• २६  भदौ, रौतहट ।

    निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा रौतहटमा प्रभावकारी नभएको गुनासो राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणले गरेका छन् । मतदाता शिक्षा प्रभावकारी नबनेपछि उम्मेदवारहरु आफैं मतदाताको घर–घरमा पुगेर भोट हाल्ने तौरतरिका सिकाउन कस्सिएका छन् ।

    ठूलो मतपत्र र दर्जनौं चुनाव चिह्नले गर्दा मतदाता झुक्किने र पाएको मत पनि बदर हुने डर यहाँका उम्मेदवारहरुमा देखिएको छ । दुर्गा भगवती गाँउपालिकाका उम्मेदरवार शम्भू सिंह सरकारले चलाएको मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढ्ने सम्भावना बढेको बताउँछन् । उनले यही डरका कारण आफूहरुले मत माग्ने क्रममा भोट हाल्ने तरिका पनि मतदातालाई सिकाएको बताए ।

    उम्मेदवार भोट माग्न व्यस्त

    रौटहटका उम्मेदवारहरुले निर्वाचन मिति नजिकिँदै गर्दा घरदैलोलाई तीव्रता दिएका छन् भने विभिन्न इकाई बनाएर प्रचारप्रसारमा पनि जोड दिइरहेका छन । मेयरदेखि वडा सदस्यका उम्मेदवारलाई समेत अहिले भ्याइनभ्याइ छ । बिहानैदेखि घरदैलो गर्न निस्किएका उम्मेदवारहरु अबेर रातिसम्म पनि मतदाताकै घरमा व्यस्त हुने गरेका छन् ।

    स्थानीय तहको निर्वाचनमा रौतहटका उम्मेदवारहरुले विकासलाई प्रमुख मुद्दा बनाएका छन् । सडक, बाटोघाटो, शिक्षा र स्वास्थ्य आफूहरुको प्रमुख एजेण्डा रहेको उनीहरु बताउँछन् ।

    लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा विकासका कामहरु रोकिएकोले सो कामहरुलाई अविलम्ब अगाडि बढाउने दुर्गाभगवती गाँउपालिकाकै अर्का उम्मेदवार रतिनाथ झा बताउँछन् । ‘नयाँ संरचनामा स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएकाले स्थानीयलाई सिंहदरबारको अधिकार गाँउघरमै दिनेछौं ।’ प्रमुख पदका उम्मेदवार झा भन्छन्, ‘मतदाता अहिले सचेत भएका छन्, सबै हेरेर बुझेर मात्रै मतदान गर्ने पक्षमा छन् ।’

    निर्वाचन मिति नजिकिँदै जाँदा रौतहटमा १६ नगरपालिका र दुई गाँउपालिकामा उम्मेदवारहरुको दौडाहाको क्रम निकै बढेको छ । एउटा उम्मेदवार कुनै गाँउ–टोलमा पसेको सूचना पाउनेबितिकै अर्का उम्मेदवार पनि सो टोलमा पुग्ने गरेका छन । रौतहटको चन्द्रपुर नगरपालिकामा पनि उम्मेदवारहरुले मतदाता भेटघाटलाई तीव्र बनाएका छन । ‘मतदाताहरु माझ जनता चेतना फैलाउन र स्थानीय तहको अधिकारबारेमा बुझाउन घरदैलो कार्यक्रम गर्दैछौ’, गौर नगरपालिकाबाट उपमेयरकी उम्मेदवार किरण ठाकुर भन्छिन्, ‘महिला सशक्तीकरणसँगै शिक्षा, स्वास्थ्य तथा विकासका एजेन्डा प्रमुख छन् ।’

    मत माग्न दिनरात घरघरमा पुगिरहेका उम्मेदवार तथा दलका नेताहरु निर्वाचनपछि पनि जनता माझ फर्किने कुरामा भने स्थानीय विश्वस्त छैनन् । अन्य ठाँउमा जितेका जनप्रतिनिधिले पनि सय दिन बितिसक्दा कुनै काम नगरेको सुनेका स्थानीयलाई घरदैलोमा आउने नेताहरुले पनि जितेपछि विकास गर्लान भन्नेमा शंका छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…