•  

     डा देवी क्षेत्री दुलाल

        काठमाडौँ, २८ भदौ : नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाउनुभएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । विसं २००९ फागुन २८ गते इलाममा जन्मिनुभएका नेम्वाङको राजनीतिक प्रारम्भ २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स्ववियु सभापतिमा निर्वाचित भएसँगै भएको हो । नेम्वाङ मन्त्री, सांसद, सभामुख र संविधानसभाको अध्यक्ष हुनुभयो । इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६ सालदेखि निरन्तर निर्वाचित भएर उहाँले नेपालको राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाउन सक्षम बन्नु भएको छ । 

        उहाँले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल हुनुभएको छ । कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससदको नेतृत्व सम्हाल्नुभयो । उहाँले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्काे सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गर्नुभयो । जीवनको अन्तिम क्षणसम्म सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन मुख्य सूत्रधारको काम गर्दै आउनुभएको थियो ।

    मृदुभाषी र सरल स्वभावका धनी 

        नेम्वाङ सरल स्वभावका मृदुभाषी हुनुहुन्थ्यो । वैचारिक आलोचना गर्दा पनि सरल शब्दमा विषयगत र आदरार्थी शब्दको प्रयोग गर्ने विशेषता थियो । आफूलाई मनमा लागेका कुराभन्दा पनि अरुलाई नबिझाउने शब्द चयन गर्ने कला थियो । हाँसेर बोल्ने, कहिल्यै नरिसाउने सरल स्वभावका धनी उहाँलाई यसै कारणले जनताले भन्थे “आँखामा हाल्दा पनि नबिझाउँने लालगेडी हुन् हाम्रो सुवास नेम्वाङ ।” कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान गर्नुभएका नेम्वाङ असल र सादगी नेता हुनुहुन्थ्यो । नयाँ पिँढीलाई राजनीतिमा सधँै प्रोत्साहन गर्ने नेताका रूपमा धेरैले नेम्वाङलाई सम्झिने गर्दछन् ।

        सम्भ्रान्त परिवारमा जन्मिएका नेम्वाङले कहिल्यै पनि तडकभडक व्यवहार देखाउनु भएन । निर्वाचनमा फजुल खर्च गर्नु भएन, सधैँ पार्टी र जनताको साथ सहयोगलाई विश्वास गर्नुहुन्थ्योे । त्यसैले हुनसक्छ आजको विकृत निर्वाचन प्रणाली र दलाल पूँजीवादको प्रभावमा परेका आफ्नै कार्यकता र विपक्षीले उहाँलाई लोभी भने, अझ केहीले त लिम्बूको कुमाइसम्म पनि भन्न पछि पर्दैनथे । तर उहाँले यसता आरोपलाई मुसुमुसु हाँसेर प्रतिवाद गर्नुहुन्थ्यो । नेपालको राजनीतिलाई संस्कार र इमानको पाठ सिकाइरहनुभयो । उहाँको यही मान्यताको आधारमा नेपाली जनताले भनेका हुन् “हाम्रो सुवास नेम्वाङ ।”

        अप्ठ्यारो राजनीतिक अवस्थामा पनि उहाँले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरूको सम्बोधन गर्नुभएको थियो । राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्नुहुन्थ्यो । उहाँको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ । उहाँले नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएको छ । वर्तमान संविधानको आधारमा सार्वभौम सम्पन्न जनतालाई ध्यानमा राखेर अघि बढनुपर्छ भन्ने कुरामा उहाँको सधैँ जोड रहँदै आएको थियो । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…