रामपुर (पाल्पा), २ साउन
पाल्पा रामपुरका यमबहादुर समालले कराते खेल्न थालेको आठ वर्ष भयो । उहाँलाई सानैदेखि कराते खेल्न रुचि थियो । यही खेलमा केही गर्छु भन्ने मनसाय बनाएर खेल सुरु गर्नुभएका समालले आठ वर्षमा करातेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक चुम्नुभयो ।
दक्षिण कोरियामा हालै सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै समालले नेपाललाई स्वर्ण पदक दिलाउनुभयो । गत असार तेस्रो साता सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फको ६० किलो मुनिको तौल समूहमा समालले स्वर्ण पदक जित्नुभएको हो । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उहाँको यो दोस्रो सहभागिता थियो । पदक जितेर नेपाल फर्किनुभएका उहाँ औधी खुसी हुनुहुन्छ ।
समाल भर्खर २१ वर्षको हुनुभयो । सिनियर खेलाडीले करातेमा प्राप्त गरेको सफलताले आफूलाई हौस्याएको उहाँको भनाइ थियो । आफूले पनि कहिले स्वर्ण पदक प्राप्त गर्न सकिएला भन्ने समाललाई लागिरहन्थ्यो । खेलमा अथक मेहनत, लगनशीलता र अनुशासनबिना सफलता प्राप्त गर्न असम्भव नहुने उहाँले बताउनुभयो । आफूले खेलमा यिनै कुरालाई ख्याल गर्दै लागिपरेको अनुभव सुनाउनुभयो ।
“कराते खेलमा सानैदेखि रुचि थियो, यसमै समर्पित छु, सक्दो मेहनत गरिरहेको छु”, उहाँले भन्नुभयो, “कोरियामा प्राप्त गरेको उपलब्धि मेरो जीवनका लागि महत्वपूर्ण रह्यो, यसले खेलमा थप हौसला मिलेको छ ।”
पदक जितेर देशको झण्डा फहराउन पाउँदाको खुसी जीवनकै महत्वपूर्ण क्षण रहेको उहाँले बताउनुभयो । फाइनल खेलमा समालले भारतीय खेलाडीलाई आठका विरुद्ध शून्य अङ्कले पराजित गर्नुभएको थियो । अरू देशका खेलाडीका तुलनामा नेपाली खेलाडी आर्थिक तथा प्रशिक्षणको अभाव झेल्नुपरेको कुराले उहाँलाई दुःखी बनाएको छ । कोरियाको अनुभव प्राप्त गरेपछि सरकारले खेल र खेलाडीको भविष्य सुनिश्चितताका लागि धेरै गर्न बाँकी रहेको समालले बताउनुभयो ।
“बाहिरको खेलाडीको तुलनामा नेपालका खेलाडीलाई राज्यले सम्मान र सहयोगमा चासो दिँदैन, आफ्नै लगानीमा प्रतिस्पर्धा गरेर खेल्न खेलाडी बाध्य छन्, पर्याप्त आर्थिक रकम नहुँदा आफैँले लगानी गरेर खेल्न समस्या हुँदा राम्रा खेलाडी खेल क्षेत्रबाट विस्थापित हुनु परेको छ”, उहाँले दुखेसो पोख्नुभयो ।
रामपुर नगरपालिका–१ ठूलीबँेसी स्थायी घर भई हाल काठमाडौँमा अध्ययनसँगै खेलकुदमा लाग्नुभएका समालले करातेमा पाएको सफलतापछि यसमै ठूलो सपना बुन्नुभएको छ । कक्षा ३ सम्मको अध्ययन गाउँमै गर्नुुभएका उहाँ काठमाँडौँमा परिवारसँगै अध्ययन गर्न जानुभयो । काठमाडौँस्थित ह्वाइट हेभन एकेडेमीमा कक्षा ३ मा भर्ना भई अध्ययन सुरु गर्नुभएका उहाँले विद्यालयमा बिहान एक घण्टा कराते खेलमा सहभागी भएर सिक्न थाल्नुभयो । विद्यालयमै खेलकुदसम्बन्धी ज्ञान सिक्ने अवसरले उहाँलाई भविष्यमा राम्रो कराते खेलाडी नै बन्छु भन्ने प्रेरणा जागेको थियो ।
विद्यालयमा एक वर्षसम्म कराते सिक्नुभएका समालले परिवारको सहयोगमा विद्यालय समयबाहेक मनकामना डोजोमा आबद्ध भएर थप अभ्यास गर्नुभयो । नौ वर्षको उमेरदेखि नै कराते खेल्न थाल्नुभएका उहाँ अन्नतः भविष्यमा पनि यही विद्यामा लागेर देशको लागि खेल्ने र नाम चिनाउने अठोट बोकेर खेल्न थाल्नुभयो । खेलमा लगानी गर्न राज्य उदासीन बनेकामा उहाँले दुःख लागेको बताउनुभयो ।
समालले भविष्यमा स्थानीयस्तरमा कराते खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर भाइलाई पनि कराते खेल्न हौस्याउनुभएको छ । राज्यले खेलाडीको मनोबल वृद्धि गर्न र खेलाडीलाई रोजगारको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । उहाँका अनुसार स्वदेशमा खेल क्षेत्रमा लागेर बाँच्ने आधार नहुँदा खेलाडी विदेश पलायन हुनुपर्ने अवस्था छ । समालले स्थानीयस्तरसँगै विभिन्न स्थानमा भएका क्षेत्रीय, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउनुभएको छ । लगानी गरे नेपालले पनि खेलकुदमा उल्लेख प्रगति गर्न सक्ने उहाँको बुझाइ छ ।
पहिलो पटक समालले राष्ट्रियस्तरको करातेमा विसं २०७४ मा तेह्रथुममा प्रतिस्पर्धा गर्नुभयो । विसं २०७५ मा उहाँले बाग्लुङमा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको खेलमा सहभागिता हुनुभएको थियो । बाग्लुङमा विसं २०७६ मा भएको राष्ट्रियस्तरको प्रतियोगितामा समालले स्वर्ण पदक जित्नुभयो । यो उहाँको पहिलो पदक थियो । मलेसियाको क्वालालम्पुरमा भएको सातौँ केएल मेयर कपमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खेलमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नुभएका समालले बङ्गलादेश, मलेसिया र इन्डोनेसियाका खेलाडीसँग प्रतिस्पर्धा गर्दै रजत पदक प्राप्त गर्नुभयो । सन् २०२३ मा ललितपुरमा भएको सेकेण्ड कृष्णप्रसाद भट्टराई मेमोरियल नेसनल कराते च्याम्पियनशिपमा उहाँले कास्य पदक जित्नुभयो ।
दक्षिण कोरियामा स्वर्ण पदक जितेपछि समाललाई रामपुर नगरपालिकाले रू एक लाखसहित सम्मान गरेको छ । नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका बीच उहाँलाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्मान गर्नुभएको हो ।