• पहिचानवादी संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ झापाबाट सुरु भएको छ । 
    कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामङ्कन गर्न जनता जगाउने उदेश्यले भदौ १५ गते झापाको बिर्तामोडबाट अभियान सुरु गरेको हो । दुई चरणमा गरेर कार्तिक १७ गतेसम्म १४ जिल्ला अभियान गर्ने तालिका सार्वजनिक भएको छ । 
    संयुक्त संघर्ष समितिले गत असार १ र २ गते ताप्लेजुङको फुङलिङ बजार भएको बैठकले २०८१ मंसिर २ गते विराटनगरमा वृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय गरेको थियो । आन्दोलनलाई प्रभावकारी बनाउन डकेन्द्रसिंह थेगिम संयोजक तोकेर अभियन सञ्चालन गर्ने निर्णय गरेको थियो । 
    सोही निर्णय अनुसार ‘इतिहास, भूगोल, सभ्यता र संस्कृतिको रक्षार्थ हाम्रो आव्हान, संमृद्ध नेपाल र पहिचानको आधारमा पुन नामकरण गर्न जिल्ला जागरण अभियान’ भन्ने नाराको साथ भदौ १५ झापा र १६ गते मोरङमा प्रशिक्षण भएको छ । 
    झापामा संघर्ष समिति जिल्ला संयोजक पाण्डवलाल चौधरी र मोरङ बेलबारीमा रामभक्त कुरुम्बाङको अध्यक्षतामा कार्यक्रम भयो । 

    पाँच पार्टी मिलेर निर्वाचन हराएः थेगिम

    इलाम उप निर्वाचनमा पहिचान पक्षधरको साझा उमेद्वार रहेका डकेन्द्रसिंह थेगिमले उपनिर्वाचनमा पहिचानवादी एकपट्टी र अरु सम्पूर्ण दल अर्कोतिरको स्थिति भएको बताए । 
    एमाले उमेद्वारलाई माओवादी, रास्वपा, राप्रपा, नेकपा (विप्लव), र कांग्रेसको एउटा पक्ष पुरै लागेर जिताएको थेगिमले बताए । 
    पहिचानवादीले जित्ने परिस्थिति देखेपछि माथिल्लो तहमा एमाले, कांग्रेस, रास्वपा लगाएतका दलहरु एकतिर लागेर चुनाव हराएको थेगिमको भनाइ थियो । यद्यपि पहिचानवादीहरुलाई आएको करिव १२ हजार भोटले पार्टीका नेताहरु आतंकित भएर विश्वमा कहि नभएको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने, सविधान सशोधनसम्मको तयारी गरिरहेको बताए । 
    थेगिमले देशमाहुँदै आएको बेथितिको विरुद्ध र पहिचानको पक्षमा दिनदिनै माहोल बढ्दै गएको भन्दै निर्णायक आन्दोलनको लागि तयार हुन जनतालाई आव्हान गरेका छन् । 

    जनयुद्धलाई महान नै भन्नुपर्छः लिङदेन


    झापा र मोरङको प्रशिक्षणमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक)ले आफ्नो पार्टी आन्दोलन सफल भइन्जलसम्म संयुक्त संघर्ष समितिमा रहने बताए । 
    प्रशिक्षणमा सचेट ढंगले निर्णायक आन्दोलनको लागि तयारहुनु पर्ने लिङ्देनको भनाइ थियो । 
    जनयुद्धलाई हेर्ने दृष्टिकोण बारेमा चलिरहेको बहस सम्बन्धमा विचार राख्दै माओवादी जनयुद्धको कारण संघीय गणतन्त्र आएकोले जनयुद्धलाई अपमान गर्न नमिल्ने बताए । ‘महान जनयुद्ध हो’ लिङ्देनले भने ‘म कम्युनिष्ट होइन, तर म जनयुद्धलाई महान भन्छु ।’
    लिङ्देनले पछिल्लो राजनीतिक उतार चढाव हेर्दा मंसिरदेखि हुने कोशी नाम खारेजीको आन्दोलन भयंकर हुने बताए । इलाम—२ मा पहिचानवादी संगठनको साझा उमेद्वार दिने मोडेल स्थापित भएकोले आगामी दिनमा सोही मोडल अनुसार जानुपर्ने बताउदै अएका छन् । 

