कोलकाता (भारत), ८ साउन 
 भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने ‘मेटलफिनिसर’ व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दसक बितिसकेको छ । 
उहाँले भन्नुभयो, “सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरु गर्न थालियो । अहिलेसम्म राम्रै भइरहेको छ ।” पुख्र्यौली घर रामेछाप भई पछि बसाई सरेर सर्लाही पुगेका र काठमाडौँमा पनि घर बनाएका उहाँ कोलकातास्थित ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ का ‘चेयरम्यान’ को जिम्मेवारीसहित विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्छ ।
भारतको कोलकोतामा रहेका नेपाली र नेपाली भाषी भारतीयको आर्थिक र सामाजिक अवस्थाबारे राससको जिज्ञाशामा हाल काकुरगाछी निवासी श्रेष्ठले भन्नुभयो, “मानिसले जीविका चलाएका छन् तर आगामी दिनमा भारत सरकारले नेशनल रजिष्ट्रर सिटिजन्स (एनआरसी) लागू भएपछि समस्या हुन पनि सक्ने भएकाले सजग हुनुपर्छ । अब यहाँ हाम्रा लागि स्कोप घटेको छ ।”
उहाँले नयाँ पुस्ताका नेपालीलाई अब यहाँ व्यवसाय वा रोजगारीमा पहिला जस्तो फाइदा हुँदैन । नेपालमै केही गर्न वा तेस्रो मुलुकमा गएर आफ्नो दक्षता देखाउन उहाँ सुझाउनुहुन्छ । श्रेष्ठको कम्पनीमा कोभिड–१९ महामारी अघि ४० नेपाली श्रमिक थिए भने हाल घटेर १३ जना मात्रै बाँकी छन् ।
कोलकोतामा नेपाली भाषी चौकीदारी, सरकारी सेवा, अनौपचारिक श्रम, पारवहन, होटेल व्यवसाय, गहनासम्बन्धी व्यवसायदेखि चिकित्सा, इञ्जिनियरिङ पेसामा समेत संलग्न छन् । अबका दिनमा दोहोरो नागरिकता लिएर दुवै मुलुकमा पेसा–व्यवसाय गर्न हालसम्म समस्या नभए पनि एक मुलुकको नागरिकता त्याग्नुपर्ने जस्ता प्राबधान आएमा कानुनी समस्या पर्न सक्ने देखिन्छ ।
नेपाली भाषीले आफ्ना रीतिरिवाज र चाडपर्व भने आफ्नो परम्पराअनुसार नै मनाउँदै आएका छन् । उनीहरुले घरपरिवारमा नेपाली भाषा बोल्ने गर्छन् भने विद्यालय र कार्यालयमा आवश्यताअनुसार हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् ।
हरेक वर्ष वडा दसैँका अवसरमा नवरात्र सुरु भएदेखि नै गोरखनाथ सेवा समितिको आयोजनामा पूजाआजा गरिँदै आएको छ । गत वर्ष समिति स्थापनाको ५० औँ वर्ष भएकाले एसएन बेनर्जी रोड, न्यू मार्केट नजिक पशुपतिनाथको अस्थायी मन्दिर बनाएर नेपालीशैलीमा दुर्गा भगवतीको मूर्ति स्थापना गरेर समाजका सबै समुदायलाई पूजा गर्ने र हेर्ने प्रबन्ध गरेको सो समितिका महासचिव नरविक्रम थापाले जनाउनुभयो । थापाको सम्पादनमा हरेक दसैँका अवसरमा ‘मौलो’ पत्रिका प्रकाशन गर्दै आएको छ ।
यहाँस्थित प्रवासी नेपाली सङ्गठन र सामाजिक संस्थामा उनीहरुको सहभागिता हुने गरेको छ । नेपाली जनकल्याण समितिले हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती कार्यक्रम गर्दै आएको छ भने ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ ले मानवीय कार्य गर्दै आएको छ । समितिले यही साउन ६ गते हावडा मैदानस्थित शरत सदनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा २१० औँ भानुजयन्ती मनाएको छ । यो समितिले ‘नौलो बिहानी’ वार्षिक पत्रिका प्रकाशन गर्दै आएको छ । खिमराज बराल अध्यक्ष रहेको भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका हरेक दुई वर्ष अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्दै आएको छ ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        