• मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोरङको पथरीशनिश्चरेहुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुन बन्द गरेका छन् । 

    ठेकदारले सहमति अनुसार काम नगरेको भन्दै मोरङ पथरीशनिश्चरे नगर—९ स्थित महेन्द्र चोकमा उपभोक्ताहरुले सडकमा होप होम पाइप, ढुङ्गाहरु र बाँसले बारेर सडक अवरोध गरेका हुन् । पुन काम नथालेसम्म सडक नखोल्ने सडक संघर्ष समितिको सहसंयोजक सुमन वनेमले बताए । 

    मोरङ पथरीशनिश्चरे नगर—१० स्थित मनमोहन गान्धी सडक शिविरडाँडाबाट दक्षिण रंगेली जाने सडक हो । सम्झौता गरेपनि निर्माणमा ढिलासुस्ति गर्दा उपभोक्ताहरुले बेलाबेला सडक बन्द गराएर आन्दोलनमा उत्रिदै आएका छन् । 

    कान्छारामले ठेक्का पारी सम्झौता गरेपनि निर्माण कार्यमा ढिलो गर्दा उपभोक्ताहरुलाई सडक उपभोगमा समस्या छ । सडक प्रयोगमा मात्र होइन बर्खामा हिलोमा डुब्नुपर्ने र हिउँदमा धुलोले पुरिनुपर्ने समस्या छ । 
    सडक चाढो बनाउन र हिलो, धुलोबाट मुक्त गर्न माग गर्दै करिव छ महिना अघि (२०८० मंसिर १२) सोही स्थानमा उपभोक्ताहरुले करिव हप्तादिन सडक बन्द गराएका थिए । 
    सडक चाँडो निर्माण गर्न पटक पटक पहल गर्दापनि सुनुवाइ नभएपछि पीडितहरुले वीरेन्द्र गुरुङको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेरै आन्दोलन गरेका थिए । 

    मंसिरमा कान्छाराम कन्ट्रक्सन कम्पनीका मेनेजर दीपक थिङ, पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, आन्दोलनकर्मीहरुको तर्फबाट संयोजक बीरेन्द्र गुरुङ, सहसंयोजक सुमन वनेम, वडा अध्यक्षहरु बसेर सहमति भएको थियो । 
    त्यसबेला कम्पनीले सडकमा दैनिक पानी लगाएर धुलो उड्न नदिने, बैसाकसम्म कालोपत्रे गरिसक्ने, बैसाकसम्म कालोपत्रे नभए ९, ८ र ४ नं. वडा अध्यक्षहरु क्रमस वीरबहादुर राई, नवीन कार्की र लोककिरण न्यौपानेसहित सडक आन्दोलनमा आउने सहमति भएको संघर्ष समितिका सहसंयोजक सुमन वनेमले बताए ।

    सहमति अनुसार केही महिना काम गरेपनि फेरि छाडेर हिडेको, काम ढिला गरेकोले पुन सडक बन्द गर्नुपरेको वनेमले बताए । सडक निर्माणमा अति ढिला भएपछि बन्द गर्न उपभोक्ताहरु बाध्य भएको स्थानीय भुवन धिमालको भनाइ छ । 

    पथरीशनिश्चरे नगरको भुटानी शरणार्थी शिविर मुख्य सडक दक्षिण रंगेलीसम्म २५ किलो मिटर लम्बाई र ६० फिट चौडाइको निर्माण हुने सडकको ठेक्का पूर्ण तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पारेको थियो ।

    कालोपत्रे (पुरानो) उप्काएर ग्राबेल लगाएर हिडेपछि निर्माण कम्पनी करिव दुई बर्षदेखि बेपत्ता थियो । मंसिरको आन्दोलनमा भएको सहमतिपछि आएर काम थालेपनि पुन काम छाडेर हिडेकोले सडक बन्द गर्नुपरेको स्थानीय उपभोक्ताहरुको भनाइ छ । संघर्ष समितिले २०८० मंसीर १३ गने महेन्द्र चोक स्थित सडकमै पत्रकार सम्मेलन गरेर पीडितहरुले गुनासो सुनाएका हुन् । 

    हिउँदमा धुलोको कारण सुद्ध खाना खान र लुगा धोएर सुकाउन नपाएको पीडितहरुको भनाइ थियो । अत्याधिक थुलोको कारण बृद्धाबद्धा र बालबालिकाको स्वास्थ्यमा समस्या भइरहेको संघर्ष समितिको सदस्य ईश्वर चौहानले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…