    गोलमेच सम्मेलनको आयोजना गरौः तिलक

    मोरङको कार्यक्रममा सम्बोधन गर्दै किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले पहिचानको आधारमा पुन नामकरणको लागि राजनीतिक दलसहितको गोलमेच सम्मेलन गर्नुपर्ने बताए । 
    कोशी नदी अनि कसैले नमागेको नाम कोशी खारेजीको मुद्धा सहि भएको करण खारेजी निश्चित रहेको राईको भनाइ थियो । 

    आन्दोलनले समाजवाद स्थापित गर्छः जम्नेली
    झापाको कार्यक्रममा बोल्दै किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले पहिचानको आन्दोलनले समाजवादी राज्य व्यवस्था स्थपित हुने बताए ।
    संमृद्ध नेपाल, न्याय, समानता, शुसासन, नयाँ राष्ट्रिय एकताको साथै नेपाली राष्ट्रियता बलियो बनाउन पहिचान आन्दोलन रहेको बताएको भनाइ छ । 
    कोशी नाम खारेजी र बढ्दो भ्रष्टाचार विरुद्धको जनविद्रोह मार्फत समाजवादी राज्य व्यवस्था स्थापित हुने बताए । 
    यायोक्खा उपमहासचिव राईले समाजवादको अर्थ साझा स्वामित्व, मिलिजुली र बराबर हुने बताउदै उत्पादन तथा वितरणमा समानता नै समाजवाद भएको व्याख्या गरे । 
    नेपालमा रहेको सिमित श्रोत, साधन र अवसर एउटा सानो समुहले हालिमुहाली गर्दै आएकोले वर्गीय हिसावले बाहुन, क्षेत्री पनि बेरोगजारीको कारण विदेशिनु परेको, स्वास्थ्य, शिक्षा, गरिबीको समस्यामाको मुख्य कारण वर्तमान नेताहरुको व्यबहार रहेको बताए । 
    राईले कोशी नाम खारेजी कुनै जाति विरुद्ध नभएर जनताको आत्म सम्मान र समाजवाद (साझा स्वामित्व, अवसर समान वितरण)को लागि रहेको बताए । 
    कांग्रेस, एमाले, माओवादीमा आबद्ध युवाहरुले समाजवाद÷साम्यवाद, पुँजिवाद के हो ? पार्टीहरुले लिएको नीति, दर्शन, विचार सिद्धान्त नेताहरुको जीवनमा लागू गर्दै आएका छन ? आम नेता कार्यकर्ताले विचार दर्शन अनुसारको जीवन शैली छ ? प्रस्न गर्दै विचार गरेर देशमा नयाँ स्थितिको सिर्जना गर्नुपर्ने बताए । नबुझेको भए बुझ्ने कोशिस गनुपर्ने, बुझेर भातकै लागि आत्मा सम्मान बिक्री गर्न नहुने राईले बताए । 
    नेपालको वर्तमान मुद्धा समान सहभागिता र अवसर समान वितराण रहेकोले देशलाई सहि ट्रयाकमा ल्याउन पार्टी भित्र र बाहिर आवाज उठाउन सक्नु पर्ने यायोक्खा उपमहासचिव राईको भनाइ थियो । भाषा, लिपी, संस्कारको स्थिति मूल्याङ्कन गर्नुपर्ने बताए । 

    प्रशिक्षणमा को को सहभागी भए ?

