काठमाडौँ, २३ साउन
वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ । तर नेपाली समाजमा मानवशास्त्रीय अध्ययन पनि राम्ररी हुन सकेको छैन । यसले गर्दा समाजमा पहिचानको सङ्कट अहिलेसम्म देखा पर्ने गरेको छ । “म यो समुदायको हुँ’’ भन्दा पनि पहिचान दिन गाह्रो मान्ने राज्य व्यवस्था अझै छ । यस विषयमा हुम्लाका ‘जाड’ र ‘व्यासी’ का बारेमा सोधखोज गर्न खोजिएको छ ।
हुम्लाको जडान क्षेत्रका भोट्या लामा र तामाङ थर लेख्ने तथा बीच भागमा बसोबास गरेका व्यासी जनजाति हुन् । जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएको तर चार वर्णाश्रम व्यवस्थाभित्र नपर्नेहरु जनजाति हुन् । जनजाति नेता सुरेस आलेमगरका अनुसार सामान्यतयाः सामूहिक जीवन पद्धति एवं मातृ सत्तात्मक समाजका केही अवशेषहरु विद्यमान रहेको र हालसम्म पनि पिछडिएको अवस्थामा रहेकालाई जनजाति भनिन्छ । आदिवासी जनजाति महासङ्घको वर्गीकरणमा भोट्या समुदाय सीमान्तकृत समूह र व्यासी सुविधा बन्चित समूहमा पर्दछन् ।
दरा खोलाको पहिचान
तिल, हल्जी र जाङका तीन गाउँलाई लिम्याल भन्ने गरिन्छ । लिमी नेपालीकरण गरिएको शब्द हो । भोट्या भाषामा लेमी भन्ने हुन्छ । ‘ले’ को अर्थ दुई खोलाको बीच र ‘मी’ को अर्थ मान्छे भन्ने हुन्छ । शाक्य र लिङ खोलाको बीचमा गुम्बापोक नै लेमीको केन्द्र हो । लेमीबासी त्यस ठाउँलाई छाम्जो भन्दछन् ।
ताङ्गिनदेखि केर्मीसम्मका आठ गाउँलाई साठी खोल्या भनिन्छ । सायद यस क्षेत्रमा साठी खोला छन् । याल्बाङदेखि यारीसम्मको सात गाउँलाई सात थपाल्या भनिन्छ । बुराउँस्यादेखि दोजामसम्मका गाउँहरुलाई बार्थपाल्या भन्ने गरिन्छ । विशेष बरगाउँको प्रभावले बर्थपाल्या हुँदै बार्थपाल्या भन्ने गरिएको छ । बराई, रादेउ–फुचा, भुवा–कल्लास र पुमाको चार गाउँलाई चार थपालो भन्ने गरिन्छ । चरिगाउँदेखि नेप्कासम्मका गाउँहरुलाई छविस दरा भन्ने गरिन्छ । दार्म क्षेत्रलाई देउली दरा भनेर चिनिन्छ । गल्बा दरालाई पन्धविस्या भन्ने चलन छ । यस प्रकारले तल्लो क्षेत्रलाई ताँजा मैला दरा भन्ने गरिन्छ । उनापानीदेखि खगालगाउँसम्म स्याँलीपाखा भनिन्छ भने गोप्कादेखि खप्र्याल गाउँसम्मलाई पारी पाखा भन्ने गरिएको छ ।
पुरानो हुम्लाको यो पहिचान अहिले राजनैतिक रुपमा एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेश र सात पालिकाको रुपमा चिनाउने प्रयास भएको छ । प्रदेश (क) मा सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट पर्दछन् भने प्रदेश (ख) मा नाम्खा, सिमकोट र खार्पुनाथ पर्दछन् ।
जाड–व्यासीको पहिचान
पूर्व सांसद छक्कबहादुर लामाले पहिचानको सवालमा आफू यार्सागुम्बा जस्तो भएको बताउँदै आउनु भएको छ । उहाँले आफु छवाङबाट कसरी छक्कबहादुर भएँ भन्ने कुरा लेख्दै र भन्दै आउनु भएको छ । २०८० वैशाख ३ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङमा मैले नाम्खावासीसँग प्रश्न गरेको थिए, “के भोटका सबै वासिन्दा लामा हुन् ?’’ केर्मी पुग्दा त्यहाँका शिक्षकहरुले गहिरो गरी चासो व्यक्त गर्नुभयो । तातोपानी आधारभूत विद्यालयका शिक्षकहरु कुन्साङ, पेमा थार्चेन र फुन्जोकले सोही प्रसङ्ग उठाउनुभयो । छलफलमा केर्मीका पूर्व वडा अध्यक्ष डाब्ला, समाजसेवी कालीबहादुर, स्थानीयवाशी सुनाम दोर्जी र उज्ज्वल थपिनुभयो ।
भोटका सबै नागरिकलाई अहिलेसम्म सबैलाई लामा र कसैकसैलाई तामाङ लेख्न लगाइएको छ । वास्तवमा लामा त गुम्बाको प्राज्ञिक पद हो । छलफलबाट थाहा भयो कि भोट क्षेत्रमा बसेका लामा र तामाङ थर लेख्नेहरुले आफ्नो पहिचान सहितको थर लेखाउन चाहने रहेछन् । तर प्रशासनले त्यो थरलाई मान्यता नदिदा उनीहरु पहिचान पीडित भएका रहेछन् । यसले आत्म सम्मानमा ठेस लागेको रहेछ ।
त्यसो भए भोट्या समुदायको थर के हो ? भनी सोधखोज गर्नुपर्ने भयो । नाम्खाका बुद्धिजीवी सूर्य लामाका अनुसार मुचु गाउँमा ठकी, टेवा, दार्वा, ग्याल्ग्युतलगायत छन् । धाँ टोलका अनुसार चाला गाउँमा रावा, ग्यालग्युत, दार्वा, टेवा र छत्याल छन् । थुप्देन ग्याप्चो लामाका अनुसार तुम्कोटमा खुन्दुङ, टेवा, ग्याल्ग्युत र भण्डारी छन् । यस्तै यारी र न्याममा रहेको पाइन्छ ।