•  डुम्रे (तनहुँ), ६ पुस : तनहुँको भानु नगरपालिका–१ रहेको सतीघाटलाई नगरपालिकाले ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउने भएको छ । हिमालबाट आएको कर्मदा नदी (मस्र्याङ्दी किनार) सतीघाट (गाईथुने)लाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थलका रुपमा विकास गर्न गुरुयोजना बन्ने भएको हो । 

        ‘सतीघाटको विकासमा पहल’ शीर्षकमा हालै राष्ट्रिय समाचार समिति (रासस)मा एक समाचार प्रकाशित भएको थियो । त्यसपश्चात् यस घाटको संरक्षण र विकासका बारेमा स्थानीयस्तरमा छलफल भएपछि गुरुयोजना बनाउन लागिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय विभूति एवं नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यको समाधीस्थल सतीघाट क्षेत्रलाई प्रवर्द्धन गरी व्यवस्थित र आधुनिक शवदाहस्थल निर्माण गर्नका लागि गुरुयोजना बनाउने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । ऐतिहासिक, धार्मिक र साहित्यिक तीनै क्षेत्रबाट महत्त्वपूर्ण रहेको सतीघाटधामको समग्र विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

        “त्रिपक्षीयरुपमा सतीघाट महत्त्वपूर्ण छ । यस्ता ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो जिम्मेवारी र दायित्व हो”, त्रिपाठीले भन्नुभयो, “सोहीअनुरुप गुरुयोजना बनाएर अगाडि बढ्ने लक्ष्यका साथ काम हुँदैछ ।”  

        “सतीघाट धार्मिकरुपमा निकै महत्त्वपूर्ण स्थान हो । आदिकवि भानुभक्त आचार्यको समाधीस्थल भएकाले ऐतिहासिक एवं साहित्यिकरुपमा पनि यसको संरक्षण र प्रवर्द्धन गर्नसके यस क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ”, नगर उपप्रमुख उमा गोतामेले भन्नुभयो । हरिबोधनीको एकादशीका दिनमा मस्र्याङ्दी नदीमा फूलडोली, तोरन टाँङ्ने परम्परा रहिआएको जनाउँदै उहाँले यस धामलाई प्रतिष्ठानका रुपमा विकास गर्न गुरुयोजना बनाउने पहल भइरहेको उहाँले बताउनुभयो । आदिकविको नामसँग जोडिएको नगरपालिका भएकाले पनि यस क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिएको उहाँको भनाइ थियो । 

        नगरपालिकाको आगामी हिउँदे अधिवेशनमा उक्त क्षेत्रमा बाटो र ट्रस निर्माणका लागि बजेट विनियोजन गरेर काम गर्ने योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताउनुभयो । बजेट विनियोजन भएपछि निर्माण अगाडि बढाउने योजना बनाइएको भन्दै अहिले आवश्यक छलफल र परामर्श भइरहेको उहाँले जानकारी दिनुभयो ।

        सतीघाटधाम विकासका लागि समितिमार्फत काम गर्न सहज बनाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको छ । भानु नगरपालिकाको संरक्षकत्वमा १५ सदस्यीय तदर्श समिति गठन गरिएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ आयोजित सरोकारवालाको भेलाले भानु–१ निवासी कृष्णकुमार श्रेष्ठको अध्यक्ष्यतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

        समितिको उपाध्यक्षमा भानु–१ का प्रेमबहादुर थापा, सचिवमा भानु–५ का दीपक थापा, कोषाध्यक्षमा भानु–१ का भरत बानियाँलाई चयन गरिएको छ । समितिको सदस्यमा भानु–१ का मिठु गन्दर्भ, ईश्वरी थिङ त्रिपाठी, सोम तामाङ, सुरेन्द्र कुमार श्रेष्ठ र रनबहादुर विक, भानु–२ का शिवदत्त ढकाल, भानु–३ का पुनम श्रेष्ठ र लक्ष्मी चिलुवाल त्रिपाठी, भानु–४ का शङ्कर रानाभाट, भानु–६ का ध्रुव थापा र हरि ढकाल चयन हुनुभएको छ । उक्त भेलाबाट सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको तदर्थ समितिका सचिव दिपक थापाले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…