• किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको पक्षमा सक्रियताको साथ खटिरहेको छ । 
    साझा संस्था भएकोले यायोक्खामा एउटै विचार समूहका मात्र नेता कार्यकर्ताहुने कुरै भएन । संगठनमा जसपा, माओवादी केन्द्र, एमाले, कांग्रेस लगायतमा विचार राख्ने नेता÷कार्यकर्ता भएपनि प्रदेश १ को नाम पहिचानको आधारमा पुन नामङ्कन हुनुपर्छ भन्ने मुद्धामा भने नेताहरु एकमत रहँदै आएका छन् । 
    यायोक्खामा नरहेका तर एमाले, कांग्रेस र माओवादी (केन्द्र)को केन्द्र, प्रदेश, पालिका तथा वडा तहसम्म रहेका राई समुदायका नेता, कार्यकर्ताहरुमा पनि पहिचानको आधारमा पुन नामङ्कन गर्ने कुरामा विमती देखिन्न । सकेसम्म आ—आफ्नो पार्टी भित्र पहिचानको आधारमा पुनः नामङकनको लागि हैसियत अनुसारको लबिङसहित विचार राख्दै आएको पाइन्छ । कांग्रेस, एमालेले संस्थागत रुपममै पहिचानको पक्षमा निर्णय गरिदिए हुन्थ्यो भन्ने भावना ती नेता, कार्यकर्ताहरुमा पाइन्छ । 
    किरात राई यायोक्खा गैर राजनीतिक संगठन भएपनि स्थापना कालदेखि नै समुदायको सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, आर्थिक स्थिति नियाल्दै स्थिति सुधार र देश प्रदेशको संमृद्धिको लागि आवश्यकता अनुसार प्रशिक्षित गर्दै आएको छ । 
    यायोक्खाको २०६३ पुस ८—१० गतेसम्म झापाको दमकमा भएको छौठौँ राष्ट्रिय सम्मेलनले संघीय व्यवस्था भित्र पहिचानको आधारमा प्रदेशहरुको नाम राख्न पहल गर्ने निर्णय पारित गरेको थियो । 
    नेपाली राजनीतिक परिवर्तनको लागि २००७ सालमा रामप्रसाद राई, नारदमुनी थुलुङ, बलबहादुर राई, २०३५ तिर सहिद रत्नकुमार वान्तावा राईहरुले गरेको योगदान छँदैछ । बलबहादुर राईको राजनीतिक क्रियाशिलता, रत्न बान्तावा राईले खेलेको भूमिका र उनीहरुको बारे बनेको चलचित्र, गीत, जीवनि पढेर, हेरेर धेरै राईहरु कम्युनिष्ट वा कांग्रेस बन्दै आएका छन् । 

    यायोक्खाद्वारा जनमत तयार गर्दै
    यायोक्खाको छैठौँ सम्मेलनले इतिहास, सभ्यता, मानव भूगोल, भाषा, संस्कृतिको सम्मानको लागि पूर्बी पहाडी क्षेत्रलाई किरात स्वायत्त प्रदेश नाम राख्नु पर्ने निर्णय पश्चात यायोक्खाले निरन्तर जनमत तयार गर्दै आएको छ । 
    सोही गतिलाई पक्डेर यायोक्खाले नेपालको संविधान जारी हुनु पूर्ब, घोषणापछि पनि ठूला, ठूला सभा र विरोध प्रदर्शनहरु गर्दै आयो । २०७९ फागुन १७ गते डकैती शैलीमा कोशी नाम राखिएपछि संस्थामा आबद्ध नेता, कार्यकर्ताहरु र उत्पादित जनता आक्रोसित छन् ।
    त्यसपछि कोशी नाम खारेजीको आन्दोलनमा नेतृत्वदायि भूमिकामा रहेको यायोक्खा इलाम उपनिर्वाचनमा संस्थागत रुपमै साझा स्वातन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको पक्षमा उभिएर क्रियाशिल रहेको छ ।  
    यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, आदिबासीहरुको मूल संस्था नेपाल आदिबासी जनजाति महासंघ लगायत राजनीतिक, सामाजिक गरेर चार दर्शन जति संस्थाहरु पहिचानको पक्षमा भएको विदित छ । पहिचानको आन्दोलन सुरु भएसँगै किरात, लिम्बुवान, कोचिला, शेर्पालुङ लगायत अधिकार र स्वायत्तताको आन्दोलनमा रहेका सम्पूर्ण शक्ति एकै ठाउँ भएर आन्दोलन गरिरहेका छन् । 

