मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधानिकताको बारेमा बहस भइरहदा नेपालमा सफ्ट बिद्रोहको रुपमा पूर्बी नेपालमा आर्को छुट्टै राष्ट्रपति र प्रधानमन्त्री घोषणा भएको छ ।
भ्रष्टाचार विरुद्ध भएको जेन जी विद्रोहपछि अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालको राष्ट्रपति रामचन्द्र पौडेले नियुक्त गरेपछि कामकारबाही सुरु भएको छ । यद्यपि नेपालको संविधानको धारा ६१ (४)मा प्रधानमन्त्री नियुक्त बारे नबोलेको भन्दै समाजिक सञ्चालहरु मार्फत बहस चलिरहेको छ ।
यता नेपालको पूर्वी पहाडमा २०८२ भदौ २६ गते नै सफ्ट विद्रोहको रुपमा मित्र लिङ्देन (मिशाम) राष्ट्रपति, मनिष हेल्लोक प्रधानमन्त्री रहेको ‘लिम्बुवान सरकार घोषणा’ भएको छ ।
सरकार घोषणा भएको विज्ञप्ति सामाजिक सञ्जाल मार्फत प्रचार भएको विज्ञप्तिमा सो सरकारको परराष्ट्र मन्त्री दिल पालुङ्वा रहेको उल्लेख छ । त्यसैगरी प्रेम याक्थुङ्बा, तीन छावा याक्थुङ्बा, ओनहाङ याक्थुङ्वा, किसन कार्की थक्सुबा बिना बिभागीय मन्त्री रहेको उल्लेख छ ।
नेपाली सेना, मुद्रा र परराष्ट्र सम्बन्ध केन्द्र सरकारले हेर्ने बाँकी सम्पूर्ण सह राज्यको रुपमा लिम्बुवान सरकारले हेर्ने उल्लेख छ ।
विज्ञप्ति मार्फत घोषित सफ्ट विद्रोही ‘राष्ट्रपति मित्र लिङ्देन’ले १८३१ मा भएको गोरखा राज्यसँगको सम्झौता, २०६४ चैत्र ६ गते भएको ५ बुँदै सहमतिको आधारमा लिम्बुवान समानान्तर सरकार गठन गरेको बताउनु भएको छ ।
लिङ्देनले गोरखा र नेपाल सकारसँगको सम्झौता र सहमतिकै आधारमा सरकार गठन भएको भन्दै खुल्ला रुपमै काम गर्ने बताउनुभयो ।
विज्ञप्ति मार्फत घोषित लिम्बुवान सरकारको राष्ट्रपति भनिएका मित्र लिङ्देन संघीय लिम्बुवान पार्टीका केन्द्रीय अध्यक्ष, प्रधानमन्त्री भनिएका मनिष हेल्लोक लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष र परराष्ट्र मन्त्री भनिएका दील पालुङ्वा लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रहेका छन् ।