•  गण्डकी, ११ साउन  : तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् ।
        
        प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन् । प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिने तालिम प्रदान गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

        तालिमका क्रममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उहाँले बताउनुभयो । “नेपालमा मात्रै पाइने काँडे भ्याकुर भैँसेगैँडामा पर्याप्त पाइन्छन्”, उहाँले भन्नुभयो, “चाइना मङ्गोलियाबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागि यो महत्वपूर्ण गन्तव्य हो ।”

        तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहश्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरण सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्य बन्दै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

        यस क्षेत्रमा काँडे भ्याकुरदेखि धेरै प्रजातिका चरा, वन्यजन्तु र वनस्पति पाइने भएकाले पर्यावरणीय अध्ययन तथा अनुसन्धानका लागि यो स्थल महत्वपूर्ण रहेको उहाँको भनाइ छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गुरुङले बताउनुभयो । उहाँका अनुसार होमस्टेमा २० जनासम्म पर्यटक अटाउँछन् ।

        अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनका लागि पनि भैँसेगौँडा पुग्नैपर्ने गन्तव्य भएको बताउँदै गुरुङले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । गाउँको विकासका लागि सामूहिक प्रयासमा मेकाडामिया नटको खेतीसमेत गरेको भन्दै उहाँले स्थानीय उत्पादनमा जोड दिइएको बताउनुभयो ।

        पछिल्ला केही वर्षयता दुःख गरेर लगाएको खेती बाँदरले खाइदिने र असिनाले झारिदिँदा किसान मर्कामा पर्न थालेका भन्दै अध्यक्ष गुरुङले स्थानीयको जीवनस्तार सहज बनाउन सामूहिक प्रयासमा मेकाडामिया नटको खेती सुरु गरिएको बताउनुभयो । बाँदरले धेरै क्षति पुर्‍याउन नसक्ने भएकाले स्थानीय पनि यस खेतीतर्फ आकर्षित बन्दै गएका उहाँको भनाइ छ । 

        ‘राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह’मा आबद्ध भई यहाँका २५ कृषकले पाँच सय बिरुवा लगाएकामा केहीले उत्पादनसमेत दिन थालेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायत स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले यो खेती गरेका छन् । भैँसेगौँडालगायत आसपासका क्षेत्रमा हालसम्म एक हजार पाँच सयभन्दा बढी बोट लगाइसकिएको उहाँले बताउनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…