हरि कोइराला
उर्लाबारी । तेह्र वर्ष अघि राष्ट्रलाई एक हजार मुर्ति निर्माण गरी सुम्पने घोषणा गर्नु भएका मोरङ,उर्लाबारी–६ का मुर्तिकार मञ्जुल बराइली(मन्जुल मितेरी)ले आफ्नो अभियान अबको १० वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
ढुङ्गामा छिनोले खोपेर विश्व प्रसिद्ध ब्यक्ति (दार्शनिक, बैज्ञानिक, साहित्यकार र नेता)को आकृति खोज्ने अभियान मै मितेरीले १३ वर्ष बिताइसक्नु भएको छ ।तर आर्थिक अभाव ,सामाजिक असहयोग र आफ्नै घर खर्चको बैकल्पिक ब्यबस्था गर्न नसकेपछि मञ्जुलले पुन प्रतिवद्धता दोहोर्याउनु परेको हो । उर्लाबारी स्थित आफ्नो निवासमा स्थानीय सञ्चारकर्मीहरू सँग उहाँले भन्नुभयो–‘समाज सामु बोलेको कुरा पुरा गर्छु ,आर्थिक उपार्जन र घर चलाउन कठिन भएकोले प्रतिवद्धता पुरा गर्न सकिन । अबको मेरो अर्जुन दृष्टि ५ नै वर्ष जापान बसेर संसारको अग्लो वुद्धको मुर्ति बनाउने र जापानबाट फर्केर ५ वर्ष राष्ट्रलाई सुम्पने मुर्ति बनाउने हो ।’
मुर्तिकार मितेरी डेढ वर्षयता आफ्ना सहयोगीका साथ जापानमा रहेर ६५ फिट अग्लो बुद्धको मुर्ति खोपिरहनु भएको छ । विशाल पहरामा कठिन परिश्रम गरेर नेपाली कला र पसिना बेचिरहनु भएका मितेरीलाई काभ्रेका सानोभाइ विश्वकर्मा,उदयपुरका रामचन्द्र पण्डित र मोरङका गणेशकुमार राईले साथ दिइरहनु भएको छ । जापान सरकारले ‘कुमामतो’ भन्ने ठाउँको ६५ फुटको मुर्ति सहित पहरामा ४५ फुटका २ वटा र ३० फुटका चार वटा बुद्ध मुर्ति निर्माण गर्न मितेरीको समूहलाई जिम्मा दिएको छ । मितेरीका अनुसार त्यहाँ बनिरहेको मुर्ति पछिल्लो २ सय वर्षयताको सबैभन्दा ठूलो ढुङ्गाको मुर्ति हो ।
स्वदेशमा कलाको सम्मान नभएपछि बाध्य भएर बिदेशिनु परेको मन्जुलको भनाई छ । उहाँले भन्नुभयो–राष्ट्रबाट सम्मान प्राप्त हुन्छ, सम्मानले दैनिकी नचल्दो रहेछ । २०७२ मा ५० हजार नगद सहितको राष्ट्रिय युवा प्रतिभा पुरस्कार लगायत दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेपनि आफ्नो कलाको मूल्य नपाउँदा मितेरी निरास हुनुहुन्छ ।
केही दिन पछि जापान फर्कने तयारीमा रहनु भएका मितेरीले संस्कृति विषयमा स्नातकोत्तर गर्नु भएको छ । भन्नुहुन्छ–ढुङ्गामा कला भर्ने सीप सिकें । संस्कृतिमा डिग्री लिएँ । स्वदेशमा न कलाको सम्मान छ, न पढाई अनुसार जागीर पाइन्छ ।’जापानमा उहाँ दैनिक ८ घण्टा हम्मरले ढुङ्गा माथि छिनो लगाउनु हुन्छ ।र दैनिक १४ हजार नेपाली रुपियाँ कमाउनु हुन्छ । भन्नुहुन्छ–‘काम कठिन होइन, तर विदेशी भुमिमा आफ्नो सिर्जना बेच्नु पर्दा मन अमिलिन्छ,पीडा बोध हुन्छ ।’
०६१ साल यता उहाँले २ हजार ५सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित ब्यक्तिहरुको मूर्ति,शालिक र प्रतिमा बनाइसक्नु भएको छ । जसमध्ये मध्ये राष्ट्रलाई सुम्पने मुर्तिको सङ्ख्या एक हजार ५ सय छ । एक सय वटा सहयोग स्वरुप निशुल्क दान दिनु भएको छ भने ९ सय वटा बिक्री भइसकेका छन् ।
हाल मञ्जुलले बनाएको मूर्तिहरुले संरक्षण खोजिरहेका छन् । मञ्जुल संगं्राहलयको कल्पना गर्नु भएका मितेरीले सुरुमा उर्लाबारी बजारमा संग्राहलय बनाएर राख्नु भएको थियो । तर अहिले जापान जानु पर्ने भएपछि मूर्ति उहाँको निवास अघि असरल्ल छरिएका छन् । कोही सडक किनारमा छन्, कोही घरको छतमा । वार्षिक १६ हजार रुपियाँ तिरेर लिएको लीजको जग्गामा उहाँले जस्तापातको घेरावारा लगाएर त्रिपालले छोपि मुर्ति थन्क्याउनु भएको छ ।
उहाँले बनाएका शालिक मध्ये झापाको गरामुनीमा सुखानी काण्डका ६ सहिद र ताप्लेजुङको घुन्सामा दुर्घटनामा परी मरेका तत्कालीन बन मन्त्री र वन विज्ञहरू सहित २४ जनाको शालिक अत्यन्तै लोभलाग्दो र आकर्षक रहेको चर्चामा छ ।
परिवारका कुनै सदस्य पनि मूर्तिकलाप्रति लगाव नभएपनि मञ्जुल महान कलाकार अरनिको जीवनी पढेर मूर्ति बनाउन थालेको बताउँनु हुन्छ ।
जुँघाको रेखी बस्दै गर्दा छिनो र हतौडा बोकेर ढुङ्गा खोप्न सुरु गरेका मन्जुल अहिले ३८ वर्षको हुनुभयो । आर्थिक रुपमा समृद्ध नभई राष्ट्रका लागि केही गर्न नसकिने निष्कर्षमा पुग्नु भएका मन्जुलले भन्नुभयो–ढुङ्गा किन्न सक्ने भएर आउँछु अनि प्रत्येक तीन दिनमा एउटा मुर्ति बनाएर,इतिहास बनाएरै छोड्छु ।’