मोरङ । ताप्लेजुङको मुक्कुमलुङ÷पाथीभरामा नो केवलकार आन्दोलनमा प्रहरीको गोली लागि उपचाररत घाइतेहरुलाई किरात राई यायोक्खा केन्द्रीय समितिले बिहिबार भेटघाट गरी आर्थिक सहयोग प्रदान गरेको छ ।
यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको नेतृत्वमा गएका यायोक्खाका पदाधिकारी सदस्यहरुले गोली लागेका घाइते तीन जनाको स्वास्थ्य अवस्था बुझ्नुको साथै जनही १५ हजारको दरले सहयोग प्रदान गरेको हो ।
माघ १२ गते प्रहरीले चलाएको गोली लागेर धर्म पालुङ्वा, याम लिम्बू र सगुन लावती गम्भीर घाइते भएका थिए । तीनै जनाको काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
यायोक्खा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुबाट रकम संकलन गरेर तीन जनालाई ४५ हजार फलफूल खर्च प्रदान गरेको यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए ।