•  सिन्धुली, ५ फागुन : कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी देखिनुहुन्थ्यो । उपहार दिने घिमिरे र लिने सुवेदी मात्रै होइन यो क्षणको साक्षी बन्न उपस्थित अन्य किसान पनि यो एतिहासिक पललाई रुचिपूर्वक नियालिरहेका थिए ।

    गत वर्षको पुसमा हेफर इन्टरनेसनको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक यहाँका ५१ किसानलाई ८० होलिस्टाइन (उच्च आनुवंशिक गुण भएका) बाच्छी वितरण गरिएको थियो । त्यसैमध्ये घिमिरेले पालेको ‘तोसेली’ नामक गाईले नेपालमै पहिलो पटक गत माघ २३ गते बाच्छी ‘गाम्सा’लाई जन्म दिएको थियो । कोरिया सरकारको सहयोगमा प्राप्त भएकाले पहिलोपटक जन्मिएको बाच्छीको नाम पनि कोरियन भाषामै राखिएको हो । ‘गाम्सा’ अर्थात् ‘धन्यवाद’ ।

        बाच्छी उपहार प्रदानका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल, कमलामाई नगरपालिलकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, कोइका नेपालका उपनिर्देशक युन्ही चुङ, हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निना जोशी, हेफर नेपालका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मी, कोरियाका सिओल डेरी सहकारीको पिएजेयु डेरी क्लिनिकका अध्यक्ष तथा प्रमुख पशु चिकित्सक डा यङ्ग–चान किन, हेफर कोरियाका कार्यकारी निर्देशक हेवोन लीलगायतको उपस्थिति थियो ।

    “मेरो गोठमा जन्मिएको गाम्सा उमालाई उपहार दिन पाउनु मेरा लागि सौभाग्य हो”, कलिलो गाम्साको शरीर मुसार्दै घिमिरेले भन्नुभयो, “गत वर्ष पुसमा गाम्साजस्तै सानो बाच्छी जन्मिएकी थिइन् । आज त्यही गाईबाट जन्मिएको बाच्छी उपहार दिन पाउँदा निकै खुसी लागेको छ ।” 

    उपहार स्वीकार्दै सुवेदीले पनि आफू निकै खुसी भएको बताउनुभयो । “नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन बाच्छी पाउनु मेरा लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “भविष्यमै गाईपालनमा लाग्ने सोच बनाएकी मलाई उच्च आनुवंशिक गुणको बाच्छी सहयोगी बन्ने छ ।” सुवेदीले बाच्छी पाउन करिब छ महिना भने कुर्नुपर्ने हुन्छ ।

    गाईले जन्माएको बाच्छी उपहार दिने चलन पनि कोरियाबाटै चलेको हो । कोरियामा यसलाई ‘पासिङ द गिफ्ट’ भनिन्छ । अर्थात् आफूले प्राप्त गरेको गाईको पहिलो बेतबाट जन्मिने बच्चालाई आफूजस्तै किसानलाई अनिवार्यरुपमा उपहारका रुपमा दिनु हो । यसबाट गाईपालन गर्ने किसानको सङ्ख्या बढाउँदै लैजाने र धेरैभन्दा धेरै किसानको आयआर्जन बढाउनु हो ।

    गुणकुमारीका पति भोला अधिकारीले गाईले ब्याएको आठ दिनसम्म दैनिक २८ देखि ३० लिटरसम्म दूध दिएको  बताउनुभयो । “हामीले गत वर्ष ११ महिनाको उमेरको तोसिली (नेपाली नाम माली) गाई प्राप्त गर्दा तीन सय किलोको थियो । अहिले उसको तौल छ सय ७८ किलो  पुगेको छ । बाच्छी जन्मने बेलामा ४५ किलो तौल थियो । गाईले अहिले दैनिक ३० लिटरसम्म दूध दिइरहेको छ”, उहाँले भन्नुभयो ।

    अधिकारीले गाई ब्याएको सातौँ दिनदेखि डेरीमा दूध बिक्री सुरु गरेको बताउनुभयो । “डेरीमा दूध प्रतिलिटर रु ७६ देखि रु ७७ सम्म बिक्री भएको छ”, उहाँले भन्नुभयो, “गाई ब्याएको २२ दिनदेखि दूध बढ्ने छ ।” तेह्र महिनासम्म गाई पाल्दा करिब रु एक लाख ७५ हजार खर्च भएको उल्लेख गर्दै उहाँले दूध बिक्रीबाट लागेको खर्च तीनदेखि चार महिनामा उठिसक्ने बताउनुभयो । सो गाईको दूध बिक्रीबाट मासिक रु ६० हजारसम्म आम्दानी गर्ने अधिकारीको लक्ष्य छ ।
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…