• गलकोट (बागलुङ), १४ माघ : ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’को ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराइएको छ । यसअन्तर्गत मौलोको आजको विश्रामस्थल चितवनको गजेन्द्रमोक्षदिव्य धाम, देवघाट त्रिवेणी हुनेछ । बागलुङको प्रसिद्ध पञ्चकोट धाममा आयोजित महायज्ञको प्रचारसँगै सो महायज्ञमा देशैभरिबाट निमन्त्रणा दिनका लागि मौलो र कलशसहितको राष्ट्रव्यापी यात्रा सुरु भएको हो ।

        यही माघ ७ गते एकादशीका दिन पञ्चकोटबाट सुरु भएको सो मौलो र मुख्य कलशसहितको यात्रा विभिन्न जिल्लामा पुगेको छ । ती जिल्लाका स्थानीयले मौलोको पुजन गरी साथै महायज्ञको मुख्य कलशमार्फत शान्तिस्वस्तीसहित आह्वान गरेर महायज्ञमा सबैलाई आमन्त्रण गर्ने गरिएको छ ।   

        पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्सङ्कल्प र आह्वानमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ मा धानले पुरिने ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराउने गरी राष्ट्रव्यापी कलश र मौलोयात्रा अभियान थालिएको हो । 

        उक्त मौलो यहाँबाट म्याग्दी, पोखरा, तनहुँ, काठमाडौँदेखि हेटौँडा हुँदै पूर्वी चितवनतर्फ लागेको छ । त्यसअघि मौलोलाई पशुपतिनाथको दर्शन पनि गराइएको थियो । पशुपतिनाथमा मौलोको स्वागत र विदाइमा विशेष अनुष्ठान पनि सम्पन्न भएको थियो । आज चितवनको टाँडी, नारायणघाटदेखि गजेन्द्रमोक्षदिव्यधाम देवघाट पुग्ने कार्यक्रम रहेको छ । 

        उक्त धान्याञ्चलको मौलो र कलशलाई धार्मिकस्थलसँगसमेत जोड्दै लगिएको छ । मौलोको स्वागतका लागि विभिन्न स्थानमा हिन्दू धर्मालम्बी ठाउँठाउँमा पुगेका छन् र मौलोको दर्शनका साथै कलशको जलको अभिषेक गरी त्यहाँबाट बिदाइ गर्ने गरेका छन् । 
        
        मौलो र कलशयात्रा चितवनबाट बुटवल हुँदै माघ २० गते पञ्चकोट ल्याइने कार्यक्रम रहेको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिनुभयो । त्यसपछि विशेष पुजन र अनुष्ठान गरी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको मुख्य मौलो र कलशका रुपमा प्राणप्रतिष्ठा गरिनेछ । 
    प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट धामका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा नेपालमै पहिलो पटक ब्रह्माण्डका सकल देवीदेवता तथा मठमन्दिर र तीर्थस्थलको आह्वान गरी सबैभन्दा ठूलो महायज्ञ गर्न लागिएको हो । सो महायज्ञमा राखिने यो मौलोलाई २१ हजार क्विन्टल धानले पुरिनेछ । 

        स्वामी कमलनयानाचार्यले भन्नुभयो, “अनन्तश्री ब्रमाण्डीय महायज्ञमा मौलोको निकै ठूलो महत्व रहेको छ । त्यसैले उक्त ३१ फिट अग्लो मौलोको प्राणप्रतिष्ठा गरेर कलशसहित राष्ट्रव्यापी परिक्रमा पनि गराइएको छ । पञ्चकोटको महत्व झल्काउँदै, ब्रमाण्डीय महायज्ञमा सहभागी भई जीवनमा सबैभन्दा महत्वको पुण्य कमाउन सबै नेपाली नागरिकलाई आमन्त्रण गर्दै महायज्ञको सन्देश देशव्यापी दिनका लागि यो यात्राको आयोजना गरिएको हो ।” 

        उहाँले पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गरिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…