•  बेनी (म्याग्दी), ७ मङ्सिर : घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । 

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरुप अहिले फेरिएको छ । बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको हो । 

    गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो । नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन भने प्रवासीले मन खोलेर सहयोग गर्ने क्रम जारी छ । एक÷एक ट्र्याक्टर बालुवा, गिट्टी र २० बोरा सिमेन्टबाट सुरुआत भएको पदमार्ग बनाउने अभियानमा अहिलेसम्म रु १३ लाख बढी नगद सहयोग जुटिसकेको पदमार्ग निर्माणका अभियान्तासमेत रहनुभएका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो ।

    “सरकारी तवरबाट बजेट परेर बाटो मर्मत गर्ने प्रयासले सार्थकता नपाएपछि हामीले श्रमदान अभियानबाट केही अप्ठेरो ठाउँमा पक्की पदमार्ग बनाउने उद्देश्यले श्रमदान अभियान चलाएका थियौँ, अभियान सञ्चालन भएकै भोलिपल्टदेखि स्वतस्फुर्त श्रमदानमा सहभागी हुने र आर्थिक सहयोग गर्ने पनि हातेमालो गर्न थालेपछि पदमार्ग बनाउने अभियानलाई सबैको साझा अभियानको रुपमा अगाडि बढायौँ, देश तथा विदेशमा रहनुभएका धेरै जनाले सहयोग गर्नुभएको छ”, कटुवालले भन्नुभयो । 

    पदमार्ग निर्माण योजना अहिले सबैको साझा अभियान बनेको छ । यो योजनालाई सरकारी तवरको कुनै बजेट बिनै समुदायको साथ, सहयोग र सहकार्यको नमूना कार्यको रुपमा स्थानीयले पूर्णताः दिने जमर्को गरेका छन् । पदमार्ग बनाउन स्थानीयवासीले एक दिनदेखि २० दिनसम्म श्रमदान गरेका छन् भने अहिलेसम्म एक किलोमिटर पक्की पदमार्ग निर्माण भइसकेको छ । 

    माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ । बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काम भइरहेको छ । सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेर स्थानीय युवा पदमार्ग बनाउन व्यस्त बनेका छन् । दसैँ र तिहारको केही दिनबाहेक अन्य सबै दिनमा स्थानीय युवा पदमार्ग बनाउने काममै लागेका छन् । 

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…