    इलाम उपनिर्वाचनमा यायोक्खा 
    पहिचान आन्दोलन चलिरहेको बेला इलाममा उपनिर्वाचन फेस गर्नुपर्ने भयो । प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्र्ष समितिमा बहिस्कार बारेपनि प्रस्ताव नआएको होइन । अन्तत पहिचान आन्दोलनकै रुपमा निर्वाचन जित्ने निर्णय भएपछि आन्दोलनमा सम्बद्ध राजनीतिक, सामाजिक संगठनहरु एक भएर चुनावी मैदानमा छन् ।   
    इलाम उपनिर्वाचनमा राजनीतिक दलहरु र सामाजिक संस्थाहरुका नेताहरु आकांक्षी हुँदाहुदै यायोक्खा अध्यक्ष जीवन हाताचो राईले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उमेद्वारको रुपमा प्रस्ताव गरेका थिए । 
    अन्तत प्रेम एक्तेन, डा. महेन्द्र लावती, कुमार लिङ्देन (मिराक), केपी पालुङ्वा, सञ्जुहाङ पालुङवा, खगेन्द्र माखिम, लोकसागर साम्बा, कृष्ण राई जस्ता राजनीतिक सामाजिक क्षेत्रमा स्थापित नेताहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई खुसीसाथ स्वीकारेर सबै नेताहरु चुनावी मैदानमा एकताबद्ध भएर लागिरहेका छन् । 
    यायोक्खा अध्यक्ष जीवन हाताचो राईको वैचारिक कमाण्डमा यतिवेला यायोक्खा उपाध्यक्षहरु राकेश राई, युवराज राई, महासचिव भीम राई, उपमहासचिव कृष्णकुमार राई, मञ्जु सोताङ, सचिब नागेशचन्द्र राई, केन्द्रीय सदस्य ज्ञान किराती, इलाम जिल्ला अध्यक्ष पुष्षा राई, किरात राई प्रज्ञा परिषद सदस्य भद्रगोल किरातीको टोली उपनिर्वाचनमा सक्रियताको साथ लागिरहेका छन् । 
    इलाम २ नं. क्षेत्र झापा र मोरङसँग पनि जोडिएको कारण यायोक्खा झापा जिल्ला उपाध्यक्ष केवलराम राई, सचिव सुशन राई, सदस्य गौरिमान राई, मोरङ जिल्ला अध्यक्ष केदार राई, सदस्य युवराज राई चुनावी मिशनमा रहेका छन् । 
    निर्वाचनको सिंङ्गो आर्थिक बिभागको संयोजक यायोक्खा उपाध्यक्ष जनक राई, प्रचार संयोजनको जिम्मा उपमहासचिव अर्जुन राईले लिएर क्रियाशिल रहेका छन् । पहिचानको आधारमा पुन नामकरण आन्दोलनको नेता डकेन्द्रसिंह थेगिम लिम्बूले स्वतन्त्र रुपमा उमेद्वारी दिएपछि सहकर्मी संगठनहरुको नैतिक जिम्मेवारी मात्र होइन कर्तब्य ठानेर लागिरहेको यायोक्खा अध्यक्ष जीवन हाताचो राईको भनाइ छ । यायोक्खा इलाम र २ नं. क्षेत्रमा रहेका हरेक समितिलाई डकेन्द्रसिंह थेगिम लिम्बूको पक्षमा भोट माग्न र भोट लिन सर्कुलर गरिएको महासचिव भीम राईले बताए । यायोक्खाले संस्थागत रुपमै निर्णय गरेपछि उपनिर्वाचनमा यायोक्खा झण्डा, व्यानर, ढोल झ्याम्टासहित मैदानमा उत्रिएको छ । देश विदेशमा रहेका यायोक्खा र राई समुदायले यो पटक पार्टीभन्दा मुद्धामै केन्द्रीत भएर सहयोग र शुभेच्छा राखिरहेका छन् । सोही अनुसार प्रचार प्रशारमा लागिरहेको पाइएको छ । 

    निर्वाचन परिणाम कस्तो आउला ?
    इलाम उपनिर्वाचनको नजिता कस्तो आउला भनेर अहिलेनै भन्न सकिने स्थिति छैन् । नेपाली समुदायमा विश्वको ध्यान खिचेको निर्वाचनमा चुनावी प्रचार, प्रशारलाई आधार मान्ने हो भने मुढा चिन्हको उमेद्वार थेगिमको जितको स्थिति देखिन्छ । स्वतन्त्र भएको कारण फेरिपनि बैशाख १५ गतेसम्म माहोल टिकाउन भने उत्तिकै चुनौति छ । 

