•  –सन्तोष पौडेल 
    काठमाडौँ, २० भदौः रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो । व्यक्ति, समाज, राष्ट्र, दल जुन पक्षको कुरा गर्दा पनि रुपान्तरण एउटा परिवर्तन हो । त्यो परिवर्तन के, कसरी र कति भन्ने प्रश्न प्रधान रहन्छ । सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक पक्षमा पनि त्यही लागू हुन्छ । हामीले नेपालको सन्दर्भमा कुरा गर्दा पटकपटक रूपान्तरणको बारेमा बहस गरिआएका छौँ र अहिलेको रूपान्तरणको मुख्य हिस्सेदार नेपालको माओवादी आन्दोलन हो भन्ने आम निष्कर्ष छ । 

        माओवादी आन्दोलन मूलतः परिवर्तनकामी जनताबाट उठेको र तिनै जनताबाटै पोषित र पुष्पित आन्दोलन हो । दशवर्षे जनयुद्धका क्रममा मात्र होइन संविधानसभाको निर्वाचन हुँदै शान्तिपूर्ण राजनीतिमा आएपछि पनि नेकपा माओवादी केन्द्रले २०६४ सालको संविधानसभा चुनावमा झन्डै एकमना सरकार बनाउने स्तरको ऐतिहासिक जन अनुमोदन पाएको थियो । संसदीय राजनीतिका विभिन्न उतारचढाव ब्यहोरेको भए पनि नेपालमा स्थापित मूल राजनीतिक एजेन्डाको वाहक र रूपान्तरणको मूल कारक पार्टी भएकाले अहिले नेपाली राजनीतिको केन्द्रीय मियो माओवादी पार्टी र पार्टी नेतृत्व नै रहेको देखिन्छ । 

        सारांशमा नेपालको व्यवस्था रूपान्तरणको संवाहक बनेको माओवादी अब अवस्था परिवर्तनको पनि संवाहक बन्न चाहिरहेको छ । यही चाहनाको प्रकटीकरण हो माओवादीले थालेको रूपान्तरण अभियान । जनयुद्धको शङ्खघोष गर्दै गर्दा माओवादीले आफ्नो मूल अवधारणामा लेखेको थियो–वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय, आर्थिक, सामाजिक, सांस्कृतिक र सबैखाले उत्पीडनको अन्त्य गर्दै समाजको आमूल रूपान्तरणसहित साम्यवादको स्थापना गर्न जनयुद्धको बाटोमा अगाडि बढौँ । माओवादीले त्यो नाराले समाजका सबै वर्ग, जाति, क्षेत्र, समुदाय र तप्कामा एउटा तरङ्ग पैदा गरेको थियो । यसको फलस्वरूप लाखौँ जनता त्यसमा लामबद्ध भए आफैँलाई बलिदान गर्न उद्यत भए । यसले समाजको धेरै पक्षमा परिवर्तन ल्यायो । जनयुद्धकै जगमा १९ दिने ऐतिहासिक जनआन्दोलन भयो । 

        जनयुद्ध र जनआन्दोलनको बलमा नेपालबाट दुई सय ४० वर्षे एकात्मक राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भयो र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । नेपालमा महिला, दलित, मधेसी, मुस्लिम र गरिबहरुलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिन्थ्यो । छुवाछूत, दाइजोलगायतका प्रथाहरु यति चरम थियो कि जो कल्पनै गर्न सकिन्न । माओवादी जनयुद्धले ती विषयहरूमा विभिन्न तरिकाले चेतना जागृत गराइदियो भने महिला भनेका आधा संसार अगोट्ने समूह हो र सबै तहमा सबै निकायमा महिलाको अधिकार आधा हुनुपर्छ भन्ने स्थापित गरायो । जनयुद्धमा पुरुष सरह महिलाहरु होमिए, चुलोचौकोमा र घरको पर्खालभित्र सीमित महिलाहरु हातमा बन्दुक बोकेर निस्के र महिला मात्रै होइन, सिंगै समाज रूपान्तरण र परिवर्तनका लागि सम्पूर्ण बन्धन तोडर होमिए । फलस्वरूप पुरुष र महिला एकै रथका दुई पाङ्ग्रा मात्रै होइन समाज रूपान्तरणका मुख्य द्योतक महिला हुन् भन्ने जनयुद्धले स्थापित गरायो । 

        नेपाली सेना र प्रहरीमा पनि महिलाको भर्ती बढ्यो, इन्फेन्ट्रीमा महिलाको सहभागिता हुन थाल्यो, शान्ति सेनामा महिलाको सहभागिता हुन थाल्यो, समाजमा पुरुषभन्दा महिला के कम भन्ने प्रतिस्पर्धाको चेतना जागृत भयो । राजनीतिमा मात्र नभई अहिले राज्यका विभिन्न निकायमा र लोकसेवामार्फत समावेशीकरणको लाभ लिँदै प्रवेश गरेका हजारौँ नागरिकको सपना माओवादी आन्दोलनका कारण सार्थक भएको यथार्थ हो । अहिलेसम्म आउँदा संसद्सहित राज्यका सबै नीतिनिर्माण तह र स्थानीय सरकारदेखि सबै कार्यान्वयन तह तथा समितिहरुमा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ र कार्यान्वयन भइरहेको छ । 

    दलितमाथिको छुवाछूत अब व्यावहारिक रूपमै अन्त्य हुने चरणमा छ । अत्यन्तै पिछडिएको र राज्यको सधैँ कोपभाजनमा पारिएको कर्णाली र सुदूरपश्चिम जस्ता क्षेत्रहरुले निश्चित कोटा नै छुटाएर राज्यको नीति निर्माण र कार्यन्वयनको इकाइमा आरक्षण पाइरहेको स्थिति छ । त्यसैगरी मधेसी, मुस्लिम, आदिवासी जनजाति, अल्पसङ्ख्यक समुदाय र अपाङ्गलगायत समाजका सबै उत्पीडित वर्ग, क्षेत्र, जाति, समुदाय र तप्काले संविधानतः अधिकार प्राप्त गरेका छन् । अब निजामती सेवामा थारू, मुस्लिम र खस आर्य समुदायका लागि पनि आरक्षण दिने प्रस्तावसहितको विधेयक मस्यौदामा छलफल चलिरहेको छ । परिवर्तनको परिभाषाबाट हेर्दा जनयुद्धले समाजमा व्यापक र आमूल रूपान्तरण ल्याएको मान्न सकिन्छ । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…