जनकपुरधाम, ३१ भदौ : पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।
सुरुमा धनुषाको धनौजी गाउँपालिका–२ की सोनाली साहलाई पाठशाला जानुपर्छ भन्दा अचम्म लागेको थियो । दुई सन्तानकी आमा भइसकेकी बुहारी पाठशाला जाने भनेपछि उहाँका सासूससुरालाई त सोनालीभन्दा बढी अचम्म लागेको थियो ।
“सन्तानलाई पढाउने बेला आफूले पाठशाला जानुपर्छ भनेपछि कसलाई अचम्म नलाग्ला ? सुरुमा त अफ्ठ्यारो मानिमानी पाठशाला गइयो । यहाँ आएपछि पो थाहा भयो, यहाँ त अक्षर होइन आमा र बच्चाको स्वास्थ्य अवस्था सुधारका लागि पढाइ हुनेरहेछ”, सोनालीले भन्नुभयो, “विस्तारै बानी लाग्यो, सरसफाइ, बानीव्यहोरा, सन्तुलित खानपिनका बारेमा जानकारी पाउन थालँे, जसले गर्दा मेरो कुपोषित बच्चा र म स्वयंको पोषण सुधारका लागि ज्ञान पाएँ ।”
सोनालीका अनुसार पोषण पाठशालामा आउँदा उहाँको छोराको स्वास्थ्य जाँच हुँदा कुपोषित रहेको र आमाले पोषणयुक्त खानपिन नखाएका कारण यस्तो समस्या भएको सुनाइएको थियो । अहिले भने पाठशालामा पढेको कुरा व्यवहारमा लागू गरेपछि छोरा सुपोषित भएकामा सोनाली दङ्ग हुनुहुन्छ ।
यस्तै समस्या सोही ठाउँकी पिङ्की महतोलाई पनि थियो । “सुरुमा मलाई पनि पाठशाला जानुपर्छ भनेपछि के होला जस्तो लागेको थियो तर यहाँ आएर आहार र खानेबानीमा सुधार गर्ने कुरा सिकाइँदोरहेछ । अहिले मेरो कुपोषित बच्चा सुपोषित छ”, महतोले भन्नुभयो ।
अमिरकला कुमारी साहले पनि आफ्नै बारीमा सजिलै पाइने खानेकुराबारे जानकारी नहुँदा पोषणमा समस्या भोग्नुपरेका आमा तथा बच्चामा पाठशाला गएपछि चेतनामा वृद्धि भएको धारणा राख्नुभयो ।
पिङ्की, पुनम र अमिरकलाजस्तै यो समूहका २५ जना सुत्केरी र गर्भवती आमालाई दुई वर्षसम्म पठनपाठन गराइएको थिएन । सहजकर्ता पुनम झाले सुरुका कैयन दिन घरघरमा गएर पाठशाला जाँदाका फाइदा र यहाँ सिकाउने कुराबारे जानकारी गराउनुभएको थियो ।
पुनमले सुरुका दिन सम्झिँदै भन्नुभयो, “सुरुमा घर–घर गएर सम्झाउँदा पनि कोही घरबाहिर निस्किन मान्दैनथे । आमाले माने पनि घरका अभिभावकले किन जानुपर्यो, किन पढ्नुपर्यो भनेर अवरोध गर्ने समस्या थियो तर धेरै सम्झाएपछि यहाँ आउन थाल्नुभएको हो ।”
सुरुका केही दिनसम्म घरका मान्छेले बुहारी कहाँ जान्छे, के गर्छे भनेर लुकीलुकी चियाउने र पाठशाला आउने महिलाले पनि घुम्टोले अनुहार नदेखाउने गरेको पुनमको मानसपटलमा ताजै छ । “उहाँहरू कडा अनुशासनको नाममा घरबाट सित्तिमित्ति ननिस्किने, निस्के पनि अनुहार छोप्ने, खुलेर कुरा नगर्ने समस्या थियो । सबैभन्दा ठूलो समस्या त संस्कारका नाममा आफ्नै घर र बारीमा रहेका पोषिला खानेकुरा नखाने, सागपात, कुखुरा, हाँसलगायतको मासुसमेत खानुहुन्न भन्थे । गर्भावस्था वा सुत्केरीको समयमा सामान्य अवस्थाभन्दा बढी र सन्तुलित खानापानमा ध्यान दिने कुरा त धेरैलाई थाहा नै थिएन । थाहा भएकाहरू पनि आर्थिक अभाव देखाएर खान नसकिने बताउँथे तर पाठशालामा आइसकेपछि भने अहिले धेरै सुधार भएको छ”, पुनमले सुनाउनुभयो ।
धनुषा र महोत्तरीमा ३६ पोषण पाठशाला
कार्यक्रम कार्यान्वयन गरिरहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना एकाइ धनुषाका प्रमुख सुकेश्वर झाले आयोजनाको लाभग्राहीका रूपमा रहेका आर्थिक र सामाजिकरूपमा पछि परेका महिला, भूकम्प र बाढीपीडित, गरिब, आद्य असुरक्षित, विपन्न तथा सीमान्तकृत वर्गलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको जानकारीदिनुभयो ।