• २०७४ चैत्र ०१ बिहीवार

    काठमाडौं  ; प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ।

    न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन् ।

    जोशीले सर्वोच्च अदालत पुगेर न्यायाधीशहरूलाई मुद्दाको पेसी तोक्ने बताएका हुन् । ‘पेसी तोक्न सर्वोच्च प्रशासनका ‘स्टाफ’बाट मकहाँ सूची आइपुगेको छ’, जोशीले भने, ‘अदालतमा गएर पेसी तोक्ने काम हुन्छ ।’

    प्रधानन्यायाधीश पराजुलीले भने आफ्नाविरुद्ध सुनियोजित षड्यन्त्रको डिजाइन रचिएको भन्दै पदबाट कुनै हालतमा नहट्ने अडान राखेका छन् ।

    उनले नियमित झैं सर्वोच्चमा जाने पनि बताए । ‘म किन हट्ने ? हट्ने कुरै छैन । म सर्वोच्च जान्छु । पेसी अरूले तोक्ने भन्ने कुरा कसरी आयो ? ’ पराजुलीले भने, ‘सचिवको षड्यन्त्रपूर्वक लेखिएको पत्रका कारण पनि बिदामा बस्ने कुरा रहेन । म डटेर अन्तिमसम्मै सर्वोच्चमा रहन्छु ।’

    बुधबार पनि सर्वोच्च अदालतका आठ न्यायाधीशले इजलासमा बस्न अस्वीकार गरेका छन् । न्यायाधीशहरू दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा।

    आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतले मुद्दा हेर्न अस्वीकार गरेका हुन् । इजलासमा बस्न अस्वीकार गर्ने केही न्यायाधीशले बिदाका लागि प्रधानन्यायाधीश पराजुलीसमक्ष निवेदनसमेत दिएका छन् ।

    ‘बेन्च’मा नबसेका कारण न्यायाधीश भट्टराई र मल्ल संलग्न संयुक्त इजलासमा तोकिएका गम्भीर र अत्यावश्यक मानिने सर्वसाधारणका ‘बन्दी प्रत्यक्षीकरण’ रिटको सुनुवाइसमेत हुन सकेन ।

    यस्तो रिटमा गैरकानुनी थुना देखिए बन्दीलाई इजलासमा उपस्थित गराएर तत्काल थुनामुक्त गर्नुपर्ने हुन्छ । प्रधानन्यायाधीशसहित ११ जना न्यायाधीशले भने मुद्दाको सुनुवाइ गरेका छन् ।

    यता पछिल्लो विकसित घटनाक्रमलाई लिएर बुधबार प्रधानन्यायाधीश पराजुलीसहित सम्पूर्ण न्यायाधीश संलग्न ‘फुलकोर्ट’ बैठक बसेको छ । तर बैठकले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

    बैठकमा सहभागी एक न्यायाधीशका अनुसार न्यायपालिकाको नेतृत्वकर्ता रहेकाले ठोस समाधान खोज्न न्यायाधीशहरूले प्रधानन्यायाधीश पराजुलीसँग आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश पराजुली राष्ट्रपतिको शपथका लागि जानुपर्ने भएकाले बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …