मोरङ । स्थानीय समुदायको विरोधको बाबजुद ताप्लेजुङको मुकुमलुङ .(पाथीभारा)मा केवलकार बनाउन जवरजस्ति भइरहेको विरुद्ध किरात राई यायोक्खाले नारा जुलुस प्रदर्शन गरेको छ ।
पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र मुकुमलुङलाई प्राकृतिक रुपमै रहन दिनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन भइरहेको छ । चन्द्र ढकालको कम्पनीले भने केवलकार लगाउन प्रयास गरिरहेको छ । आन्दोलनरत पक्षले भने राज्य शक्तिको दुरपयोग गर्दै जवरजस्ति भए आन्दोलन अझ कडा पार्दै लाने बताउदै आएको छ ।
कार्तिक २३ गते प्रहरीको ठूलो उपस्थितिमा केवलकार शिलन्यास गर्न खोजेपछि झडप भएको थियो । झडपमा कुखुरी हानाहानहुँदा दुवैपक्ष घाइते भएका छन् ।
सो बिषयमा किरात राई यायोक्खा झापाले आइतबार .(कार्तिक २५) विर्तामोडमा नारा जुलुससहित विरोध प्रदर्शन गरेको छ । मंसिर २ गते विराटनगर प्रदर्शन बारे यायोक्खा झापा जिल्लाको बैठक राखेको थियो ।
बैठकमा यायोक्खा संघीय उपाध्यक्ष तिलकप्रसाद राई, महासचिव भीम राई, उपमहासचिव अर्जुन जम्नेली राई, सचिव नगेशचन्द्र राई लगायतको उपस्थिति रहेको थियो । बैठकमा विराटनगर प्रदर्शनमा यायोक्खाको तर्फबाट व्यापक उपस्थितिहुने निर्णय भएको जिल्ला अध्यक्ष गणेश राईले बताए ।
बैठकपछि सहभागीहरुले मुकुमलुङमा केबलकार—बन्द गर, मुकुमलुङलाई प्रकृतिक रुपमै—रहने, राज्य आतंक—बन्दगर, जनताको आन्दोलन—जारी छ, दलाल चन्द्र ढकाल—होसियार लगायतको नारा लगाउदै विरोध प्रदर्शन गरेका थिए ।
यायोक्खाले मुकुमलुङमा भइरहेको आन्दोलनको पक्षमा विरोध प्रदर्शन गर्न जिल्लाहरुलाई समेत निर्देशन दिएको महासचिव भीम राईले बताए ।