• दमक । पूर्ब संघीय संस्कृति मन्त्रीसमेत रहेका देशभक्त समाजवादी मोर्चाको केन्द्रीय संयोजक गोपाल किरातीले पहिचानवादी शक्तिहरुलाई देशभक्तिपूर्ण तेस्रो जनआन्दोलनको तयारी लगायतका तीन सुझाव दिएका छन् । 
    शनिबार झापाको दमकमा नागरिक उन्मुक्ति पार्टी, एकीकृत (लिम्बुवान प्रान्तिय समिति नेपाल)ले आयोजना गरेको सहिद राजकुमार आङ्देम्बे (माङतोक)को १६ औं स्मृति दिवस कार्यक्रममा बोल्दै पूर्ब मन्त्री गोपाल किरातीले सो सुझाव दिएका हुन् । 
    किरातीले पहिचान आन्दोलनको सफलताको लागि बृहत्तर राजनीतिक संयुक्त मोर्चा, देशभक्तिपूर्ण तेस्रो जनआन्दोलनको तयारी र संविधानको लोकतान्त्रिक पुनरलेखन गर्नैपर्ने सुझाव पेस गरेका हुन् । 
    पूर्बमन्त्री किरातीले अवेगले भन्दा बिवेकले बस्तुगत र आत्मगत परिस्थितिको संयोजनको विश्लेषण गर्दै मित्र, दुस्मन शक्तिलाई चिनेर आक्रमण, प्रत्याक्रमणमा लाग्नुपर्ने बताए ।
    प्रदेश नं. १ मा चलिरहेको पहिचानको आन्दोलन समाजिक संस्थाहरुको नेतृत्वमा संयुक्त संघर्ष समिति रहेको कारण आन्दोलन समुदायकरण भएको र यो अवस्था देशैभर तेस्रो जनआन्दोलनसम्म पुग्नुपर्ने बताए । 
    कांग्रेस, माओवादी (केन्द्र) पनि पहिचानको मुद्धाको पक्षमा नभएको आन्दोलन बढ्दै जाँदा करकापले गल्ति गरेको भन्ने विज्ञप्ति प्रकाशन गरेको किरातीको भनाइ थियो ।
    कार्यक्रमको प्रमुख अतिथि रहेका नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का संघीय समितिको अध्यक्ष ज्ञानबहादुर गुरुङले हिम्मतले गरेको राजनीति मात्र सफल हुने बताए । 
    गत निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई प्रतिनिधि सभामा एउटा र प्रदेशमा तीन वटा उमेद्वार दिन सहमति भएपनि तत्कालीन अध्यक्ष कुमार लिङ्देन (मिराक) नमानेको कारण सो पार्टीले एकै सिट नजितेको बताए । त्यसबेला चुनावि गठबन्धनको लागि कांग्रेस र माओवादी (केन्द्र)सँग पार्टीकै निर्णय अनुसार आफूहरु वार्तामा बसेर एक खालको निर्णय भएपनि तत्कालीन अध्यक्ष लिङ्देन नमानेको बताए । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले एमाले भित्र पनि कार्यकर्ताहरु पहिचानको पक्ष र विपक्ष भएको भन्दै मुख्य नेतृत्वको खराबी विरुद्ध आवाज अझ बुलन्द हुनुपर्ने बताए । 
    अर्का बक्ता किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियानको संयोजक प्रेमदिप थाम्सुहाङले भने ‘आवश्यक परे पहिचानको लागि बन्दुक बोक्न तयार छु ।’
    कार्यक्रममा नाउपाको संघीय उपाध्यक्ष इन्दिरा मेन्याङ्बो, जसपा सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिको मुख्यसचिव केदार धिमाल, अशोक क्षेत्री लगायतले पहिचानको आन्दोलनबारे विचार ब्यक्त गरेका थिए । नाउपाको संघीय उपाध्यक्ष अशोक चेम्जोङ लगायतको उपस्थिति रहेको थियो । 
    राजकुमार आङ्देम्बे (माङ्तोक) लिम्बुवान आन्दोलनको क्रममा २०६४ असोज २० गते प्रहरीको गोली लागेर कमल खोला नजिकै मृत्यु भएको थियो । सरकारद्वारा सहिद घोषित आङ्देम्बेको शनिबार नागरिक उन्मुक्ति पार्टी (एकीकृत), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका संगठनहरुले छुट्टाछुट्टै स्मृति दिवस मनाएका हुन् । 
    आन्दोलनको क्रममा मनिल तामाङ लगायत मारिएका थिए । २०७९ फागुन १७ गते कोशी नाम राखिएपछि ४२ बर्षिय युवा पदमकुमार लिम्बू (लाजेहाङ) लगायतको मृत्यु भइसकेको छ । 
    प्रदेश नं. १ मा पहिचानको आन्दोलनमा पाँच भन्दा बढी युवाहरुको मृत्यु, २ सय बढी घाइते, एक जना जेल परेको र २५ बढीलाई मुद्धा लगाइएपनि राज्य पक्ष हालसम्म मौन रहेको आन्दोलनरत पक्षको भनाइ रहेको छ । आन्दोलरत पक्ष कोशी खारेजी नभएसम्म निरन्तर आन्दोलन अघि बढ्ने बताउदै आएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…