•  धनकुटा, २४ असोज : राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर गइसकेका छन् ।

    सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका सम्पदा संरक्षण र प्रवर्द्धन अभावमा गुमनाम हुँदै गएका छन् । 

    धनकुटाको इतिहासमा छुट्नै नहुने धनकुटा बजारमा रहेको तत्कालीन प्रशासनिक केन्द्र धनकुटा गौँडा अहिले कहाँ छ भनेर खोज्नुपर्ने अवस्थामा गुमनाम छ । हाल नगरपालिकाको वडा नं ४ स्थित नेपाली सेनाको भीमदल गण ब्यारेकभित्र रहेको यो गौँडा सबैले नाम सुने पनि पछिल्लो पुस्ताका लागि परिचित छैन । 

    संरक्षण अभावमा यहाँका सबै ऐतिहासिक वस्तु गुमनाम भएको बताउनुहुन्छ धनकुटा बहुमुखी क्याम्पसका पूर्वप्राधापक तथा धनकुटाको इतिहाससम्बन्धी जानकार ठाकुरप्रसाद बराल । धनकुटाकै परिचय बोकेको सल्लेरी वनभित्र रहेको महेन्द्र पार्क पुनःनिर्माण तथा संरक्षणमा एकलरूपमा निरन्तर लागिरहनुभएका बराल पुरातात्विक कुरा जोगाउन नगरवासी धेरै पछि परिसकेको बताउनुहुन्छ ।

    बराल भन्नुहुन्छ, “धनकुटाका पुराना पाटीपौवा, चौतारा कङ्क्रिटिङ भरियो । कतिपय पाटीपौवा देख्दादेख्दै व्यक्तिगत घर बने । सडकमा छापिएका ढुङ्गा रातारात गायब भए । राम्रो बनाउने नाममा हाम्रो इतिहास बिगार्यौ ।” आफूले देख्दादेख्दै नगरमा घर बढेर व्यापार–व्यवसाय बढे पनि पर्यटक गुमनाम भएको र कुनै बेला पूर्वको शिक्षाको केन्द्र मानिएको धनकुटा क्याम्पससमेत अहिले विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।

    जिल्लाकै पहिचानका रूपमा रहेको धनकुटा गौँडा, यहाँ रहेको पैसा छाप्ने टक्सार, बरपिपललगायत स्थानको तत्काल स्थानीय सरकारबाट संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस्तै धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक ५२ ढोके दरबारमा अहिले एक निजी विद्यालय सञ्चालनमा छ । यो दरबार तत्कालीन राजदरबारबाट निष्कासनमा परेका यक्षविक्रम साहका निम्ति राजदरबारले बनाइदिएको थियो ।

    तर पछिल्लो समयमा उनका छोरा श्यामराजालगायतका शाहहरूले अंशबण्डा गरेपछि उक्त दरबारमा निजी स्कुल सञ्चालनमा आएको स्थानीयबासी तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका निवर्तमान सभापति राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ । ऐतिहासिक महत्व बोकेको यो दरबार शाहहरूबाट किनेर सङ्ग्राहलयमा परिणत गर्नबाट धनकुटा नगरपालिका चुकेको इतिहासका जानकार बरालको तर्क छ । “अहिले पनि नगरपालिकाले किनेर साझा सम्पत्ति बनाउँदा धनकुटाको सान नै अर्कै हुन्छ”, उहाँले भन्नुभयो, “धनकुटाले इतिहास चिनेन र यसको मूल्य पनि चिनेन ।”

    ऐतिहासिक महत्व बोकेको धनकुटा गौँडा सर्वसाधारणका लागि खुला गर्न नेपाली सेनासँग कुरा भइरहेको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको भनाइ छ । राणाकालमा स्थापित प्रशासनिक तथा व्यापारिक केन्द्र भएसँगै धनकुटा बजारमा बटुवा र भरियाका लागि नगरमा अनगिन्ती चौतारा र पाटीपौवा निर्माण भएको देखिन्छ । एक प्रकारले धनकुटा नगरपालिका कुनै बेला चौतारी नै चौतारीको नगर थियो । अहिले पनि नगरमा बाक्लै चौतारा छन् । अधिकांश चौतारी भौतिक संरचना निर्माणसँगै काटिएर मासिए भने बाँकी भएका कतिपय ऐतिहासिक चौतारी संरक्षणविहीन बनेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…