साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित । तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ । 
ढोरपाटन नगरपालिका–२ खप्तरीबाङ बुर्तिबाङ बजार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको केन्द्रमा पर्ने हुँदा आयोजना कार्यालयले बसपार्क बनाउन यो ठाउँ रोजेको हो ।
लामो समयदेखि सास्ती खेप्दै आएका यातायात व्यवसायी, यात्रु र बुर्तिबाङ बजारवासीका लागि खप्तरीबाङमा बसपार्क बन्नु सुखद विषय त हो । तर, जोखिमयुक्त ठाउँमा बसपार्क निर्माण हुँदा भोली ठूला दुर्घटना निम्तिने खतरा पनि उत्तिकै छ । डेढदशक अगाडि सडकले बुर्तिबाङ बजार जोडिएसँगै पश्चिम बागलुङको मुहार फेरियो । तर अहिलेसम्म बसपार्क अभावमा अहिलेसम्म सास्तीनै छ । मध्यपहाडी लोकमार्ग नजिकै रहेको बुर्तिबाङ बजार १० नमुना सहर आयोजना अन्तरगत पर्छ । 
सरकारले नमुना सहर निर्माण गर्न थालेको वर्षौँ वितिसक्दा गत वर्षदेखि बल्ल बसपार्क निर्माणका काम थालनी भएको छ । बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधान सडकमै पार्किङ गर्नु पर्नेस्थिति छ । जिल्लाकै दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भूजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले साँघुरो बसपार्क छ । जहाँ १०÷१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकहरुले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्ने गरेको छ । 
त्यसमाथि स्थानीय व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ । नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङ जग्गा खरिद गरि बसपार्क निर्माण गरेपछि सहज हुने अपेक्षा गरेको भए पनि यहाँ पार्किङ गर्नका लागि उचित नहुने स्थानीय चन्द्रलाल अर्यालले बताउनुभयो । नदि किनारमा बसपार्क बनाउनु उपयुक्त नभएको भन्दै जग्गा खरिदनै खलत ठाउँमा भएको अर्याल बताउनुहुन्छ । जग्गा खरिद गर्ने समयमा स्थानीय तथा सर्वदलीय सर्वपक्षीय छलफल गर्नु पर्ने भए पनि सहरी विकास आयोजना र ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफू खुसी जग्गा खरिद गरेको बताउनुभयो ।
“अहिले जुन बसपार्क निर्माण भइरहेको ठाउँ छ, त्यो अत्यन्तै जोखिमयुक्त ठाउँमा छ, खोलाको छेउमा अहिले धमाधम संरचना निर्माण भएको त्यो संरचना कति बेला खोलामा बढी आएर बगाउँछ, थाहा छैन, बसपार्क बनेपछि यहाँ गाडी पार्किङ हुनेछन्,” अर्यालले भन्नुभयो – “बर्खाको समयमा त यहाँ पार्किङ कसरी गर्न सकिला र रु, अहिले पनि त्यहाँ पुगेर हेर्ने हो भने भूजीखोला उर्लिएर माथिमाथि आएको छ, कुनै पनि बेला बसपार्कमा पसेर ठूलो क्षति नपु¥याउला भन्न सकिन्न, यसमा बेलामाथि नै ध्यान दिनुपर्ने देखिन्छ, यदि त्यसो गरिएन भने भविष्यमा गम्भीर दुर्घटना नहोला भन्न सकिन्न ।”
अहिले बन्दै गरेको बसपार्क उपयुक्त स्थानमा नभएको हुँदा सरोकारवाला निकायले सुरक्षित स्थानमा निर्माण गर्नुपर्ने यातायात व्यवसायी युवराज छन्त्यालले बताउनुभयो । उहाँले बजारभन्दा टाढा र खोलाको नजिक हुँदा बर्खामा गाडीको सुरक्षा नहुनुको साथै यात्रु र गाडी चालकलाई बजार पुग्न समस्या हुने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “हिउँदको समयमा त ठिक हुन्छ, बर्खामा त यहाँ गाडी पार्किङ गर्न कसैले आँट गर्दैन होला, खोला उर्लिएरै माथि पुग्दोरहेछ, असुरक्षित ठाउँमा गाडी किन पार्किङ गर्ने, अर्को कुरा यो बसपार्क अपायक पर्ने ठाउँमा छ, गाउँ–गाउँ र काठामाडौँ पोखराबाट यात्रुलाई बसपार्कमा ल्याउनु प¥यो, बजार टाढा छ, उनीहरुलाई पुग्न गाह्रो हुन्छ, अझ बस्ने र खाजा खाने ठाउँ पनि छैन, सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।”
विसं २०६८ सालदेखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाई गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म जम्मा ५० प्रतिशत काम सकिएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रालिले पाएको छ ।  विसं २०७५ मा छ रोपनी जग्गा खरिद गरी विभिन्न प्रक्रिया पूरा गरेर बसपार्क बनाउन थालिएको उहाँको भनाइ छ । 
अहिले टर्मिनल भवन निर्माण भइसकेको र नदीमाथि तटबन्धन गरी जग्गा संरक्षण गरिरहेको अधिकारीले बताउनुभयो । बसपार्कमा ३० वटा जीप, २० वटा बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उहाँको भनाइ छ । टर्मिनल भवन तीन तलाको बनेको उहाँले बताउनुभयो । बसपार्क दुई करोड २६ लाख ४० हजार चार सय ३१ रुपैयाँमा बन्न थालेको हो । अब गाडी पार्किङका लागि ढलान गर्न, गेट निर्माण गर्न बाँकी रहेको अधिकारी बताउनुहुन्छ । बसपार्क निर्माणका लागि अघिल्लो वर्ष दुई करोड रुपैयाँ विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
“ठाउँमा जग्गा खोज्यौँ, बुर्तिबाङ बजारनै खोलासँग जोडिएको छ, मध्यपहाडी र बजारसँग जोडिएको हुँदा यहाँ बनाउन थालिएको हो, बसपार्क मध्यहाडी लोकमार्गभन्दा टाढा पनि किन्न मिल्दैन, बजारभन्दा टाढा पनि मिल्दैन, त्यसले गर्दा यहाँ बनाउन थालेका हौँ” अधिकारीले भन्नुभयो – “तटबन्धन गरेका छौँ जोखिम हुँदैन, अबको एक÷डेढवर्षमा सञ्चालनमा आउने छ ।”
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        