•  गल्याङ (स्याङ्जा), १ भदौ : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो ।

    भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्कनुभएका उहाँले यतिबेला बाख्रापालनबाट वार्षिक रु १५ देखि २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । “सुरुमा घरकै तरकारी बारी जोत्न हाते ट्रयाक्टर किने”, न्यौपानेले भन्नुभयो, “हाते ट्रयाक्टरको धेरै माग भएपछि आम्दानी पनि राम्रो भयो, त्यही आम्दानीबाट बाख्रापालन सुरु गरेको हुँ ।”

    न्यौपानेले विसं २०७० मङ्सिरमा रु ७७ हजारबाट बाख्रापालन व्यावसाय सुरु गरेको बताउनुभयो । “गाउँका कृषकको हातेट्रयाक्टरले खेतबारी जोतेर कमाएको रु ७७ हजारले तीनवटा बोयर माउ र एउटा बोयर बोका किनेर ल्याएँ, चारवटा स्थानीय जातका माउबाख्रा घरमै थिए”, उहाँले भन्नुभयो, “आठवटा बाख्राबाट भूमिका कृषि तथा पशुपालन फार्म दर्ता गरेर औपचारिकरूपमै व्यवसाय सुरु गरेँ ।”

    न्यौपानेको बाख्रापालनमा करिब रु ८० लाखको लगानी पुगेको छ । उहाँसँग हाल रु १६ लाखमा निर्माण गरिएको आधुनिक बाख्राको खोरमा शुद्ध अष्ट्रेलियन बोयर बोकासहित शुद्ध बोयर माउ र खरी जातमा बोयर क्रस एक सयवटा बढी माउ पाठापाठी छन् । न्यौपानेको फार्मबाट धेरैजसो बीउ उत्पादनका लागि बाख्रा बिक्री हुन्छ । यहाँ उत्पादित बाख्रा कास्की, पर्वत, धादिङ, पाल्पा, चितवन, रुपन्देहीबाट पश्चिम बर्दियासम्म र पूर्व झापासम्म निर्यात हुन्छ । फार्मबाट रु १५ हजारदेखि साढे दुई लाखसम्म पर्ने प्रतिबाख्रा बिक्री हुँदै आएका छन् ।

    न्यौपानेले करिब एक सय रोपनी जग्गामा मेन्दुला, भटमासे, डिस्मोडियम, मुलेट्रो, सिग्नल, नेपिएर सिओ थ्रि, सिओ फोर, सुपरनेपिएर, राई खनियो, निमारो, चुलेत्रो, तेजपत्ता, कपुर, बडहर, टाँकी, सुडान, जै, वर्षिम, लुसर्न, स्टाइलो, इपिलिपी, किम्बु, ग्वाटेमाला, सितलचिनीलगायत विभिन्न प्रकारका घाँसखेती गर्नुभएको छ ।

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…