मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नागरिक सुरक्षा सहयोग समिति गठन भएको छ ।
भदौ २३ गते भएको जेनजी आन्दोलनमा १९ जनाको हत्यापछि २४ गतेको देशव्यापी तोडफोड र आगजनी पछि बढेको सुरक्षा चुनौतिलाई सामना गर्ने उदेश्यले समितिहरु गठन भएको हो ।
पछिल्लो घट्नाको कारण सुरक्षाको पूर्ण अनुभूति नभएपछि पथरीमा बिहिबारसम्म बैंक, सहकारी संस्थाहरु, सुन पसलहरु खुलेका छैनन् ।
यस्तो अवस्थामा सुरक्षा चुनौती सामना गर्न भक्त राईको संयोजकत्वमा ५५१ सदस्यीय पथरीशनिश्चरे नागरिक सुरक्षा सहयोग समिति गठन भएको छ ।
पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको सभापतित्वमा भएको भेलाले तत्काल सुरक्षा चुनौती आएमा तुरुन्त आन्तरिक सर्कुलर गर्दै सहयोग गर्ने, प्रशासनमा खबर गर्ने निर्णय भएको छ ।
अपरिचित मानिसहरु, माक्स लगाएका शंकास्पद व्यक्तिहरु आए निगरानी राख्ने, सीसी क्यामेरामा रेकर्ड भएका फुटेजहरु सुरक्षित गर्ने, गाउँटोलमा सीसी क्यामरा राख्न आव्हान गर्ने, घरघरमा सुरक्षा सम्बन्धी तयारीमा बस्ने र बस्न आव्हान गर्ने निर्णय भएको समितिका संयोजक भक्त राईले बताउनुभयो ।
नागरिक सुरक्षा सहयोग समिति नगरभरीबाट सदस्य समेटिने र वडा वडामा समिति गठन गर्ने संयोजक भक्त राईले बताउनुभयो । यसैगरी कुलमणी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय पथरीको रत्नचोक सुरक्षा समिति, सगरमाथा टोल लगायत विभिन्न टोलहरुमा आफ्नो सुरक्षाको लागि समितिहरु गठन भएका छन् । समितिले मुख्य त सूचना सर्कुलर गर्ने, आवश्यक प्रशासनको संयोजनमा गस्ती गर्दै सुरक्षाको अनुभूति गराउने बताइएको छ ।