    डकेन्द्रसिंह थेगिमसँग फरक एजेन्डा
    एमाले, कांग्रेसबाट उमेद्वार बनेका सुहाङ नेम्वाङ, डम्बर खड्कासँग भन्दा डकेन्द्रसिंह थेगिमसँग चुनावी एजेन्डा फरक छ । जितेर गएपछि संघीय संसद र सडकबाट प्रदेशहरुको पुन नामङ्कनको बारे आवाज बुलन्द गर्दै मेची—महाकाली वातावरण तयार गर्ने अन्य तीन पार्टीको भन्दा फरक एजेन्डा हो । नेपाल देशको क्यान्सरको रुपमा बिकासहुँदै गएको भ्रष्ट्राचारी, कमिशनखोरहरु विरुद्ध कार्यकालभरी आवाज दिने अनि देशलाई समानुपातिक, समावेशी राज्य व्यवस्थाको लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने अन्य उमेद्वारहरुको भन्दा थेगिमका एजेन्डा पृथक छ । भ्रष्ट्रार नगर्ने र बोल्ने भनेपनि उमद्वरी दिएका ३ पार्टीका अन्य सांसदहरुले आफ्नो नेता विरुद्ध बोल्ने, लेख्ने कुरै भएन् । 
    इलाम र २ नं. क्षेत्रको सडक, बिजुली, खानेपानी, सिंचाइ, विद्युत, युवाहरुलाई रोजगारी लगायत सामाजिक विकास, मजदुर, किसानहरुको हितहुने कार्यक्रम र कानुनहरु निर्माण त साझा एजेन्डा भए । 

    भ्रष्ट्रारा काण्डहरुको कारण राजनीतिक पार्टीप्रति वितृष्णा
    पार्टीका केही नेताहरु सरकारी जग्गा व्यक्तिको नाममा पार्ने, सय किलो सुन, नक्कली भुटानी शरणार्थी, वाइडबढी विमान खरिद, सहकारी ठगी लगायत काण्डमा एमाले, कांग्रेस, माओवादी केन्द्रका नेताहरु मुछिन थालेपछि नेपाली राजनीतिमै वितृष्णा स्वरुप गएको निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान र धनगडी उपमहानगर पालिकामा मेयर स्वतन्त्रले जितेका थिए । रास्वपा पनि यस्ता काण्डहरुकै कारण स्थापित भएका थिए । यद्यपि रबि लामिछाने सहकारी ठगि आरोपमा विवादित छन् । 
    स्थापित पार्टी नेताहरु विचार सिद्धान्तलाई तलाञ्जली दिएरै व्यक्ति स्वार्थ, परिवारवादतिर प्रत्येक्षरुपमा लागेपछि दुर्गा प्रंसाइको पछाडी पनि मानिसहरु लागेको देखिन्छ । 

    सरकारी गठबन्धन चुनावमा एक्लाएक्लै
    किरात र लिम्बुवान छुट्टाछुट्टै आन्दोलन गरिरहँदा मिल्न सक्दैनौ, एक हुनु नि भनेर सुझाव दिने गरेका एमाले, माओवादी केन्द्र, नेकपा (एस) र रास्वपा सरकारसँगै भएपनि निर्वाचनमा मिल्न सकेनन् ।
    एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा (एस)ले बझाङको प्रदेश सभा र इलाम प्रतिनिधि सभामा साझा उमेद्वार दिन सकेनन् । एमाले र नेकपा (एस)ले दुवै स्थानमा उमेद्वार उठायो । रास्वपाले इलाम र माओवादी केन्द्रले बझाङमा मात्र उमेद्वारी दिएर चारवटै पार्टी एक्ला एक्लै निर्वाचन लडिरहेका छन् । सरकारमा सँगै बसेर कम्तिमा दुई वटा पार्टीले साझा उमेद्वारी नदिनुपनि पार्टी र नेताहरु अवसरको छिनाझम्टीबाट माथि उठ्न सक्दैनन् भन्ने प्रष्ट देखिन्छ । 

    भविश्यमा उलटफेर हुनसक्छ
    यता यो निर्वाचनमा जसपाको छाता, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दापसहितको खुकुरी, राष्ट्रिय जनमुक्ति पार्टीको घर, नागरिक उन्मुक्ति पार्टीको ढाकी चुनाव चिन्ह स्थागित गरेर त्यागको भावनाले एकताबद्ध हुनु नै पनि पहिचानवादीहरुको एक प्रकारको जित हो । पार्टी नेताहरु परिवर्तन नहुने र वर्गीय, सामुदायिक रुपमै उत्पीडितहरु यसरी एकता कायम राख्न सके भविश्यमा नेपाली राजनीतिलाई उलटफेर हुनसक्छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…