घरबास सञ्चालनमा ल्याएको बताउनुभयो । “चितवन राष्ट्रिय निकुञ्जले जनचेतनामूलक कार्यक्रम गरेपछि घरबास निर्माणमा लागेका हौँ”, उहाँले भन्नुभयो, “पहिला वन्यजन्तुबाट पीडित बनेका हामी अहिले वन्यजन्तु देखाएर पर्यटक भित्र्याउने गरेका छौँ ।” उहाँले निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत दिगो जीविकोपार्जनसम्बन्धी तालिम लिएको घरबास सञ्चालन गरिएको जानकारी दिनुभयो । 

    माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट एक हजार पाँच सय मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक घरबास पुगिन्छ । घरबास बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल)ले आर्थिक सहयोग गरेका छन् । रू १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुईकोठे होमस्टे बनाइएको छ । सो क्षेत्रमा १२ वटा होमस्टे सञ्चालित छन् । 

    यहाँका होमस्टेमा एक रातमा ६० जनासम्म अटाउने कोषाध्यक्ष जगनारायणले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ आउने पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादन साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखाजस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकार खुवाउने गर्दछन् । 

    “होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगानलगायत सांस्कृतिक कार्यक्रम हुन्छ । सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारुनीलगायत कला र नाच प्रदर्शन गरिन्छ”, जगनारायणले भन्नुभयो । उहाँका अनुसार जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाँच हुन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…