• किसोर श्रेष्ठ

    उर्लाबारी, भदौ २५ / पूर्वपश्चिम राजमार्गमा पर्ने मोरङ उर्लाबारीको पूर्व बसस्टेण्डको अवस्था दयनीय बन्दा समेत सरोकारवाला निकाय मौन देखिएका छन् । मोरङ जिल्ला कै दोस्रो ठूलो शहरका रुपमा परिचित उर्लाबारीको पूर्व बसस्टेण्डको अवस्था दुर्गम गाउँको भन्दा पनि नाजुक रहेको पाईन्छ । अस्थायी रूपमा संचालित उर्लाबारी ६ मा रहेको बसस्टेण्डमा खाल्डाखुल्डी बनेको कारण सवारी चालक र यात्रुलाई समस्या भएको छ भने सवारी दुर्घटनाको जोखिम समेत उक्तिकै बढेर गएको छ । वर्षा याममा परेकोे झरीका कारण बनेको खाल्डाखुल्डीको मर्मत नहुदाँ यतिबेला जोखिम सिर्जना भएको हो । जताततै खाल्डाखुल्डी र त्यसमा जम्मा भएका पानीले गर्दा बसस्टेण्ड झट् हेर्दा माच्छा पोखरी जस्तो देखिन्छ ।


    लामो समयदेखि बसस्टेण्डको अवस्था नाजुक रहँदा समेत स्थानीय सरोकारवालाले यसको स्तर उन्नतिमा कुनै चासो नदिदा सुधार आउन सकेको छैन भने यात्रुले दैनिक रुपमा समस्या झेल्नुपरेको छ । महेन्द्र राजमार्ग हुँदै दैनिक रुपमा सयौंका सवारी साधन आवातजावत गर्नुका साथै यात्रु ओराल्ने, चढाउने गर्दै आएको बसस्टेण्डको हविगत दयनीय बन्दा अन्य शहरबाट उर्लाबारी आएका आगन्तुकहरुमा समेत नकारात्मक छाप छोडेको पाईन्छ ।

    बसस्टेण्डमा भएका ठुलठुला खाल्डाखुल्डीका कारण दैनिक जसो आवातजावतमा जनताले सास्ती बेहोर्नु परेको र दुर्घटनाको जोखिम पनि अत्यधिक रहेको स्थानीय किशोर राई बताउँछन् । जनताका लागि राजनीति गर्छौं भन्ने जनप्रतिनिधिले यस बिषयमा गम्भीर भएर सोच्न जरुरी रहेको उनले बताए ।

    काकरभिट्टा बिराटनगर कुद्ने मे १ ख २१०२ नम्बरको नर्वदा ट्राभल्स बसका चालक विनम राईका अनुसार खाल्डाखुल्डी जोगाएर कुदाउँदा दुर्घटना हुनसक्ने जोखिम रहन्छ । एक त साघुरो गल्ली त्यसमाथीे यात्रुको भिड्भाड् अनि खाल्डाखुल्डी भएका कारण पनि दुर्घटना हुने सम्भावना उच्च रहेको उनले औल्याए । बसस्टेण्डका खाल्डाखुल्डी कै कारण त्यस बाटोहुँदै हिड्ने पैदल यात्रुले समेत समस्या भोग्नु परेको छ । सवारी चालकले खाल्डाखुल्डा कटाएर लैजाने क्रममा पैदल हिड्नेहरुलाई ठक्कर दिनसक्ने सम्भावना रहेकाले पनि जोगिएर हिड्नु आवश्यक रहेको उर्लाबारी –७ का कृष्ण भण्डारीले बताए । 

    बसस्टेण्डको खाल्डाखुल्डीका कारण ट्राफिक प्रहरीले समेत समस्या झेल्नुपरेको अस्थाही ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मि ओझाले बताएका छन् । खाल्डाखुल्डी कारण जथाभावी सवारी साधन रोक्ने गर्दा यात्रुलाई बसबाट चड्नु र झर्नु समस्या भएको र जुनसुकै बेला सवारी साधनले ठक्कर दिने सम्भावना समेत रहेको उनले बताए । सरोकारवाला निकायले यसको मर्मत सम्भारमा चासो देखाए सम्भावित दुर्घटना न्यूनीकरण हुनसक्ने उनले बताएका छन् ।



    केही दिन अघिमात्रै सोही किसिमको अवस्था रहेको पश्चिम बसस्टेण्डका खाल्डाखुल्डी राजनितिकर्मी मानबहादुर श्रेष्ठले पुरिदिएका थिए । लामो समयसम्म राज्यका कुनै निकायको आँखा नपरेको उक्त स्थानका खाल्डाखुल्डी राजनितिकर्मी श्रेष्ठले व्यक्तिगत खर्चबाट पुरिदिएका हुन् ।
    दुई वर्षअघि उर्लाबारी–६ मा बसपार्क निर्माणको कार्य सुरु भएपनि हालसम्म अधुरै रहेको छ । शहरी विकास मन्त्रालयले ५ करोड ८० लाख रूपैयाँ बिनियोजन गरेपनि उक्त रकम निकासा नहुँदा हालसम्म काम हुन सकेको छैन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…