•  गण्डकी, ५ साउन  
                “नाम हो यिनको सेती सेतै छ यिनको जल ।
                नेपाली जनता राख्छन् कामले नाम गौरव ।।
                   दूधकी विश्वमा यौटी नदीको सिर्जना गरी ।
                पाए आशिक ब्रम्हाले बाँची राख्ने जुगौँभरि ।।”
        
        शुक्ला गण्डकी (सेती गण्डकी) को महिमा गान गरिएको कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘शुक्ला गण्डकी’ शीर्षकको कविताको पङ्क्ति हो यो । जनजीब्रोमा सेती नदीका रुपमा रहेको यस जलाशयलाई पूर्वीय धर्मशास्त्रमा पवित्र तीर्थस्थलका रुपमा लिने गरिएको छ । शुक्ला गण्डकी नदी र यससँग जोडिएका सभ्यतासँग नदी किनाराका विभिन्न धामहरूको चर्चा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

        तीनै धामहरूमध्येको एक हो शुक्ला गण्डकी किनारको मुक्तिनाथ च्यवन धाम । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीको नजिकै रहेको मुक्तिनाथ च्यवन धाम विगत एक दशकयता यस क्षेत्रकै महत्वपूर्ण धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास हुँदै गएको छ । स्थानीयवासीको सकृयतासँगै स्थानीय तथा प्रदेश सरकारको समेत प्राथमिकता परेसँगै यो धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो । 

        वर्षौंदेखि सेती नदीले कटान गरेको भूगोल र ढुङ्गाका कारण विगतमा हिंडडुल गर्दा समेत त्रसित हुनुपर्ने अवस्थामा स्थानीय सकृयता, स्थानीय तह एवम् प्रदेशको सहयोगमा यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । परापूर्वकालमा यसै स्थानमा च्यवन ऋषिले तपस्या गरेको विश्वासका आधारमा यस स्थललाई च्यवन धामका रुपमा विकास गर्न खोजिएको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम विकास समितिका अध्यक्ष होमनाथ लम्सालले बताउनुभयो ।

        कालीगण्डकीको बगरैबगर भएर पुग्न सकिने हिमाल पारीको जिल्लास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरकै स्वरुपमा यस स्थलकोे विकास गर्न लागिएको कारण पनि यसको महिमा र गरिमा अझै चुलिंदै गएको छ । मुक्तिनाथलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा लिने गरिए जस्तै यस धामलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा विकास गर्न खोजिएको छ ।

        धामको जग्गा संरक्षणका लागि २०६५ सालदेखि नै स्थानीयवासीले सामूहिक सकृयता देखाएका थिए । २०६७ सालमा ऋषिगुरु श्रीराम पौडेलले स्थानीयवासीसँग आफू मुक्तिनाथमा गएर ध्यानमा बस्दा उक्त स्थान तपोभूमिका रुपमा पाएको बताउनु भएछ । गुरुले ध्यानका क्रममा पाएको अनुभव, यहाँको बस्तुस्थिति आदिका कारण यस धाममा मन्दिर निर्माण गर्ने सोच बढेको र त्यसकै जगमा महायज्ञ गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउने लक्ष्यका साथ २०६७ चैत १० गतेदेखि १७ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट एक करोड ४१ लाख रुपैयाँ सङ्कलन भएको थियो । सङ्कलित रकमबाट शुक्लेश्वर महादेव मन्दिर, च्यवन गुम्बा, बृद्धाश्रमको भवन, मोक्षकुण्ड आदि पूर्वाधारहरू निर्माण गरिएको उहाँले बताउनुभयो ।

        परिसरमा अहिले शुक्लेश्वर महादेवको मन्दिरसँगै बरपर सूर्य, विष्णु, दुर्गा र गणेशका मन्दिरहरू निर्माण गरिएको छ । यी मन्दिरहरूसँगै मुक्तिनाथकै अनुभूति हुने गरी एक सय आठ धारा र त्यस माथि निर्माण गरिएको अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्य मनमोहक बनेको छ । हिम श्रृङखलासहित एक सय आठ धारालाई व्यवस्थित गर्नका लागि तीन वर्षअघि गण्डकी प्रदेश सरकारले २२ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।

        धाममा आउने दर्शनार्थीले एक सय आठ धाराको जलले स्नान गर्न पाउनुका साथै एक सय आठ पीपलको रुख, एक सय आठ शिवलिङ्गकोसमेत दर्शन र परिक्रमा गर्न पाउने व्यवस्था मिलाइएको छ । पछिल्लो दशकमा तनहुँ र कास्की आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थीहरू आउने गरेको समितिका सदस्य सन्तोष सापकोटाले जानकारी दिनुभयो । यस धाममा नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माष्टमी, बाला चतुदर्शी, शिवरात्री लगायतका महत्वपूर्ण तिथि र पर्वमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

        समितिले हिमाल पारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर जान चाहेर पनि विभिन्न कारणले नसकेका दर्शनार्थीलाई यही नै मुक्तिनाथको स्वरुपमा अनुभूति गर्ने गरी पूर्वाधार विकास गर्दै पूजाआजा गर्ने व्यवस्था मिलाएको सापकोटाले बताउनुभयो । च्यवन धामस्थित शुक्लेश्वर महादेवको मन्दिरमा पूजाआजा गरेसँगै सन्तान नभएका दम्पतिलाई सन्तान प्राप्ति हुने जनविश्वास यहाँको अर्को विशिष्टता हो । सन्तान प्राप्ति नभएकालाई सन्तान प्राप्ति हुने र भएका सन्ततिलाई राम्रो हुने विश्वासका कारण पनि यहाँ टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् ।

    धामकै संरक्षणमा गौ संरक्षण केन्द्र

        मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामकै संरक्षणमा गौ संरक्षण केन्द्र सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–९ भरेतरामा रहेको गौं संरक्षण केन्द्रको व्यवस्थापनको जिम्मा मुक्तिनाथ शुक्लागण्डकी धामले गर्न थालेको हो । यसअघि शुक्लागण्डकी नगरपालिका आफैंले सञ्चालन गरेको गौं संरक्षण केन्द्र सुधार गर्दै त्यसलाई थप व्यवस्थित बनाउने गरी धामले जिम्मेवारी लिएको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । “गत चैत २२ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार अब गौ संरक्षण केन्द्र धामकै संरक्षणमा रहने छ”, उहाँले भन्नुभयो, “हाल गौ संरक्षण केन्द्रमा १३७ वटा गाईहरूको संरक्षण गरिंदै आइएको छ । ”

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…