    झापा प्रशिक्षणमा पहिचानसहितको पुन नामकरण अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष कुमार लिङ्देन (मिराकं), किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल राष्ट्रि जनमुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ, नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष धनबहादुर पन्धाक, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य टुपेन्द्र एक्तेन, राजवंशी सेवा समाजका केन्द्रीय अध्यक्ष अभय राजवंशी, जसपा झापा जिल्ला अध्यक्ष सागर राई, पहिचानका लागि युवाको झापा सचिव गौरिमान राई लगायतले आन्दोलन शसक्त र व्यवस्थित बनाउने बारे विचार राखेका थिए । 
    कार्यक्रम किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्षसमेत रहेका संघर्ष समितिका सचिव सेसेहाङ फ्याकले सञ्चालन गरेका थिए । 

    मोरङमा प्रशिषण

    मोरङ बेलबारीमा भएको प्रशिक्षण कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, डकेन्द्रसिंह थेगिम, कुमार लिङ्देन, नेपाल राष्ट्रि जनमुक्ति पार्टीको प्रदेश सचिव एलपी पालुङ्वा, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य नन्द याम्फू, पहिचानवादी मोर्चाका केन्द्रीय सदस्य केदार धिमाल, जसपा प्रदेश अध्यक्ष केशरमान गुरुङ, जसपा नेपालका शान्ता मोक्तान, नेकपा .(विप्लाव)को तर्फबाट सुनिता किरातीले विचार राखेका थिए । 
    फोनिज प्रदेश ईन्चार्ज भक्तशेर लिम्बू, धिमाल जातीय विकास केन्द्रका नेता अजित धिमाल, नेपाल आदिबासी जनजाति महासंघ मोरङ उपाध्यक्ष भोजवीर माझी, गुरुङ राष्ट्रिय परिषदको मोरङ जिल्ला अध्यक्ष मनकुमार गुरुङ लगायतले विचार राखेका थिए । 
    संघर्ष समितिका संयोजक रामभक्त कुरुङबाङ्गको सभापतित्वमा भएको कार्यक्रम सचिव जयराज संयोगले सञ्चालन गरेका थिए । 

    कस्तो होला आन्दोलन
    कोशी नाम खारेजीको आन्दोलनमा ४२ बर्षिय युवा पदमकुमार लिम्बू (लाजेहाङ)को झडपमा परी मृत्यु भइसकेको छ । गजेन्द्र फागोको घुँडामा गोली लागेर उपचाररत छन् । 
    इलाममा आशिष लिम्बू करिव डेढ बर्षदेखि जेलमा रहेका छन् । १५० बढी घाइते, २५० बढीलाई मुद्धा लागेको छ । 
    संघर्ष समिति निर्णायक आन्दोलनको तयारी गर्दैछ । पहिचान आन्दोलन सुरुहुँदा माओवादी, ससपा .(वर्तमान विभाजित भएर २ समूह) सरकारमा थियो । 
    सरकारमा भएपनि यी संगठनमा रहेका धेरै कार्यकर्ताहरुले आन्दोलन प्रति सहानुभूति रहेको थियो । यतिवेला माओवादी सत्ता बाहिर रहेको छ । जसपा दुबै संगठन आन्दोलनको मोडमा देखिन्छ । आन्दोलनमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय, पहिचानवादी मोर्चा, नागरिक उन्मुक्ति पार्टीले समेत संगठन सुदृद्धिकरण गरिरहेको छ । 
    एमाले, कांग्रेस भित्र पनि पहिचान नेता, कार्यकर्ताहरु आन्दोलन प्रभावकारी बने पार्टी भित्र दबाब दिने वा खुलेर सडकमा उत्रिने परिस्थिति सिर्जना हुनसक्ने अवस्था देखिन्छ । 
    स्थिति हेर्दा आगामी प्रदर्शन वृहत, आन्दोलन प्रभावकारी बन्ने र निर्णायाक मोडतिर जानसक्ने देखिन्छ । श्रीलंका र बंगलादेशमा भएको जनविद्रोह र नेपालका नेताहरु भ्रष्टाचारमा मुछिएको कारण जनतामा बितृष्ण बढ्दो छ । आन्दोलन उठ्दै गए स्थापित पार्टीहरुको नेता, कार्यकर्ताहरुले भ्रष्ट नेताहरुको साथ छाडेर आन्दोलनमा आउने स्थिति सिर्जना हुनेछ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता कार्तिक १५ …

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित न्यू प्यागोडा इङ्लिस बोर्डिङ स्कुलले मिस नेपाल ग्लोब&md…

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …